सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

समाधान संवाददाता २०७९ फागुन १७ गते १०:३४

पोखरा ।
नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फमपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकोमा विशेष अदालतले मंगलबार ९ जनालाई दोषी ठहर गरेको हो । गुरुङलाई मतियारका रुपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने फागुन २५ गते पेशी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

मुद्दा विचाराधीन रहेकै बेला उनी गत निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । उनी हाल निलम्बित अवस्थामा छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित शालिग्राम कोइराला र बलभद्र बास्तोलको संयुक्त इजलासले पूर्वमन्त्री तथा हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता बद्रीप्रसाद न्यौपानेलाई पनि दोषी ठहर गरेको छ ।

Advertisement

दोषी ठहर हुनेमा तत्कालीन समाज कल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रवीन्द्रकुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र हरि न्यौपाने छन् । रमाइलो मेला सञ्चालन गर्ने रवीन्द्र गुरुङ र परिषदका निर्देशक मदनप्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।

टेकबहादुर गुरुङ सो भ्रष्टाचार मुद्दामा मतियार ठहर भएका छन् भने तत्कालीन कोषाध्यक्ष रत्न गाहामगर, बलवहादुर स्वार, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाइ पाएका छन् । समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार भएको अख्तियारको अभियोग थियो ।

Advertisement

तपाईको प्रतिक्रिया