तमु सञ्चारकर्मीमा नयाँ नेतृत्व, खड्कजंगलाई पुरस्कार

समाधान संवाददाता २०७९ फागुन ७ गते ११:३९

पोखरा ।
तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति कास्कीको शनिबार भएको छैटौं साधारण सभा तथा दोस्रो महाधिवेशनले युगबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।

Advertisement

आगामी ३ वर्षे कार्यकालका लागि चुनिएको ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष शिला गुरुङ, सचिव सम्राट गुरुङ, सहसचिव दिल गुरुङ र कोषाध्यक्ष तिर्सना गुरुङ छन् । सदस्यमा पदम घले, जित गुरुङ, आकाश गुरुङ, हुमबहादुर गुरुङ, सदीक्षा गुरुङ र मनप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

समारोहमा पत्रकार खड्कजंग गुरुङ तमु पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भए । उनलाई निवर्तमान सांसद मीना गुरुङ, कार्यक्रमका अध्यक्ष शान्ति गुरुङ र तमु धी नेपालका अध्यक्ष हुमबहादुर गुरुङले नगद २० हजार र दोसल्लासहित सम्मान गरे ।

हङकङ ब्युटी इन्स्टिच्युटकी प्रोप्राइटरसमेत रहेकी निवर्तमान प्रदेशसभा सदस्य मीना गुरुङले स्थापना गरेको यो पुरस्कार तमु सञ्चारकर्मी संघ कास्कीले सञ्चालन गर्ने गरेको छ । उनी संघ नेपालकी पूर्वअध्यक्ष र संघ कास्कीकी संस्थापक एवं संरक्षक हुन् ।

कार्यक्रममा उनले तमु सञ्चारकर्मीहरुको क्षमता वृद्धि गर्न पुरस्कार स्थापना गरेको सुनाइन् । उनले भनिन्, ‘तमुहरुले आवाजविहीनहरुको आवाज बुलन्द गर्न उत्साह थपियोस् भनेर अक्षयकोष राखेकी हुँ । देश–विदेशमा बन्दुक चलाउने हाम्रा समुदाय अब कलम लिएर समतामूलक समाज र देश निर्मामा लाग्नुपर्छ ।’

Advertisement

उनले पोखरा बहुमुखी क्याम्पस र नेपाल पत्रकार महासंघ कास्कीमा समेत अक्षय कोष राखेकी छन् । पोखरा बहुमुखीमा उनले राखेको २ लाखको अक्षयकोष धनकुमारी धनसुवा फाउन्डेसनको तर्फबाट हो । यसको ब्याजबाट जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन् । पत्रकार महासंघमा उनले राखेको २ लाखको अक्षयकोषबाट मीना सिर्जनशील पत्रकारिता पुरस्कार सञ्चालन भइरहेको छ ।

पुरस्कृत पत्रकार खड्कजंग मर्दी न्युज डट कमका प्रधान सम्पादक, सञ्चालक हुन् । कार्यक्रममा तमु धीं नेपालका अध्इक्ष हुमबहादुर गुरुङ, गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी गुरुङ, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका महासचिव रोशनी गुरुङ, संस्थाका उपाध्यक्ष युग गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया