घुसकाण्डमा मुछिएका पाठक ७८ लाख धरौटीमा रिहाः घुस दिने अझै फरार

समाधान संवाददाता
पोखरा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतले माग गरेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । ७८ लाख रुपैयाँ घुस मागेको भिडियो सार्वजनिक भएपछि अख्तयारबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।
बुधबारै भएको थुनछेक बहसपछि पाठकसँग विशेषले घुस लिएको विगो रकम बराबर ७८ लाख रूपैयाँ धरौटी माग गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटी माग गरेको हो । पाठकको धरौटीका लागि नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा रिहा भएको विशेष अदालतका उप रजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।
घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो । २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घुस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ ।
उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ । सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घुस लिएको पुष्टि भए यी दुवै सजाय हुने भनिएको छ । यो घुस प्रकरण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुनेछन् ।
दुवै व्यवस्था अनुसार उनलाई ९ देखि १२ वर्षसम्म कैद हुनेछ । अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ । ऐन अनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने छ । सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ । पाठकलाई घुस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन् ।
तपाईको प्रतिक्रिया