जिल्लाभरिमै हुँदैन स्नातकको पढाइ

राष्ट्रिय समाचार समिति (रासस) २०७९ चैत ५ गते ११:४३

मनाङ ।
मनाङको चामेका रविन गुरुङ भन्छन्, ‘चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’ जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् ।

उनको उच्च शिक्षा हासिल गर्ने रहर रहरमै सीमित भयो भयो अहिले बाबाआमालाई होटल व्यवसायमा सघाउँदै छन् । ‘जिल्लामा प्लस टुसम्म पढियो, स्नातक तह पढ्न जिल्लाबाहिर जानुपर्छ, खर्च जुटाउनै सकिँदैन’, रिया गुरुङ भन्छिन्, ‘इच्छा र चाहना सबै पूरा हुँदैनन् भनेको हो रहेछ, उच्च शिक्षा हासिल गर्ने मन भए पनि हामीले पढ्न पाउँदैनौँ ।’

जिल्लामा नै उच्च शिक्षा अध्ययन गर्न पाउने भएको भए इच्छा पूरा हुने उनी सुनाउँछिन् । त्यस्तै अस्मिता गुरुङको पीडा पनि छ । ‘घाँटी हेरेर हाड निल्नुपर्छ भन्छन्, बाबाआमासँग झगडा गरेर भए पनि उच्च शिक्षा लिन्छुजस्तो हुन्छ नि ! के गर्नु बाबाआमाको दुःख पनि त बुझ्नुपर्‍यो,’ उनी भन्छिन् । यी सबै मनाङका उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी उच्च शिक्षा हासिल गर्न नपाउँदाको दुखेसा हुन् ।

Advertisement

आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कतिपय अभिभावकले विभिन्न पाठशालामा पुर्‍याउने गर्दछन् तर, विपन्न तथा विकट जिल्लाका विद्यार्थी भने उच्च शिक्षा आर्जन गर्ने अवसरबाट नै वञ्चित हुने गरेका छन् । कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई ठूला सहर तथा उच्च कोटीको विद्यालय, क्याम्पस तथा कलेजमा पठनपाठनका लागि पठाउने गर्दछन् तर, विकट हिमाली जिल्ला मनाङका विद्यार्थी भने उच्च शिक्षा अध्ययनबाट नै वञ्चित हुने गरेका छन् ।

मनाङमा कक्षा १२ सम्म मात्रै अध्यापन हुने हुँदा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता छ । उच्च शिक्षाका लागि प्लस टु सकिएपछि अन्यत्र जानुपर्ने हुँदा कयौँ विद्यार्थी उच्च शिक्षा लिने अवसरबाट नै वञ्चित भएका छन् ।

Advertisement

जिल्लामा स्नातक तहसम्मको पठनपाठन नहुँदा विशेष गरी विपन्न वर्गका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईँले बताए । ‘स्नातक तहको पठनपाठन जिल्लामा नहुँदा यहाँका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुने गरेका छन्’, उनी भन्छन् ।

जिल्लामा शिक्षा र व्यवस्थापन संकायमात्रै अध्यापन गराइने गरिएकामा ४ वर्षदेखि कृषि र प्राविधिक धारका विषयको पठनपाठन थालिएको छ । आवासीयरुपमा रहेको चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा प्राविधिक धारका प्राविधिक र कृषि विषयमा अध्यापन भइरहेको छ ।

जिल्लाका अन्य विद्यालयमा शिक्षा र व्यवस्थापनबाहेक अरु विषयमा पठनपाठनको व्यवस्थापन हुन सकेको छैन । लोकप्रिय मावि र नासोँ गाउँपालिका ३ स्थित प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । नासोँ गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा १० सम्ममात्रै अध्यापन हुने गरेको छ । मनाङमा शैक्षिक गुणस्तर वृद्धि तथा उच्च शिक्षाको विकासका लागि समन्वयको भूमिकामा प्रस्तुत भइरहेको चपाईँले बताए ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगलेले उच्च शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिक्षा विकास तथा समन्वय एकाइको माध्यमबाट छलफल तथा समन्वयात्मक रुपमा प्रत्येक स्थानीय तहसँग छलफलमा गरिरहेको जनाइन् ।

‘उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी मौलिक अधिकारबाट वञ्चित नहोस् भनेर समन्वय गरिरहेका छौें’, प्रजिअ ढुंगेलले भनिन्, ‘जिल्ला बाहिर गएर अध्ययन गर्न सक्ने विद्यार्थीलाई भन्दा विपन्न वर्गका विद्यार्थी नै शिक्षाबाट वञ्चित हुन नपरोस् भनी तदारुकताका साथ प्राथमिकता दिएका छौं ।’

जिल्लाका राजनीतिक दल, ४ वटै पालिकाको शिक्षा शाखामार्फत उच्च शिक्षा अध्ययनका कक्षा आगामी वर्षदेखि सञ्चालनको विषयमा छलफलमै रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लामै उच्च शिक्षा आर्जन गर्न पाउने भएमा जिल्लाका विद्यार्थीमा हुँदै आएको निरासा हट्नेछ । जिल्लामा उच्च शिक्षा अध्यापन भएमा परिवारलाई सहयोग गर्दै जिल्लामा नै उच्च शिक्षा हासिल गर्न सहज हुने उनीहरू बताउँछन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया