गण्डकी प्रदेश स्थापना दिवस

स्वास्थ्यलाई प्राथमिकता छ

समाधान संवाददाता २०७९ फागुन ४ गते १३:०४

आम निर्वाचनपछि बनेको गण्डकी प्रदेश सरकारले एक महिनाको अवधिमा नीतिगत रुपमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने काम गरेको छ । विगतको तीन मन्त्रालय गाभिएर सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय बनेको छ । मन्त्रालयले मानव जीवनको रक्षासँग जोडिएको स्वास्थ्यलाई केन्द्र विन्दुमा राखेर काम गरेको छ ।

हाम्रो प्रदेशमा मिर्गाैलाका बिरामीले सहज रुपमा डाइलोसिस सेवा पाउन नसकेको अवस्था छ । अहिले प्रदेशमा ८ देखि ९ सय मिर्गौलाको बिरामी भएकोमा ५ सय जति बिरामीले सेवा पाउने अवस्था छ । करिब ३ सय ५० बिरामी डाइलोसिसका लागि वेटिङमा बस्नु पर्ने अवस्था छ ।

नियमित रुपमा डाइलोसिस गरेको बिरामी तलमाथि होला र मैले सेवा पाउँला भन्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा त्यस्ता बिरामीलाई छिटो भन्दा छिटो सहज र सर्वसुलभ सेवा प्रदान गर्न मन्त्रालयले डाइलोसिस मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको छ ।

Advertisement

पञ्चराम गुरुङ
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री

खास गरी अहिले पनि ग्रामिण क्षेत्रका महिला सुत्केरी व्यथा लागेर समयमै अस्पताल पुर्‍याउन नसकेर ज्यान गुमाउनु परेको अवस्था छ । त्यस्ता महिलालाई एअर लिफ्टिङ मार्फत अस्पताल ल्याउने योजनालाई मन्त्रालयले निरन्तरता दिएको छ ।

Advertisement

गोरखाकी एक महिलालाई एयर लिफ्टिङ गरी काठमाडाैंको शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । गरिबीको रेखामुनि रहेका विपन्न, दलित, अपांग र अल्पसंख्यक महिला सुत्केरी हुँदाको अवस्थामा पोसिलो खानाका लागि मन्त्रालयले बजेटको व्यवस्था गरेको छ । त्यस्ता महिलाका लागि दिनको २ सयको दरले ९ हजार रुपैयाँ वडा तहबाट प्रदान गर्ने योजना मन्त्रालयले अगाडि सारेको छ ।

शिक्षा तीन तहको सरकारको साझा अधिकारको सूचीमा पर्छ । प्रदेशको जिम्मा प्राविधिक र व्यवसायी शिक्षा प्रदान गर्ने हो । आम युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गरेर रोजगारीको व्यवस्था गरेर देशमै राख्ने प्रदेश सरकारको योजना छ ।

खेलकुद राष्ट्रको गौरव हो । विगतको सरकारले एक वडा एक खेलकुदको अवधारणा ल्याएको थियो । सो अवधारणालाई सार्थक बनाउन केही न केही समस्या छ । बजेट आउने काम नहुने अवस्थामा सुक्ष्म अनुगमन गरेर राम्रो ढंगले काम गरे निरन्तरता दिने योजना छ ।

बजेट दुरुपयोग भएको पाइएमा स्थगित गरी अन्यत्र लैजाने तयारी गरेका छौं । सामाजिक सेवातर्फ असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचारको जिम्मा प्रदेश सरकारले लिने योजना अगाडि सारिएको छ ।

तपाईको प्रतिक्रिया