जामुनबोट र लेखनाथमा खुला व्यायामशाला बन्ने

समाधान संवाददाता २०७६ जेठ १ गते ११:४४


खुला व्यायामशालाका लागि इन्जिनियरिङ फाउन्डेसन थ्रीडिमा ।
ईश्वर देवकोटा
पोखरा

तीव्र सहरीकरणसँगै खुला ठाउँ अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले भने खुला व्यायामशालाको अवधारणा अघि सारेको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ मा ९० लाख रुपैयाँ बजेट विनियोजन भएको पार्कसहितको सुविधायुक्त खुला व्यायामशाला निर्माण अघि बढ्ने भएको छ ।

पोखरा १८ जामुनबोट र लेखनाथ गरी २ ठाउँमा खुला व्यायामशाला निर्माणका लागि टेन्डरमार्फत निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । दुवै ठाउँमा बन्ने खुला व्यायामशालाको प्रकृति एउटै हुने महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

Advertisement

पोखरा १८ जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ । कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो ।

१ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । ‘जामुनबोटमा बन्ने व्यायामशालाका लागि ठेक्का पाएको कम्पनीसँग महानगरले सम्झौता गरिसकेको छ,’ उनले भने, ‘वैशाख १६ गते सम्झौता भई आउँदो असार २० गतेभित्र निर्माण सक्ने भनी सम्झौता भएको हो ।’

Advertisement

व्यायामशाला निर्माणका लागि स्थानीयले पनि उत्तिकै चासो देखाएका कारण ठाउँको विवाद नहुँदा सम्झौता अनुसार नै काम सकिने मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

पोखरा ३१ बेगनासताल नजिकै निर्माण गर्ने भनिएको व्यायामशालाका लागिसमेत वैशाख २३ गते ठेक्का सम्झौता भएको छ । एमएनसी÷लोयल जेभी पोखराकै निर्माण कम्पनीले उक्त योजनाको ठेक्का पाएको हो । उक्त व्यायामशालाका लागि ४९ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न कम्पनीले जिम्मेवारी लिएको छ ।

बेगनास क्षेत्रमा बन्ने ठाउँ भने स्थानीयसँग तालमेल नहुँदा सम्झौता बमोजिम निर्माण सम्पन्न हुनेमा शंका देखिएको छ । ठेकेदारसँगसँग लेखनाथ क्षेत्रको जुनै पनि क्षेत्रमा निर्माण गर्नुपर्ने भनिएको हुँदा त्यहाँ उपयुक्त नभए अन्य क्षेत्रमा निर्माण गरिने महानगरपालिकाले जनाएको छ । आउँदो असार २० गतेभित्रै निर्माण सक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

व्यायामशालामा १ सेट शारीरिक व्यायामका सामग्री रहनेछन् । जसमा डबल ब्याक म्यासेजर, राइडिङ मेसिन, डबल ट्विस्टर, सिंगल एब्डोमिनल प्लेट, क्रस ट्रेनर, ट्रेडमिल, कारडियो वाकर, डबल ह्विल ट्विस्टर, सोल्जर जोइन्ट ट्रेनर गरी ९ वटा व्यायाम सामग्री राखिने भएको छ ।

दौडका लागि वरीपरी दौड ट्रयाकसमेत बनाइने भएको छ । योगासनका लागि पार्कभित्रै गार्डेन निर्माण गरी व्यवस्थापन गरिने छ । आकर्षणका लागि बगैँचासहितको आराम गर्ने प्वाइन्टहरुको स्थापना गरिने महानगरले जानकारी दिएको छ । महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय÷बाथरुम निर्माण गरिने छ ।

सोही क्षेत्रमा सवारी पार्किकका लागि समेत व्यवस्थापन गरिएको इन्जिनियर रेग्मीले जानकारी दिए । महानगरको बजेटमा निर्माण भएको खुला व्यायामशाला सञ्चालन र संरक्षणको जिम्मेवारी स्थानीय क्लबलाई दिइने महानगरको योजना छ ।

स्वस्थ्य नागरिक अभियान अन्तर्गत महानगरले खुला व्यायामशालाका लागि योजना बनाएको थियो । दुवै आयोजनामा चालु वर्षको विनियोजित बजेटमा अपुग हुने रकम विषयगत कार्यक्रमका शीर्षकबाट रकमान्तर गरी योजना सम्पन्न गर्ने महानगरले जनाएको छ ।

बैदाम र भण्डारढिकमा १÷१ सेट व्यायाम सामग्री
महानगरपालिकाले पोखरा ६, बैदामस्थित तालबाराही स्कुल छेउको पार्कमा र भण्डारढिकमा रहेको खेल मैदानमा खुला व्यायामशालाका स्थापनाका लागि १÷१ सेट व्यायाम सामग्री खरिद गरेको छ । झन्डै ४ लाख रुपैयाँ लागतमा पोखरा महानगरले चिनबाट खरिद गरी ल्याइएको व्यायाम सामग्री पोखरा ल्याइएको हो ।

निशुल्क प्रयोग गर्न दिने गरी पार्कमा व्यायाम सामग्री फिट गर्न लागिएको महानगरका सूचना अधिकारी सुवेदीले जानकारी दिए । परीक्षण स्वरुप पहिलो चरणमा २ ठाउँमा प्रयोगमा ल्याइएको भएपनि अरु ठाउँमा समेत महानगरले त्यस्तै सामग्री उपलब्ध गराएर प्रयोगमा ल्याउन सकिने जनाएको छ । कम्तीमा १० ठाउँमा स्थापना गर्ने गरी स्थलगत निरीक्षणको काम गरिरहेको मेयरका स्वकीय सचिव तिमिल्सिनाले जानकारी दिए । त्यस्ता व्यायाम सामग्रीको संरक्षणको जिम्मेवारी स्थानीय क्लब वा संघसंस्थालाई दिइने बताइन्छ ।

तपाईको प्रतिक्रिया