कागजी घोडा होइन प्राविधिक शिक्षा

लक्ष्मण तिमिल्सिना २०७९ चैत ५ गते १२:१५

दार्शनिक अरस्तुले भनेका छन्–शिक्षाको कार्य स्वस्थ शरीरमा स्वस्थ मन निर्माण गर्नु हो । यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन्–जसरी बोटविरुवाको विकास गोडमेलद्वारा हुन्छ, ठीक त्यसै गरी मानिसको विकास शिक्षाद्वारा हुन्छ । सृष्टिको प्रारम्भदेखि शिक्षा, समाज एवं मानव जीवनसँग गाँसिएको छ किनभने शिक्षाको सम्बन्ध जीवनसँग छ ।

जबसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ, तबसम्म शिक्षाको प्रक्रिया चली नै रहन्छ । यसर्थ किताबका पानामा छापिएर रटाइएको ज्ञानमात्रै शिक्षा र सर्टिफिकेटमा अंक धारी मान्छेमात्र शिक्षित भन्ने सोचले समाजको विकास क्रमपछाडि परेको स्पष्ट देख्न सकिन्छ । व्यक्तिको जीवनकालमा आइपर्ने सिकाइ र अनुभव विश्वविद्यालयको ज्ञानभन्दा फरक छ ।

नेपालको शिक्षाको विकासक्रम हेर्ने हो शिक्षा भनेको औपचारिक शिक्षामात्र हो भन्ने सोचाइबाट ग्रसित छ । हाम्रो शिक्षाले कतिपय अवस्थामा धेरै विभेद जन्माएको छ । नेपालको परिवेशमा भने शिक्षा भनेको उपल्लो वर्गका लागि मात्र हो भन्ने एक खालको भ्रमित संस्कारको विकास हुनगई साधारण शिक्षाको माग धेरै प्रचार भइरहेको थियो ।

Advertisement

औद्योगिक क्रान्तिपछि बेलायतले विज्ञान र प्रविधिमा ठूलो फड्को मार्ने कोशिस गरेता पनि उदार शिक्षाको पृष्ठपोषण केही शिक्षण संस्थाले परिस्थितिको आकलन गर्न नसकेको कारणले गर्दा प्राविधिक शिक्षापछि पर्न गएको कुराको इतिहास साक्षी छ ।

नेपालको हकमा १० औं योजना विसं २०५९–२०६४ ले प्राथमिक शिक्षालाई अनिवार्य गर्न महिला शिक्षालाई अनिवार्य गर्दै लैजाने, माध्यामिक तहसम्मको शिक्षा सञ्चालन गर्न शैक्षिक गुणस्तरमा फड्को मार्ने, रोजगारमूूलक शिक्षा प्रर्वर्दन गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै क्रमशः उच्च शिक्षा विश्व परिवेशको शिक्षा औपचारिक रुपमा व्यावसायिक शिक्षामा परिवर्तन गरिएको थियो ।

Advertisement

नेपालमा प्राविधिक शिक्षाको महत्व छ भन्ने कुराको महसुस राणा कालमा नभएको होइन, राणा प्रधानमन्त्री वीरशमशेरले आफ्ना छोरा गेहेन्द्रशमशेरसहित ५ जनालाई जापानमा प्राविधिक शिक्षा अध्ययन गर्न पठाएका थिए । विसं. १९४२ ताका नै नेपालमा प्राविधिक शिक्षाको बहसको गर्ने जमर्को राणा प्रधानमन्त्री वीरशमशेरले गरेका थिए ।

प्राविधिक शिक्षा कागजमा बलियो बनेको शिक्षा पद्धति हो, व्यवहारमा यसलाई कार्यान्वयन गर्नका लागि हाम्रो मानसिकता बाधक बनेको छ

पछिल्लो समय नेपालमा शिक्षाका साधारण र प्राविधिक धारमध्ये प्राविधिक धारमा जोड दिने सरकारी नीति कागजबाट बाहिर उम्किन सकेको छैन । नेपालका हरेक प्राविधिक पेशामा संलग्न व्यक्तिको संख्या आकलन गर्ने हो भने नेपाली श्रमिकको संख्या र विदेशी श्रमिकको संख्या अनुपात २३ः७७ रहेको अध्ययनहरुले देखाएको छन् । नेपालमा प्राविधिक शिक्षा कागजमा बलियो बनेको शिक्षा पद्धति हो तर व्यवहारमा यसलाई कार्यन्वयन गर्नका लागि हाम्रो मानसिकता बाधक बनेको छ ।

कोइला र हिरा दुबै कार्बन त हुन् नि !
म यहाँ यौटा सामाजिक परिवेश जोड्न खोजेको छु, जसले भनौं वा जुन चिन्तनले प्राविधिक शिक्षा अझै पनि व्यवहारिक शिक्षा बन्न सकेन । राज्यका हरेक निकायले शिक्षालाई जीवनोपयोगी, व्यवहारीक, गुणस्तरीय र प्राविधिक सीपसहितको काम गरी खान सक्ने काममा सम्मान गर्न सक्ने जनशक्ति उत्पादनको नीति र कार्यक्रम देशव्यापी ल्याउँदा पनि किन हामी अलमलमा नै रह्यौं ? आजको मूल प्रश्न यही हो प्राविधिक शिक्षाको सवालमा ।

आज अस्ट्रेलियाको सिड्नीमा नेपाली भाइको कपाल काट्ने दोकान चलाउन सक्षम नेपाली दाजु भाइ किन नेपालमा कैंची चलाउन हिम्मत गर्न सक्दैनन् ? कतारमा जिप्सम फिटिङको जिम्मा लिने नेपालीले किन नेपालमा जिप्समको काम गर्ने हिम्मत गर्न सकेनन् ? समीक्षाको बिषय रहला ।

खाडीमा बेल्चा चलाउने नेपालीले नेपालमा पिचको काम गर्नका लागि आफूलाई उभ्याउन किन र केले रोक्यो ? यस्ता हजारौ प्रश्नको यौटै जवाफ होः हामीलाई हाम्रो शिक्षाले जागिरे बन्न प्रेरित गरेको छ । जागिर खाने एक जनाभन्दा जागिर दिन सक्ने व्यक्तिको देशको अर्थतन्त्रमा हुने योगदान हाम्रो शिक्षा प्रणालीले कतै सिकाउने प्रयास नै गरेन ।

दुर्भाग्य, हामीलाई कवाडी संकलनको काम गर्न लाज मान्नुपर्ने बनाइदियो । गाडीको मर्मत गर्ने मिस्त्रीलाई तल्लो दर्जाको रुपमा स्थापित गराउन सभ्यताको आवरणमा ढोंगी समाज लागिरह्यो । शिक्षितको परिभाषा नै मार्कसिटको आधारमा ठहर्‍याउँदै सम्मान गर्ने परीपाटीमा समाज पल्क्यो । यसर्थ प्राविधिक ज्ञान भएका मानिससमेत प्राविधिक पेशामा ढुक्क भएर खुलेर काम गर्न सक्ने वातावरण देशभित्र बन्न सकेन । सीप, कला र गला हुनेहरुले कहिल्यै पनि छाती फुलाउन सकेनन् । जसको परिणति नेपाली श्रमबजार ७७ प्रतिशत विदेशी श्रमिकमा निर्भर रह्यो ।

जसले हामीलाई उत्पादनमा आत्मनिर्भर बन्नका लागी प्रेरित गर्न नै सकेन । फलस्वरूप प्राविधिक शिक्षाको ब्यानर झुण्ड्याएका शैक्षिक संस्थाहरु समेत प्राविधिक ज्ञान होइन, साधारण शिक्षामै केन्द्रीत रहँदै सर्टिफिकेट वितरण केन्द्र बने । हाम्रो प्राविधिक शिक्षाले फेरि पनि कार्बन नै सिकायो,कर्बन मलिक्युलको स्थानको आधारमा त्यसको कोइलाको मूल्य र हिराको मूल्य बुझाउनेतर्फ हामी लाग्न सकेनौँ । जसको परिणाम नेपालको प्राविधिक शिक्षा चर्को स्वरको हँुकार त बन्यो तर अगाडि बढ्ने हिम्मत गर्न सकेन ।

विद्यालयहरुले प्राविधिक शिक्षा चलाउनका लागी हिम्मत त गरे तर त्यहाँ पाठ्यक्रम प्राविधिक सीप सिकाउन सक्नेभन्दा पनि भोलि साधारण शिक्षाका अनुसन्धानमा लाग्ने विद्यार्थीसँग प्रतिस्पर्धी बन्न सक्ने शिक्षालाई दीर्घकालीन लक्ष्य बोकेर बनेर आईदियो । अनि प्राविधिक शिक्षाका विद्यार्थीलाई कमजोर देखाउने ध्याउन्नमा ठूूलो शैक्षिक जनशक्ति लागिरह्यो ।

प्राविधिक धार र साधारण धारको शिक्षा
हाल प्राविधिक शिक्षाको महत्व अनुरुप सीपवान् जनशक्ति उत्पादन हुन नसक्नुमा नेपालको शिक्षा प्रारूप नै दोषी देखिन्छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा तीन वर्ष इन्जिनियरिङ पढेको विद्यार्थीको क्षमता उसको काम गर्न सक्ने सीपको क्षमताभन्दा पनि विश्वविद्यालयले लिने स्नातकको प्रवेश परीक्षाको आधारमा गर्ने गरिन्छ । २ वर्ष विज्ञान पढेको विद्यार्थीसँग प्राविधिक सीप सिकेको व्यक्तिलाई प्रतिस्पर्धा गर्न लगाउने विभेदकारी व्यवस्थाले प्राविधिक उत्पादनमा असहयोग गरेको देख्न सकिन्छ ।

प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीका लागि थप उच्च शिक्षा अध्ययनको प्राविधिक विश्वविद्यालय खोल्नुपर्छ भन्ने चेत १३ वटा विश्वविद्यालय सञ्चालन गरिरहेको राज्यसँग छैन । प्रतिस्पर्धा आफ्नो तहका सँग गराएर सफल/असफल छुट्याउनुको सट्टा प्राविधिक सीप, ज्ञानबारे घुमाउरो पारामा गलत सन्देशको प्रवाह रोकिँन नसक्दा नेपालमा प्राविधिक शिक्षा कागजी बन्दै गएको छ ।

जस्तोः प्राविधिक शिक्षाका बिषयमा विश्वविद्यालयको प्रवेश परीक्षामा उत्तीर्ण गराउने पाठ्यक्रम बनाउनुको सट्टा व्यक्तिको रुचि अनुरुप क्रेडिटको व्यवस्था गराउँदै पढ्दै कमाउँदै योजनाअघि सार्नु जरुरी छ । विश्वविद्यालय शिक्षामा सोही विषयबाट स्नातक गरेको व्यक्तिसँग हुने प्राविधिक ज्ञान, प्राविधिक धार अध्ययन गरेको प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिसँग बढी हुन सक्छ ।

फेरि विश्वविद्यालय शिक्षामा सोही विषयबाट स्नातक गरेको व्यक्तिसँग हुने विषयवस्तुगत, सैद्धान्तिक ज्ञान र बुझाइ प्राविधिक धार अध्ययन गरेको प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिसँग भन्दा निकै कम हुन सक्छ । यसर्थ प्राविधिक शिक्षाभित्र पनि दुई धार रहेको कुरा पाठ्यक्रम, शिक्षा मोड्युल बनाउनेहरुले बुझ्न जरुरी छ । जो व्यक्ति प्राविधिक ज्ञानमा दक्ष छ तर सैद्धान्तिक ज्ञानमा कमजोर छ भने उसलाई उसको सीपको तह निर्धारण गर्न कहिलेसम्म राज्यले कन्ज्युस्याई गरिरहने ?

बिएन/बिएस्सी नर्सिङको उत्पादन एउटा अस्पतालका लागि योग्य हुन्छ र अर्को अध्यापन एवं अनुसन्धानका लागि । यस्तै अन्य प्राविधिक धारमा पनि हुनेछ । दूध र दूधजन्य प्रदार्थ उस्तै लागे पनि यी दुवै कुरा फरक हुन । यसर्थ प्राविधिक शिक्षाको पनि अध्ययन, अनुसन्धानको धार विश्वविद्यालयले र प्राविधिक सीपको आधारमा दक्ष जनशक्ति उत्पादन धारका लागि प्राविधिक विश्वविद्यालय सञ्चालन वा फरक फरक ढंगले अध्ययनको अवसर दिन सक्दा हाम्रो श्रम बजारमा सहज खपत हुने जनशक्ति उत्पादन हुने कुरामा दुई मत छैन ।

अब दुई वर्ष विज्ञान पढेको विद्यार्थीले ४ वर्षे स्नातक गरिँरहदा ३ वर्षे डिप्लोमा गरेको विद्यार्थीका लागि प्राविधिक सीप, ज्ञानको थप दक्षताका लागि तीन वर्षसम्मको स्नातक कोर्ष, त्यसमा पनि फिल्ड प्रयोगात्मक कार्य आधा समयभन्दा बढी रहने र उसको क्षमता प्रदर्शनका आधारमा मूूल्यांकन गर्ने पद्दतिको विकास गर्नु आजको आवश्यकता हो ।

जसले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्नुका साथै देशभित्र प्राविधिक जनशक्तिको विकासमा सहयोग पुग्नेछ । यसले देशभित्र रोजगारीको अवसरमा नेपाली जनशक्तिलाई खपत गर्नुका साथै विश्व बजारमा हाम्रा जनशक्ति आकर्षक तलब माग गर्न सक्ने हैसियतमा पुग्ने छन् ।

तिमिल्सिना गण्डकी बहुुप्राविधिक शिक्षालयका निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया