सम्पादकीय: लघुवित्तको अनुगमन गर

समाधान संवाददाता २०७९ फागुन १६ गते ११:५७

लघुवित्तका कारण समाजमा आर्थिक, सामाजिक क्षेत्रमा ठूलै समस्या देखिएका छन् । पुराना जमानामा सुनेका साहुँका कहर र चलचित्रमा भूमिपति जस्तै लघुवित्तको ज्यादती सञ्चार माध्यममा आइरहेका छन् । ऋण तिर्न नसक्दा घरमा ताला लगाउनेदेखि ऋणीले आत्महत्या गरेकासम्म घटना आएका छन् । यस्ता घटनाक्रमले लघुविबारे राष्ट्रिय स्तरमा बहस भइरहेको छ । यस विषय गाउँ, टोल, चिया पसलदेखि सदनसम्म पुगको छ । गाउँ गाउँमा वर्षौंदेखि यो समस्या देखिए पनि हालैमात्रै यो विषय राष्ट्रिय बहसमा आइपुगेको हो ।

यो विषयलाई एउटा निष्कर्षमा पुर्‍याएर लघुवित्तको प्रभावकारी अनुगमन जरुरी छ । लघुवित्तलाई जनताको समृद्धिको साधक बनाउन जरुरी छ । अनेक खालका समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले लघुवित्तलाई ऋण लगानीमा कडाइ गरेको छ । एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै कर्जा लगानीदेखि कमाएको नाफाबाट लाभांश वितरणमा समेत कडाइ गरिएको छ । राष्ट्र बैंकले एक ऋणी, एक लघुवित्तको अवधारणा लागू गर्न निर्देशन दिएको छ । जुन अत्यावश्यक पनि छ ।

अन्य बैंक तथा वित्तीय संस्थाका ऋणीलाई लघुवित्तले ऋण दिन नपाउने व्यवस्था भएको छ । यसअघि एउटै ऋणीले डेढ दर्जनसम्म लघुवित्तबाट ऋण लिएको देखिएको थियो । देशमा आएको आर्थिक संकटका बेला लघुवित्तका कारण आर्थिक अराजकता भएको देखिएको छ । राष्ट्र बैंकले लघुवित्तमा धितो राखेर कर्जा लिन पाउने व्यवस्था नै हटाएको छ ।

Advertisement

यस्ता कदमले लघुवित्तमा सुधार आउने अपेक्षा त गर्न सकिन्छ तर यी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । ग्रामीण क्षेत्रका विपन्न मानिसको आर्थिक स्तर उकास्ने मुख्य उद्देश्यका साथ लघुवित्त आएको हो । गरिबलाई उद्यमी बनाउनका लागि यस्ता संस्थाले बिनाधितो ऋण प्रवाह गर्नुपर्छ । केहीले यस्तो दायित्व निर्वाह पनि गरेका छन् तर कतिपय लघुवित्त यो मान्यताविपरीत गएपछि समस्या सिर्जना भएको हो ।

लघुवित्तको ऋण निजी सम्पत्तिको धितोमा आधारित नभएर समूह जमानतमा आधारित हुन्छ । यो सामाजिक कारोबार हो । अन्य वित्तीय संस्थाको ऋण तिर्न नसक्दा ऋणीको धितो लिलाम हुन्छ तर लघुवित्तमा ऋण तिर्न नसक्दा ऋणीको सामाजिक प्रतिष्ठा र सम्बन्ध नै लिलाम हुने देखिन्छ । यही कारण सामाजिक द्वन्द्व र विखण्डनसमेत हुन सक्छ ।

Advertisement

लघुवित्तले ऋण लिने दिने दुबै पक्षमा वित्तीय साक्षरता फैलाउनु जरुरी छ । हरेक ऋणीमा ऋण तिर्नैपर्ने बोध गराउनुपर्छ । कसैले लिएको ऋण अर्को मानिसले गरेको बचतको रकम हो । बचत गर्नेले प्रतिफल पाउनै पर्छ । लघुवित्तका संस्थापक, लगानीकर्ता, कर्मचारी र ऋणीसमेत सुशासनमा बस्नुपर्छ । चाँडै नाफा कमाउने केही लघुवित्तले गरेका हर्कतले सबै लघुवित्त बदनाम हुने खतरा छ ।

तपाईको प्रतिक्रिया