क्व्होंलासोथरमा च्याउ खाँदा दुईकोे ज्यान गयो, २ सिकिस्त

समाधान संवाददाता २०७६ जेठ ५ गते ११:१४

सुरेशराज अधिकारी

विषालु च्याउ खाँदा लमजुङ क्व्होंलासोथर गाउँपालिका ९ स्थित एकै परिवारका २ जनाको ज्यान गएको छ । २ जना भने सिकिस्त बिरामी परेका छन् ।

Advertisement

गत वैशाख २६ गते साँझ परिवारका ४ जनाले च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । ज्यान गुमाउनेमा १० वर्षीय साजन क्षेत्री र १२ वर्षीय मन्तेस क्षेत्री रहेको परिवारका अन्य सदस्यले जानकारी दिए ।

उक्त दिन सूर्यबहादुर क्षेत्रीले वनमा फलेको च्याउ ल्याएका थिए । च्याउ सूर्यबहादुर उनकी श्रीमती सरीता, कान्छा छोरा मन्तेस र उनका भाइका छोरा साजनले च्याउको तरकारी खाएका थिए । २६ गते साँझ च्याउको तरकारी खाएका उनीहरुलाई २७ गतेबिहानदेखि पखला लाग्न सुरु भएको थियो । बर्बराउने र बेहोसको स्थितिसम्म पुगेको सूर्यबहादुरका भाइ कुलबहादुर क्षेत्रीले सुनाए ।

Advertisement

तत्कालै उपचारका लागि गण्डकी मेडिकल कलेज (जिएमसी)पोखरा ल्याइएको थियो । २९ गतेसम्म जिएमसीमै उपचार भइरहे पनि अवस्था जटिल देखेपछि थप उपचारका लागि भन्दै काठमाडौं कंलकीस्थित नेपाल नेसनल हस्टिपल रिफर गरिएको थियो ।

सिकिस्त बिरामी परेका साजनलाई वैशाख ३१ गते डाक्टरहरुले उपचार सम्भव नहुने भनेपछि घर नै फिर्ता पठाएका थिए । उनको जेठ १ गते मृत्यु भएको जनाइएको छ । मन्तेसलाई समेत डाक्टरले उपचार नलाग्ने सुनाएपछि घर पठाइएको थियो । उनको २ गते मृत्यु भएको उनका काका कुलबहादुरले जानकारी दिए ।

सिकिस्त अवस्थामा रहेका सूर्यबहादुरको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भइरहेको छ । उनलाई पहिला काठमाडौं लगिएको थियो । उनका भान्जा सन्तोष सुवेदीका अनुसार अस्पतालमा डाइलेसिसका लागि राखिएको छ ।

सूर्यकी श्रीमती सरीताको भने काठमाडौंस्थित हस्पिटलमा उपचार भइरहेको भान्जा सुवेदीले जानकारी दिए । उनको स्वास्थ्यमा केही सुधार आएको उनले बताए । ‘पहिले वनबाट च्याउ ल्याएर खाने गर्नुहुन्थ्यो,’ सुवेदीले भने, ‘वनमै फलेको च्याउमा यसपाला के बितल पर्‍यो ।’

जंगलमा फल्ने सबै च्याउ खानयोग्य हुँदैनन् । विशेषगरी रातो च्याउ मानव स्वाथ्यका लागि प्रतिकुल हुने विज्ञको सुझाव छ ।

तपाईको प्रतिक्रिया