शिवरात्रिः आलंकारिक रात्रि

बिन्नी पराजुली २०७९ फागुन ५ गते १२:१२

मनुष्य सृष्टिरुपी वंशज वृक्ष विस्तार हुने क्रममा अर्थात् मानव सभ्यताको इतिहासमा कुनै पनि अनौठो, अद्वितीय वा चामात्कारिक घटना घटित हुन्छ भने समाजका सक्रीय विद्धत्त वर्गहरु, चित्रकार, कथाकार वा मुर्तिकारहरुले त्यस घटनालाई दर्शाउन त्यसैको यादगारमा आ–आफ्नै शैलीमा साहित्य, चित्रकला, मुर्तिकला, नृत्यकला मार्फत आलंकारिक र रमणिक प्रस्तुतिहरु समाजमा पस्किएका हुन्छन् । ती साहित्य र कलाहरुको पछाडि अति नै गहन आध्यात्मिक भाव र वैज्ञानिक कारण पनि लुकेका हुन्छन् ।

समय बित्दै जाँदा सैयौं वर्षपछि त्यो घटनाको यथार्थ र सम्पूर्ण विवरण विस्तारै बिटुलिन्छ र लोप पनि हुँदै जान्छ । जे जति अलंकार घटनाको प्रतीकात्मक रुपमा प्रस्तुत भएका थिए, तिनै कुरा नै सबैको आकर्षणको केन्द्र बन्छन् । संस्कृतिको रुपमा मुल स्थान प्राप्त गर्छन् । जब संसारमा चारैतर्फ वायुमण्डल र वृत्तिमा नकारात्मकता, पतीतपना तमोप्रधानताको फोर्स अधिकतम भएको समय आउँछ, त्यसको प्रभावबाट त्यो संस्कृति पनि अछुत रहन सक्दैन ।

अनैतिक, अमार्यादित र गैरकानुनी काला कर्महरुले पनि यसै अवसरमा सफेद खोल ओड्न पछि पर्दैनन् । अजन्मा शिवको जन्म जयन्ती शिवरात्रि जुन रुपमा अहिले संसारभरी मनाइन्छ, यो त्यही तमोप्रधान समय र तमोप्रधान वायुमण्डलको विकृत रुप होभन्दा पनि अतिशयोक्ति नहोला ।

Advertisement

एक गुप्त रहस्य
सनातन संस्कृतिमा जति पनि कथा, किंवदन्ती र अनुश्रुतिहरु लेखिएका छन्, ती विश्व इतिहासमा केही विशेष घटना घटेपश्चात लेखिएका वृतान्त हुन् । कुनै घटनाको हामी प्रत्यक्षदर्शी बनेका छौं भने पनि १०—१५ दिनपछि घटनाको विवरण अन्य कही सुनाउँदा त्यो भनाइको शैली र तथ्यमा केही भिन्नता अवश्य आइहाल्छ भने अर्कोतिर स्रोताको सुनाइ र बुझाइले अझै घटनालाई कहिलेकाही उल्टो रुप पनि सम्प्रेषण गरिरहेको हुन्छ ।

शिवरात्रि कलियुग र सत्य युगको संग्राम संगमकालमा आत्मा र परमात्माबीच भएका घटना र क्रियाकलापको स्मरणोत्सव हो

Advertisement

उदाहरणका लागि एउटा प्रसंग यहाँ प्रस्तुत छ— एउटा उपन्यासकारले एउटा उपन्यासको रचना गर्नुभएछ । त्यसलाई प्रकाशित गर्ने क्रममा उहाँको भेट एउटा चित्रकारसँग हुन्छ, जसले उक्त उपन्यासमा भएका केही महत्वपूर्ण घटनाको चित्र तयार गर्नुपर्ने थियो । चित्रकारले प्रथम त त्यस उपन्यासको अध्ययन गर्नुहुन्छ र केही चित्र बनाएपश्चात त्यस उपन्यासको पुस्तक प्रकाशन पनि हुन्छ ।

पाठककहाँ त्यो पुस्तक आइपुग्दा या त पाठकले व्यस्तताका कारणले शुरुका केही पानामात्र पढेर पछिल्ला चित्रमात्र अवलोकन गर्दै घटनाको क्रमलाई आफ्नै तरिकाले यस्तो यस्तो भएछ भनेर एज्युम गर्नुहुन्छ या त कुनै पाठककहाँ त्यो पुस्तक आइपुग्दा च्यात्तिएको र पुरानो अवस्थामा आइपुगेको हुनाले उपन्यासका घटनाहरुको यथार्थ विस्तारबाट अनविज्ञ रहन पुग्नुहुन्छ । इतिविद्या भयकंरी भनिए जस्तै एकले अर्कोलाई त्यो उपन्यास वर्णन गर्ने क्रममा लेखकको भाव सम्पूर्ण रुपले नष्ट हुन पुग्छ ।

शिवरात्रि वास्तवमा मानव इतिहासमा अति अधर्म र तमोप्रधानता छाएको अज्ञानरुपी कालो रात्रिको समयमा अर्थात् कलियुग र सत्ययुगको संग्राम संगमकालमा आत्मा र परमात्माबीच भएका घटना र क्रियाकलापको स्मरणोत्सव हो । चक्रीय रुपमा घुम्ने सृष्टिको अन्तिम चरण, घोर कलियुगमा परमात्मा शिव धर्तीमा अवतरित भएको घटनाको प्रतिनिधि नै वर्षको करिब अन्तिम मासको कृष्ण पक्षको १४ औं काल रात्रिको अघिल्लो दिनमा यो पर्व मनाइनुको रहस्य हो ।

किन मनाउनुपर्छ शिवरात्री ?
शिवको अलौकिक दिव्य अवतरणको स्मरणोत्सव मनाउन अति आवश्यक छ किनकि सृष्टिका सर्वोच्च हस्ति परमशक्ति परमात्मा शिवबाट संसारमा तिनै महान आत्माहरुले जन्मौ जन्मसम्मका लागि सुख, शान्ति, शक्ति र समृद्धिको जन्मसिद्ध अधिकार प्राप्त गर्ने पात्रता प्राप्त गर्छन् जसले यो शिवरात्रीको यथार्थ घटनालाई बोध गर्छन् ।

संसारमा भौतिक उन्नति चरम सिमामा पुगेता पनि सच्चा मनको सुख, शान्ति र शक्तिको खडेरी बढ्दै गइरहेको अवस्थामा जुन सत्ताबाट जन्मौं जन्मका लागि सच्चा सुख, शान्ति र पवित्रताको जन्मसिद्ध अधिकार सहजै प्राप्त हुन्छ, उहाँको सत्य परिचय जन जनलाई दिएर सबैको सम्बन्ध उहाँसँग जुटाउनको लागि पनि शिवरात्रि जति सकिन्छ भव्यतापूर्वक मनाउन आवश्यक छ ।

गहन विचार गर्दा शिवरात्री मनाउन पर्ने निम्न कारण छन्ः
शिव नै परम पिता परम आत्मा हुनुहुन्छ र विश्वको इतिहासको केन्द्र-बिन्दु हुनुहुन्छ
शिवरात्री एकमात्र समस्त आत्माहरुका पारलौकिक पिताको दिव्य अलौकिक अवतरणको यादगार दिवस भएकाले विशुद्ध सार्वभौम पर्व हो ।
शिव एकमात्र सर्व गुणका भण्डार र आध्यात्मिक शक्तिका परमस्रोत हुनुहुन्छ ।

  • शिव एकमात्र सर्वधर्ममान्य ज्योतिस्वरुप परमशक्ति हुनुहुन्छ
  • आत्माहरुको हजारौं वर्षको आह्वान पश्चात सृष्टि चक्रमा केवल एक पटक अवतरित हुनुहुन्छ ।
  • शिव सर्वका एकमात्र सद्गतीदाता, मुक्ति—जीवनमुक्ति दाता हुनुहुन्छ ।
  • शिव एकमात्र अनन्त, एकरस र अपरिवर्तनशील सत्ता ह्ुनुहुन्छ ।
  • शिव एकमात्र अजन्मा अर्थात् दिव्य जन्मधारी हुनुहुन्छ ।
  • शिव एक मात्र अपकारी माथि पनि उपकार गर्ने वाला हुनुहुन्छ ।
  • शिव एक मात्र सच्चा सच्चा परमशिक्षक, परम सद्गुरु हुनुहुन्छ ।

शंकरको समाधिस्थ आकृति शिवको पुरुषीकरण हो
शिव शब्द सुन्ने बित्तिकै दुई वटा आकृति हाम्रो मानसपटलमा आउँछन्, एक पिण्डिआकार प्रतिमा अर्को ध्यानमग्न शंकरको आकृति । जब आकृति दुई वटा छन् भने यी पक्कै नै फरक फरक हस्तीका प्रतिनिधि हुन् । तर जब आध्यात्मिकताको प्राथमिक ज्ञान आत्माको ज्ञान नै लुप्त अवस्थामा हुन्छ, त्यति बेला परमात्माका केही गुण महिमाको ज्ञान भएता पनि उहाँप्रति श्रनैजस्तो श्रद्धा प्रकट गर्न आ दैहिक आकृतिको खोजी र अभिलाषा ती भक्तजनमा हुन्छ ।

जसको फल स्वरुप परमात्माका गुणलाई मिसाएर महान कलाकारद्घारा एउटा यस्तो रहस्यमय आकृति, चित्र वा मुर्ती कल्पित हुन्छ जुन एकातीर परमात्माका गुण र कर्तव्यहरुको पुरुषीकरण रुप पनि हुन्छ भने अर्कोतर्फ निरन्तर गुप्तरुपमा समाधिस्थ रहने राजयोगी आत्माहरुको सिम्बल पनि हुन्छ । त्यसैले शिवलिंग वा ज्योतिर्लीगंम जसलाई रचयिता पनि भनिन्छ । परमात्मा शिवको प्रतिमा हो भने शंकर परमात्मा शिवको गुण र कर्तव्यबाट सिर्जित रुप भएकाले उहाँको रचना मानिएको छ ।

रचयिताका गुण रचनामा विद्यमान हुन सक्छन् तर रचनालाई नै रचयिताको पयार्यवाची मान्नु वा एकै मान्नु ठुलो भुल हुन जान्छ । शिव न स्त्रिलिंग हुनुहुन्छ न पुलिगं, त्यसैले तेस्रो नाम उहाँको प्रतिमाको लागि प्रयोग भएको छ शिवलिंग । संस्कृतका प्राचीन शब्दकोषहरुमा लिंग को अर्थ चिन्ह भनेर उल्लेखित गरिएको छ । तसर्थ निराकार ज्योतिस्वरुप सर्वशक्तिमान त्रिदेव रचयिता परमातमाको चिन्ह शिवलिंग हो । यसमा इकिंत तीन धर्का जसलाई त्रिपुण्डी भनिन्छ यी परमात्माका तीन कर्तव्य स्थापना, पालना र विनाशका सूचक हुन् ।

शिव आत्मिक पिता
सृष्टि चक्रको अवधिमा आउने यो रहस्यमयी रात्रीलाई बुझ्नका लागि यो स्पष्ट रुपमा बुझ्न आवश्यक छ कि शिवलाई वा भगवानलाई कुन अर्थमा सबैले भोलानाथ शिव बाबा वा पिता मानेर याद गर्छन् । मनुष्य सृष्टिरुपी कल्प वृक्ष जसको व्याख्या श्रीमदभागवद गीता लगायत अन्य शास्त्रमा पनि भएको छ । यसको बीजरुप परमात्माका हामी भौतिक वा शारीरिक सन्तान अवश्य होइनौं, न त हामी उहाँका अंश हौं ।

यो अर्थमा उहाँ बिज या पिता हुनुहुन्छ कि जुन अनमोल राजविद्या र राजयोगको ज्ञान उहाँले सृष्टिमा अवतरित भएर सम्प्रेषण गर्नुहुन्छ । त्यसै ज्ञान—योगको आधारमा नै सृष्टिमा मुल सकारात्मक परिवर्तनहरु आउँछन् । जसरी सूर्यको पहिलो किरणबाट नै बिहानीको उदय हुन्छ, परमात्मा शिवले ज्ञानको प्रकाश सृष्टिमा बिजारोपण गरेपश्चात नै अज्ञानको घोर कालरात्रीले बिदा लिन्छ र एक सतोप्रधान, सम्पूर्ण युगको उदय हुन जान्छ ।

यसरी सृष्टिमा बिद्यमान सबै प्रकारका उर्जाहरु क्षय ( म्भनचबमभ) हुँदै गएर संसार महाप्रलय ( ब्उयअबथिउकभ) तर्फ लम्किदै गरेको अवस्थामा सृष्टि उद्धार र कल्याण कार्यका मुल संवाहक परमात्मा शिव भएको नाताले उहाँलाई रचयिता र बेहदको पिता मानिएको छ । सृष्टि चक्रमा आत्माहरुलाई परमात्माद्घारा आफू एक भौतिक शरीर नभएर यसमा विद्यमान एक पराभौतिक सत्ता रहेको र परमात्माको प्रिय अधिकारी सन्तान रहेकोबोध हुने काल नै शिव पिताको रहस्यमय जन्म दिवस या रात्रि हो ।

शिव पिताको यही कथन र सन्देश छ कि आफूलाई देहरुपी वस्त्र मान्नु या देहभान र देह अभिमानको वशिभूत हुनु नै सबैभन्दा ठूलो भ्रम हो र सबै समस्याको बीज हो । तसर्थ सृष्टि परिवर्तनको यी संवेदनशील घडि संगम युगमा स्वयंको दिव्यीकरणका लागि आफूलाई देहबाट अलग एक शान्त र पवित्र स्वरुप दिव्य ज्योति आत्माको चेतनामा निरन्तर राखिरहनु र परमशक्ति ज्योतिरुप परमात्मासँग बुद्धियोग लगाउनु नै शिवरात्रिको सच्चा व्रत र सच्चा जागृति पनि हो ।

तपाईको प्रतिक्रिया