नर्सिङ क्याम्पसले अस्पताल खोल्ने

समाधान संवाददाता २०७९ फागुन १८ गते ११:००

पोखरा ।
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस पोखराले ४० औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको सन्दर्भमा गत फागुन १३ देखि १६ गतेसम्म विद्यार्थी शिक्षक र कर्मचारीबीच वार्षिक खेलकुद प्रतियोगिता भएको क्याम्पस प्रमुख प्रा नीता ताम्रकारले जानकारी दिइन् ।

क्याम्पसको ४० औं वार्षिकोत्सव मुल समारोह बुधबार भएको छ । समारोहमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । क्याम्पसमा वर्षभरीमा उत्कृष्ट काम गर्ने उपप्राध्यापक विष्णु गुरुङ र कर्मचारीतर्फ प्राविधिक सहायक सूर्यबहादुर रुम्बालाई सम्मान गरिएको छ ।

शैक्षिक तथा खेलकुद प्रतियोगितामा विजयी विद्यार्थी शिक्षक तथा कर्मचारीलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले नृत्य, गीत तथा कवितावाचन गरे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्याम्पस परिसरमा निर्माण गरिएको खानेपानी टंकी उद्घाटन गरे । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा दिव्यासिंह शाहले क्याम्पसको प्रवेशद्वारको उद्घाटन गरिन् ।

Advertisement

३ सय शड्ढयाको अस्पतालका लागि विस्तृत परियोजना प्रतिविदेन (डिपिआर) तयार गरी काम सुरु


समारोहमा मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेश सरकारको आफ्नै ऐन तथा विश्वविद्यालय भएकाले चिकित्सा शिक्षामा सबै क्षेत्रमा सहयोग गर्ने बताए । नर्सहरुलाई अस्पतालमा फुल्ने सेतो फुलको संज्ञा दिदै मुख्यमन्त्री अधिकारीले नर्सिङको प्रविणता प्रमाणपत्र तह पढेको व्यक्तिले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको मेरुदण्डको काम गरेको टिप्पणी गरे ।

Advertisement

‘चिकित्सा शिक्षा विधेयक निर्माणका क्रममा चर्को लडाई भयो,’ पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका मुख्यमन्त्री अधिकारीले भने, ‘स्वास्थ्य क्षेत्रमा महाविपत्ति पर्दा नर्स, सरकारी निकाय लगायत हामी सबै एक ठाउँमा रहने छौं । अली सहज अवस्था आउँदा नाँचौला, गाउँला ।’ उनले क्याम्पस प्रमुख ताम्राकारले राखेका मागलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन शाहले आवश्यक पर्ने सबै पूर्वाधार विना नर्सिङ क्याम्पस शिक्षण अस्पताल चलाउन नसक्ने तर्क गरिन् । चिकित्सा शिक्षा ऐनले क्याम्पसले ३ सय शैड्ढयाको अस्पताल निर्माण गर्नुपर्ने व्यवस्था आफैमा त्रुटिपूर्ण रहेको उनको दाबी छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्राडा श्रीकृष्ण श्रेष्ठले नर्सिङ क्याम्पस कुनै बेला पश्चिमाञ्जल क्षेत्रीय अस्पतालको आफ्नै क्याम्पस जस्तो भएको स्मरण गरे । प्रतिष्ठानका निर्देशक प्राडा भरत खत्रीले प्रयोगात्मक अभ्यासका लागि क्याम्पसका नर्सहरु उत्कृष्ट भएको बताए । क्याम्पस प्रमुख प्रा ताम्राकारले २०३९ फागुन १७ गते स्थापना भई सिएमए कार्यक्रमबाट सुरुवात भएको क्याम्पसमा अहिले स्नातकोत्तर तहसम्म पढाइ भएको जानकारी दिइन् ।

नयाँ नियम अनुसार नर्सिङ क्याम्पसको प्रयोगात्मक अभ्यासका लागि शिक्षण अस्पताल आवश्यक पर्ने जानकारी दिँदै क्याम्पस प्रमुख ताम्राकारले ३ सय शैड्ढयाको अस्पतालका लागि विस्तृत परियोजना प्रतिविदेन (डिपिआर) तयार गरी शिलन्यास गरेको बताइन् ।

कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका प्रमुख विनोदप्रसाद हेयजू, गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, क्याम्पसको वार्षिकोत्सव मुल समारोह समितिका संयोजक प्राडा कल्पना पौडेल, कर्मचारी प्रशासन प्रमुख प्रजापति पराजुली, पूर्व विद्यार्थी मञ्चका सिर्जना पण्डित पहारी, विद्यार्थी प्रतिष्ठा पाण्डे लगायतले नर्सिङ शिक्षाका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया