सरकारद्वारा महिला पाइलटलाई स्वागत

काठमाडौं ।
सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन् ।
काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन् । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री किराँतीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए ।
महिलाको अन्तर्राष्ट्रिय उडानले पर्यटनमात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । ‘पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाले उडाएको जहाज ऐतिहासिक छ र एक सय १३ औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरू (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरूको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ’, पर्यटनमन्त्री किराँतीले भने ।
यो उडानमार्फत पनि महिलाहरूले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किराँतीले उल्लेख गरे । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडाैं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।
महिला चालक दलले बुधबार निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । २ महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए । निगमको बुधबारको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उठाएका थिए । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।
निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी ६ महिला पाइलट छन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया