बारम्बार एटिएम फोर्ने प्रयास

समाधान संवाददाता २०७९ फागुन १२ गते १०:५३

पोखरा ।
कास्की प्रहरीले बैंकका एटिएम मेसिन फोर्ने प्रयास गरेका २ जनालाई पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटन बस्ने उदयपुर गाईघाटका २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मस्र्याङ्दी वर्ष २१ का अर्जुन भन्ने लुबहादुर गुरुङ कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले एकै रातमा ३ वटा एटिएम फोड्ने प्रयास गरेका थिए । कास्की प्रहरीका सूचना अधिकारी ज्ञानबहादुर खड्काका अनुसार उनीहरुले पोखरा रामबजारस्थित एनआइसी बैंक, सांग्रिला विकास बैंक, वन क्याम्पस नजिकै रहेको नेपाल बैंकको एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए । राई र गुरुङले सिसी क्यामेरा फुटाउने, छोप्ने प्रयत्नसमेत गरेका थिए ।

पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । सूचना अधिकारी खड्काले भने, ‘निजहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रियाअगाडि बढाइएको छ ।’

Advertisement

गत साउन ३ गते मध्यराति २ बजे पोखरा २७ लेखनाथस्थित तालचोकमा रहेको एनआइसी एसिया बैंकको एटिएमबाट करिब १५ लाख चोरी भएको थियो । अनुसन्धान गर्दा एटिएम मेसिन फोडेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ चोरी भएको पत्ता लाग्यो । एनएमबी बैंकको एटिएम फोडेर फरार रहेका नवलपुरको देवचुली नगरपालिका घर भई पोखरा महानगरपालिका ३० डुँडुलेमा बस्दै आएका २१ वर्षीय अनिष तामाङलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पोखरामा एटिएम फोड्ने शृंखला यतिमात्र होइन । अघिल्लो वर्षको पुसयता ९ वटा एटिएम चोरीका घटना घटेका छन् । पटक पटक यस्ता घटना दोहोरिनुले पर्यटकीय नगरी पोखराको सुुरक्षा व्यवस्थामा प्रश्न उठेको छ । त्यो पनि बारम्बार एकै व्यक्तिबाट यस्ता घटना भएको देखिन्छ । एउटा मुद्दामा कैद भुक्तान गरेरै बाहिर निस्किएका व्यक्ति फेरि सोही आपराधिक घटनामा मुछिएको देखिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया