‘मैले देखेको पोखरा’ सार्वजनिक

समाधान संवाददाता २०७९ फागुन २१ गते १२:३०

पोखरा ।
महाकाव्यकार वसन्तप्रसाद चालिसेको मैले देखेको पोखरा बजारमा आएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तक लोकार्पण गरे ।

आचार्यले पोखरा महानगरपालिकामा लामो समय सेवा गरेका चालिसेले त्यहाँका भोगाई तथा अनुभवलाई पुस्तकमा उतारेको बताए । महानगरलाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि चालिसेका भोगाई तथा अनुभव भावी दिनका लागि प्रेरक बन्ने उनको विश्वास छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेश अध्यक्ष दुर्गाबहादर शाह बाबाले महानगरका सेवाकालीन भोगाई तथा अनुभवलाई समेटेर तयार पारिएको पुस्तक पोखराको सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेका लागि पनि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

Advertisement

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले महानगरपालिकाको विगतदेखि वर्तमानसम्मका गतिविधि नियाल्नका लागि पुस्तक महत्वपूर्ण बन्ने बताए । साहित्यकार असफल गौतमले विगतदेखि वर्तमानसम्मको पोखरा, यहाँ भएगरेका गतिविधि पुस्तकमा समेटिएको सुनाए । पोखरा महानगरबारे बुझ्न चाहने र यहाँको अध्ययन अनुसन्धान गर्नेका लागि पनि यो पठनीय हुने उनको भनाइ छ ।

कस्केली अधिकृत समाजका सल्लाहकार कृष्णकान्त सिग्देल, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल, सदस्य एवं पोखरा महानगरपालिका वडा नं ३ का वडा सचिव चन्द्रवती वाग्ले, पुस्तकका लेखक वसन्तप्रसाद चालिसे, पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदास, पोखरा महानगरपालिकाका लेखा अधिकृत जयराम पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

पोखरा महानगरपालिकामा २०३९ सालदेखि २०७६ सालसम्म सेवा गरेका चालिसेका यसअघि श्री स्वस्थानी व्रतकथा महाकाव्य(२०७७) प्रकाशित छ ।

तपाईको प्रतिक्रिया