
दमौली ।
मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा उनकै नाममा गठित भानुभक्त जन्मस्थल विकास समिति छ । नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व भानुभक्तको जन्मस्थलको विकास गर्न एवं नेपाली भाषा र साहित्यको खोज अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारले विसं २०५२ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरेको थियो ।
भानुभक्त जन्मस्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचारप्रसार गरी साहित्यिक पर्यटनका रुपमा देशविदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । पर्याप्त बजेट नहुँदा त्यसले मूर्त रुप पाउन सकिरहेको छैन ।
आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । भानुभक्तको जन्मथलो शिमखर कटेरी चुँदीरम्घामा रामायण भवन निर्माण भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरुपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।
चुँदीरम्घालाई सप्तधामका रुपमा विकसित गर्न गुरुयोजना बनाउने तयारी थालिएको रानाभाटले बताए । “पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भने, “चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौं ।”
समितिले आदिकवि भानुभक्त आचार्यको पुरानो शैलीमा घर निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि रु एक करोड बजेट आवश्यकपर्ने अनुमान गरिएको छ ।
शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ता जस्तो पनि देखिँदैन ।
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्न भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जंगलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो ।
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माण गर्ने भनेको लामो समय भइसके पनि काम सुरु नभएकाले समितिकै सक्रियतामा अब घर निर्माण थालिने रानाभाटले बताए । “घर निर्माण गर्ने भनेर शिलान्यास भएको लामो समय भयो, काम भएन”, उनले भने, “अब समितिले आफैँले घर निर्माण काम थाल्छ ।”
भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्न गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापिठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाटले बताए ।
विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीका दिन देशभित्र तथा देश बाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा स्थानीयवासी निराश छन् । भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ ।
स्थानीय अगुवा ओमकुमारी पौडेलले सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि विशेष योजना ल्याउनुपर्ने बताए । “भानुभक्त आचार्यको जन्मथलो ओझेलमा छ, यसको विकासका लागि सरकारको ध्यान जानुपर्छ”, उनले भने ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया