मध्य पहाडी लोकमार्गको काम सुस्त

समाधान संवाददाता २०७६ जेठ ३ गते १४:०१

रामकृष्ण लामिछाने, पर्वत

मध्य पहाडी लोकमार्ग निमार्णको काम सुस्त हुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । कास्की, पर्वत र बागलुङ सडक खण्ड निमार्ण कार्य चालु आवमा सक्ने भने पनि प्रतिकुल मौसम, निर्माण सामग्री अभावले आयोजना लक्ष्यमा पुग्न नसकेको हो ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम जम्मा ४६ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्वत खण्डमा चालु आवमा ७० प्रतिशत सक्ने लक्ष्य लिएको लोकमार्ग आयोजनाका प्रमुख आशिक थापामगरले बताए ।

Advertisement

लोकमार्ग अन्तर्गत पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति सोचे अनुसार हुन नसकेको हो । चालु आवसम्ममा जम्मा ५० प्रतिशत काम पूरा हुने आयोजनाले जनाएको छ । सडकका विभिन्न ठाउँमा नाली निमार्ण, पहिरो रोकथामलाई पर्खाल निर्माण, साँघुरो घुम्ती कटान कार्य चलिरहेको छ । जसले गर्दा सवारी चालक, यात्रुदेखि आसपासका स्थानीयले सास्ती खेप्नु परेको छ ।

आयोजना निर्माणको काम लामा कन्स्ट्रक्सन प्रालिलाई दिएको छ । ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिकालागि ठेक्का लिएका थिए । कुश्मा बजारमा बिजुलीका पोल र खानेपानीका पाइपलाइनका कारण सडक बिस्तारकालागि डोजर लगाउन समस्या भएको छ ।

Advertisement

बजारको २ किलोमिटर सडक खण्ड ४ लेनको बनाउन लागिएको लामा कन्स्ट्रक्सनका गोविन्द भुषालको भनाई छ । आयोजना अन्तर्गत कास्की खण्डमा ५३ प्रतिशत र बागलुङ खण्डमा ४५ प्रतिशत काम सकिएको छ ।

तपाईको प्रतिक्रिया