स्ववियु निर्वाचन

मुस्ताङमा मत बराबर भएपछि गोलाप्रथाबाट स्ववियु सभापति चयन, एसनिकट अनेरास्ववियू विजयी

सुन्दरकुमार थकाली २०७९ चैत ५ गते १८:५५

जोमसोम ।

मुस्ताङको तेजनिरला जनहित बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ ।


क्याम्पस युनियनको सभापतिमा एकीकृत समाजवादीनिकट अनेरास्ववियूकी अमीशा तिलिजा निर्वाचित भएकी छन् । एमालेनिकट अनेरास्ववियुका एलिस थकालीलाई पराजित गर्दै तिलिजा विजयी भएकी हुन् ।

Advertisement


वाम लोकतान्त्रिक गठबन्धन प्यानलका तर्फबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुले अध्यक्ष पदसहित ३ पदमा विजयी हासिल गरेको छ । नेपाली कांग्रेस निकट नेपाल नेविसंघले ३ पदमा विजयी हासिल ग¥यो । समानुपातिकतर्फ नेविसंघले ४ पद र एमालेनिकट अनेरास्ववियुले १ पदमा विजयी हासिल गरेको स्ववियु निर्वाचन अधिकृत अद्वितीयचन्द्र थकालीले जानकारी दिए ।


क्याम्पसको स्ववियु निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ५ जना स्ववियु पदाधिकारीका लागि आइतबार निर्वाचन भएको हो । ४२ जना मतदातामध्ये ३७ जनाले मतदान गरेका थिए ।

Advertisement

अध्यक्ष पदमा अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार एलिस थकाली र एकीकृत समाजवादी निकट अनेरास्ववियुकी तिलिजाले समान १८/१८ मत प्राप्त गरेका थिए । एक बदर भएको थियो ।

सभापतिका दुबै उम्मेदवारको मत बराबर भएपछि स्ववियु निर्वाचन समितिले गोलाप्रथा अपनाएको थियो । गोलाप्रथामा एकीकृत समाजवादी निकट तिलिजा विजयी भएको घोषणा भएको थियो ।


यसअघि स्ववियु निर्वाचनका लागि सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका एमाले निकट अनेरास्ववियुका दुईजनाले मनोनयनपत्र फिर्ता लिएपछि नेविसंघका सचिव पदकी उम्मेदवार रविना गुरुङ र कोषाध्यक्ष पदका असीम गुरुङ निर्विरोध निर्वाचित भएका थिए । सदस्यहरुमा अनेरास्ववियूका निसल थकाली, काल्देन साङ्मो गुरुङ र प्रीति गुरुङ निर्वाचित भएका छन् ।


उक्त क्याम्पसमा स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपा माओवादी विप्लव समूहनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले लोकतान्त्रिक वाम विद्यार्थी गठबन्धन गरेर स्ववियु निर्वाचनमा होमिँदा नेकपा एमालेनिकट अनेरास्ववियु विद्यार्थी संगठनसँग एकल प्रतिस्पर्धा थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया