सम्पादकीय: नयाँ राष्ट्रपतिको कार्यभार

समाधान संवाददाता २०७९ फागुन २९ गते १२:०१

नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति चुनिएपछि पौडेलले दलीय आवद्धता औपचारिक रुपमा छाडेको घोषणा गरिसकेका छन् । यसअघि चुनिएका दुई राष्ट्रपतिले पहिले आफूहरु आवद्ध दलको प्रभावबाट मुक्त हुन नसकेको आरोप खेपेका छन् ।

राष्ट्रपति पदमा पुग्ने हालसम्मका नेतामध्ये पौडेल अनुभवी र पाका हुन् । ७८ वर्षका पौडेल ६ दशकभन्दा लामो सक्रिय राजनीतिपछि देशको सर्वाेच्च पदमा पुगेका छन् । शितल निवासमा उनको आगमनअघि पौडेलसँग पूर्व राष्ट्रपतिहरु भन्दा फरक, परिपक्व र देशको अभिभावकीय भूमिकाको अपेक्षा गरिएको छ ।

उनीबाट राखिएको यो अपेक्षा कत्तिको पूरा होला, त्यो समयले बनाउनेछ । रातारात गठबन्धन र सरकार फेरिइरहने देशमा पौडेल आफूलाई राष्ट्रपतिमा चुन्ने दलहरुप्रति दचिलो बन्छन् कि संविधानको पालना र अभिभावकीय भूमिकामा रहन्छन् भन्नेले नै उनको सफलताको मूल्यांकन गर्ने छ । पटक पटक गरी १५ वर्ष जेलजीवन बिताएका उनले मन्त्री, उपप्रधानमन्त्री र सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Advertisement

पार्टी संगठनमा नेपाली कांग्रेसको उपसभापति र कार्यवाहक सभापति भइसकेका हुन् । नेपाली साहित्यमा एमए र संस्कृत साहित्यमा शास्त्री गरेका पौडेल लेखक पनि हुन् । पार्टीका लागि उनी १७ पटकसम्म चुनाव हार्न तयार भएका पौडेल संविधान रक्षा र अभिभावकीय भूमिकामा त्यसैगरी अटल र अडिग बनून् भन्ने अपेक्षा छ । संविधान अनुसार राष्ट्रपति पद सबैभन्दा गरिमामय, सर्वोच्च ओहोदा र अभिभावकीय जिम्मेवारीको पद हो ।

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले राष्ट्रपतिको चुनाव लडेका थिए । जनान्दोलन २०४६ का कमान्डर स्व गणेशमान सिंहको पनि राष्ट्रपति बन्ने चाहना थियो । गणतन्त्र घोषणपछि केही समय सरकार र राष्ट्रप्रमुख दुवैको भूमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइरालामा पनि राष्ट्रपति बन्ने इच्छा थियो । युद्ध लडेर आएका प्रचण्डलाई पनि पार्टी कार्यकारी राष्ट्रपतिका रूपमा अघि सार्दै प्रचार गरेको थियो ।

Advertisement

नयाँ संविधानमा राष्ट्रपतिलाई संवैधानिक बनाइयो । कार्यकारी प्रधानमन्त्री नै हुने व्यवस्था निरन्तर रह्यो । राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भन्ने अझै यकीन भएको छैन । शिशु गणतन्त्रमा यो पदबारे थप बहस आवश्यक त । संविधानले सेरेमोनियल राष्ट्रपतिको व्यवस्था गरेपछि पनि सेरोमोनियल राष्ट्रपतिको भूमिका कस्तो हुने भन्नेमा विवाद छ ।

राष्ट्रपतिले गर्नुपर्ने के हो भन्ने बहस भइरहन्छ । यो पद रबर स्टाम्प कि संविधानको संरक्षण ? यो विषयमा राजनीतिक दलहरू स्पष्ट हुनु जरुरी छ । त्यसो नभएसम्म राष्ट्रपति पदबारे मर्यादित धारणा बन्दैन । हामीले र देशले चाहेको मर्यादित र अभिभावकीय राष्ट्रपति हो ।

तपाईको प्रतिक्रिया