गृहणी हाजिरीजवाफमा कामना पहिलो

पोखरा ।
१ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस पोखरामा भव्य रुपमा मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा लेखनाथमा र्यालीसहित गृहणी महिलाबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी दिवस मनाइएको हो ।
पोखरा २७ तालचोकबाट र्याली पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महिला पुरुष बीचको असमानता अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले महिलालाई कुनै अधिकार नदिएको अवस्थामा महिलाले अधिकार र समान ज्यालाका लागि गरेको आन्दोलनले विश्व ब्यापी रुप लिएर सफल भएको दिवसका रुपमा मनाउन थालिएको बताए । महिला र पुरुषका बीचमा विभेद हुन नहुने बताउदै एक रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै समानताका लागि साझा रुपमा अगाडि बढनुपर्नेमा जोड दिए ।
पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाले अधिकार प्राप्तिका लागि धेरै संघर्ष गर्नुपरेको स्मरण गरिन् । उनले महिला र पुरुषबीचको असमनतालाई अन्त्य गर्दै समतामूलक समाज निर्माणमा दिवसले भूमिका खेल्ने विश्वास ब्यक्त गरिन् ।
पोखरा महानगर वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांग, वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलालाई विभेद नगरी समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।
यसैबीच, महानगर स्तरीय गृहणीहाजिरी जवाफ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ को कामना जागरण महिला समूह प्रथम, वडा नम्वर १५ को सृजना आमा मार्ग आमा समूह द्वितीय, पोखरा २ को जयमुल आमा समूह तृतीय र पोखरा २४ को कास्की कोट महिला सहकारी र यूनिटी महिला समूहले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना २ समूहले समान ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा ७२ समूह सहभागी छन् ।
र्यालीमा सरस्वती आमा समूह पोखरा ३३ उत्कृष्ट हुँदै १० हजार रुपैयाँ प्राप्त गर्यो । कार्यक्रममा विजेतालाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ रवडाध्यक्ष राधिकाकुमारी शाही योगीले प्रमाणपत्र र नगद प्रदान गरे ।
तपाईको प्रतिक्रिया