नेपाललाई भारतीय दूतावासले दियाे सय डायलासिस मेसिन

समाधान संवाददाता २०७९ फागुन ९ गते ११:०७

काठमाडौं ।
भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । सोमबार आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई मेसिन हस्तान्तरण गरेका हुन् ।

दूतावासले २ सय थानमध्ये कार्यक्रममा २० उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले जानकारी दिइन् ।

राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ ।

Advertisement

नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’

सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको जनाए ।

Advertisement

‘भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा ९ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या हजार पुर्‍याउनेछौँ’, उनले भने ।

मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । गिरीले भने, ‘धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् ।

भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पुर्‍याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।’ उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे ।

तपाईको प्रतिक्रिया