
सञ्जय रानाभाट, पोखरा ।
‘बागलुङको निसीखोलामा एक महिलालाई प्रसूति व्यथा लागेपछि बुर्तिबाङमा ल्याइयो । त्यहाँ सामान्य उपचार भएपछि उहाँलाई बागलुङ रिफर गरियो । धौलागिरि अस्पताल ल्याइयो । तर, धौलागिरिमा उपचार भएन,’ बागलुङको धौलागिरि अस्पतालको समस्याका बारेमा माघ २९ गते गण्डकी प्रदेश सभाको शून्य समयमा सांसद कुसुम बुढा पुनले भनिन् ।
अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा ती महिलालाई थप उपचार गर्न पोखरा ल्याइएको सांसद पुनले सुनाइन् । पुनले थपिन्, ‘ती महिलालाई बागलुङ अस्पतालमा डाक्टर अभावले उपचार नभएपछि पोखरा रिफर गरियो । तर, बाटोमा आउँदै गर्दा कुश्मा बजारमा ती महिलाले ट्याक्सीमै बच्चा जन्माइन् ।’ उनले ट्याक्सीमै नर्मल डेलिभरी गरेपछि मात्र अस्पताल पुर्याइयो ।
सांसद पुनले भनेझैं अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरू घन्टौंको यात्रा गरेर प्रदेश राजधानी पोखरा आएर उपचार गर्नुपर्ने अवस्था छ । नजिककै धौलागिरि अस्पतालमा उपचार हुन छाडेको र स्वास्थ्य सेवाको गुणस्तर पनि खस्किएको बागलुङका जनप्रतिनिधि र सेवाग्राही बताउँछन् ।
जनशक्ति अभाव, भौतिक संरचनाको कमी, कमजोर प्रशासन जस्ता कारणले अस्पताल आफैं थलिएको छ । यसअघि प्रदेश सरकारले धौलागिरि अस्पताललाई ५० बेडको रुपमा स्वीकृत गर्यो । तर, पनि आवश्यकता अनुसारको दरबन्दी पुर्याउन नसक्दा बिरामीले लामो यात्रा गरेर पोखरा रोज्न बाध्य छन् ।
जनशक्ति अभाव, भौतिक संरचनाको कमी, कमजोर प्रशासन जस्ता कारणले धौलागिरि अस्पताल आफैं थलिएको छ
मुख्यमन्त्री खगराज अधिकारी स्वयं संघले अधिकार नदिँदा आफूहरूले अस्पतालमा जनशक्ति पुर्याउन नसकेको बताउँछन् । ‘संघीयता लागू भएपछि संविधानमा भएका अधिकार पनि प्रदेशले नपाउँदा धौलागिरि अस्पताल एउटा उदाहरण बनेको छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘म मुख्यमन्त्री भएपछि बागलुङ पुगें । तर, त्यहाँ बच्चाका डाक्टर र गाइनाकोलोजिस्ट नै हुँदैनन् । अधिकार नदिँदा प्रदेश सरकारले आफूले जनशक्ति उत्पादनसमेत गर्न नसकेको उदाहरण हो यो ।’
अस्पतालमा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ र जनरल फिजिसियन अभाव रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित ढुंगानाले बताए । अस्पतालमा मेसुबाहेक १६ विशेषज्ञ डाक्टर हुनुपर्नेमा मात्र २ जना छन् । उनले भने, ‘भएका दुईजना पनि प्रशासनिक काम हेर्नुपर्ने भएकाले कामको चाप ज्यादै छ ।’ अस्पतालमा मेडिकल अधिकृतको दरबन्दी ६ रहेकोमा हाल १ जनामात्र डाक्टर छन् । तीन जना डाक्टर अध्ययन बिदामा र दुई जना रिक्त रहेको मेसु ढुंगानाले बताए ।
दरबन्दीमा आएका दुई डाक्टर पनि गण्डकी प्रदेश सरकारको कोटाबाट पुगेका हुन् । अस्पतालमा स्त्रीरोग विशेषज्ञ मात्र नभई कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक, बालरोग विशेषज्ञ, रेडियोलोजिस्ट र नाक, कान, घाँटी विशेषज्ञ पनि छैनन् । ‘डेन्टल सर्जरीतर्फ पनि यस्तै छ । १ जना दरबन्दी हो । उहाँ पनि अध्ययन बिदामा हुनुहुन्छ । प्रशासन अधिकृततर्फ दुईजनाको दरबन्दीमा दुवैजना खाली छ,’ डाक्टर ढुंगानाले भने, मेडिकल रेकर्डर पनि १ जना हुनुहुन्थ्यो । उहाँ पोखरा काजमा जानुभएको छ ।’
डाक्टरमात्र हैन, अस्पतालमा स्टाफ नर्सको पनि दरबन्दी अनुसार भर्ना हुन सकेको छैन । १८ जना दरबन्दी रहेको अस्पतालमा १३ जनामात्र छन् । पाँच वटा दरबन्दी खाली रहेको डाक्टर ढुंगाना बताउँछन् । ‘हेल्थ असिस्टेन्टमा २ जनाको दरबन्दी हो । १ जना हुनुहुन्छ,’ उनले भने, ‘अनमीतर्फ पनि ४ जनाको दरबन्दीमा १ पद रिक्त छ ।’
५० शड्ढया क्षमताको स्वीकृति पाएको अस्पतालमा हाल १ सय २० शड्ढया राखेर बिरामीको उपचार भइरहेको छ । स्वीकृति पाएको भन्दा बढी शड्ढया राखे पनि जनशक्ति भने छैनन् । प्रदेश सरकारले २ सय शड्ढयाको अस्पताल बनाउने प्रस्ताव गरेको थियो । तर अस्पतालमा जनशक्ति पुर्याउन नसक्दा जनताले चाहे अनुसारको सेवा दिन नसकेको मेसु ढुंगाना बताउँछन् ।
अस्पतालमा कुल दरबन्दी ७८ जनाको भएपनि कर्मचारी अभावमा परिस्थिति जटिल मोडमा पुगेको अस्पताल व्यवस्थापन समिति सदस्य गगनबहादुर पुन मगर बताउँछन् । उनका अनुसार अस्पतालमा दैनिक सय जनासम्मले बहिरंग सेवा लिन पुग्छन् । तर आकष्मिक सेवा पनि दिन नसक्ने अवस्था आइसकेकाले छात्रवृत्ति कोटाका डाक्टर भएपनि व्यवस्थापन गरिदिन अस्पतालको माग छ ।


सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया