अन्डाको म्याद कति दिनसम्म ?

समाधान संवाददाता २०७९ फागुन ११ गते १०:५२

पोखरा ।
अचेल धेरै नेपालीको दैनिक उपभोग्य वस्तुमा अन्डा पनि पर्छ । तयार गर्न छरितो, प्रोटिनको प्रचुर स्रोत भएकाले अन्डाका परिकार नेपालीको रोजाइमा पर्छन् । पछिल्ला २ दशकयता अन्डा, माछा, मासु नेपाली समाजमा सर्वसुलभ बन्दै गएको छन् ।

Advertisement

यसरी, नेपालीले अधिक उपभोग गरिरहेको अन्डा कत्तिको स्वस्थ्यकर छ ? अन्डा उत्पादन भएको कति समयसम्म खान योग्य छ ? जस्ता सामान्य प्रश्नको जवाफ भने धेरै थाहा छैन । जानकारहरुका अनुसार अन्डा उत्पादन भएको मितिले १५ दिनसम्म मात्रै खानयोग्य हुन्छ ।

कोल्ड स्टोरमा सुरक्षित राखिएका अन्डा१ महिनासम्म खानयोग्य भए पनि १ महिना नाघेका अन्डा स्वास्थ्यका लागि घातक हुन् । १ महिनासम्म पनि नबिकेका अन्डा नष्ट गर्नुपर्छ । अझै, हामीले खरिद गर्ने अन्डामा त उत्पादन मिति र उत्पादनकर्ता को हो ? उत्पादन कम्पनीको विवरण नै हुँदैन ।

पशुपन्छी कल्याणको क्षेत्रमा काम गर्दै आएको ‘एनिमल नेपाल’ले बुधबार होटल व्यवसायी संघ (हान), नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान)आबद्ध व्यवसायी र सञ्चारकर्मीसँग पोखरामा अन्तक्र्रिया गर्‍यो ।

‘अन्डा उत्पादन भएको १५ दिनसम्म मात्रै खानयोग्य हुन्छ । कोल्ड स्टोरमा सुरक्षित राखिएका अन्डा १ महिनासम्म खानयोग्य भए पनि १ महिना नाघेका अन्डा स्वास्थ्यका लागि घातक हुन् ।’

Advertisement


‘सबै उपभोक्ता लागेर सरकारलाई घच्घच्याउनुपर्छ । बल्ल नीति परिवर्तन हुन्छ । अन्डा उत्पादन भएपछि १५ दिनसम्म मात्रै प्रयोग गर्नुपर्छ । ‘कन्जुमर फोरम’ले यसबारे कुरा उठाउनपर्छ,’ एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले भनिन् । दर्ता नभई चलेका पोल्ट्री व्यवसायीलाई दर्ता गराएर उत्पादन गरिएका सामग्रीको उत्पादन मिति अनिवार्य राख्न लगाउनुपर्ने उनको भनाइ छ ।

व्यवसायीले क्यारेट अन्डा किन्दा पहिले नै यति बिग्रेको छ भनेर छुट्याएर राख्नुपर्ने होटल सञ्चालक कमल थापाले बताए । ‘पहिले नै यति सामान बिग्रिएको छ भनेर मेनुको मूल्य बढाउनुपर्ने हुन्छ । यसले मेनु पनि बढेको छ । १६ देखि १७ प्रतिशत त पहिले नै बिग्रेको छ भनेर छुट्याउनुपर्छ,’ उनले भने, ‘यसले मेनुको मूल्य बढाउनुपर्ने बाध्यता आइलाग्यो ।’

अन्तक्र्रियामा स्वथ्यकर अन्डाका लागि कुखुरालाई पिँजडामा राख्न नहुने विषय पनि उठ्यो । कुखुरालाई कोचेर राख्दा त्यसले दिने उत्पादनसमेत स्वथ्यकर नहुने एनिमल नेपालकी कार्यक्रम संयोजक मधु कट्टेल बताउँछिन् । ‘कुखुरालाई केजमा कोचेर राख्नु राम्रो होइन ।

यसो गर्दा राम्रो अन्डा उत्पादन हुन सक्दैन,’ उनले भनिन्, ‘स्वस्थकर अन्डा उत्पादनका लागि कुखुरालाई खुला छोड्नुपर्ने हुन्छ ।’ अन्डा उत्पादन मिति सोधेर १५ दिन नाघेका अन्डा उपभोग नगर्न उनले सुझाइन् । लेयर्स कुखुरा बजारमा २ सय ५० मा पाइन्छ ।

अन्डा उत्पादन गर्दागर्दा थाकेका कुखुरा मासुका लागि प्रयोग गर्नु घातक हुने उनले थपिन् । ‘अन्डा दिँदादिँदा थाकेका कुखुरा मासुका लागि प्रयोग हुनुपर्ने ? यो त स्वास्थ्यमाथि हेलचेक्रयाइँ भयो,’ उनले सुनाइन्, ‘अन्डा पार्दा थाकेपछि फेरि मासु हुनुपर्ने बाध्यता छ । खाद्य गुणस्तर निकाय खै ? उपभोक्ता मञ्च केका लागि ? संसदमा कुरा उठाउनुपर्ने खै ?’ सरकारले नीति बनाएर यो समस्या सुल्झाउनुपर्ने उनको भनाइ छ ।

व्यवसायी शिव अर्यालले अन्डा उत्पादन गर्ने कुखुराको वर्गीकरण गर्नुपर्ने बताए । व्यवसायी विकल तुलाचनले पशुपन्धी अधिकारका लागि उपभोक्तालाई सुसुचित गर्नुपर्ने बताए । जनस्तरमा चेतना नफैलिएसम्म यस्ता कार्यक्रम उपलब्धिमूलक नहुने उनको भनाइ छ ।

‘सबैभन्दा ठूलो कुरा पब्लिक चेतना हो । मैले यो सामग्री मिति सकिएपछि प्रयोग गर्नुहुन्न भन्ने हुुनुपर्छ,’ उनले भने, ‘हामी उपभोक्ता पनि आफैं जिम्मेवार हुनुपर्छ ।’ पशु कल्याणका लागि पाठ्यक्रम नै बनाएर स्कुलमा थपे बेथिति विस्तारै कम हुँदै जाने विषयमा पनि छलफलमा कुरा उठेको छ ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले संसारभर नै सबैभन्दा बढी उपभोग हुने खाद्य पदार्थमा कुखुराको मासु र अन्डा पर्ने बताए । ‘कुखुराको मासुमा एन्टिबायोटिकको औषधी दिँदा त्यो बढी एन्टिबायोटिकको असर उपभोक्ताको मुखसम्म आइपुगको छ ।

यति धेरै असर हुन्छ कि मानव शरीरलाई चाहिनेभन्दा ८ गुणा बढी,’ उनले भने, ‘कुखुराको मासु र अन्डामार्फत् त्यो मानव शरीरमा प्रवेश गरेको हुन्छ । त्यसो हुँदा कुखुरलाई चाँडो हुर्काएर नाफा निकाल्न खोज्दा मानव स्वास्थ्यमा ठूलो हानि पुगेको छ ।’

तपाईको प्रतिक्रिया