
जोमसोम ।
कालिगण्डकी करिडोर (बेनी–जोमसोम) सडक खण्डको अनुगमन तथा निरीक्षण गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतसहित सुरक्षा निकायको टोलीले मुस्ताङको काभ्रेभीरदेखि जोमसोमसम्मको सडक अनुगमन गरेको हो ।
सम्वन्धित स्थानमा सडक निर्माणको काम गर्ने निर्माण कम्पनी तथा निर्माण कम्पनीका प्रतिनिधिलाई सडकको काम प्रभावकारी बनाउन निर्देशनसमेत दिइएको छ । टोलीले शर्मा गजुरमुखी जेभी र गौरी पार्वती कन्ट्रक्सनले सडक स्तरोन्नति गरिहेको बेनी–जोमसोम दोस्रो खण्ड र बेनी–जोमसोम चौथो खण्ड खन्ती कोवाङ सडक खण्ड अनुगमन गरेको हो ।
प्रजिअ केसीले सडक निर्माणबारे निर्माण कम्पनीहरुसँग जानकारी लिएका छन् । उनले सार्वजनिक खरिद ऐन अनुसार चालु आर्थिक वर्षसम्म पछिल्लो थपिएको म्याद सकिने भएकाले सोही अनुसार कार्य गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिए ।
राष्ट्रिय गौरवको सडक अन्तर्गत बेनी जोमसोम सडकको सबैभन्दा जोखिमयुक्त र अप्ठ्यारो सडक काभ्रेभीर खण्डको सडक स्तरोन्नति तीव्र छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीर सडक खण्डमा १ हजार ६ सय मिटर रक कटिङ गरी सडक स्तरोन्नति गरिएको छ ।
अग्लो पडाडको फेंदबाट विस्तार गरिएको काभ्रेभीर सडक २ लेनमा गरी १ हजार ५० सय मिटर ढलान र बाँकी ६ सय मिटर डिबिएसडी प्रविधिको कालोपत्र गरिने शर्मा गजुरमुखी जेभीका महेश कुस्वाहाले जानकारी दिए ।
काभ्रेभीर खण्डमा एकतर्फी आरसिसीको काम करिब ४ सय मिटरमा सकिएको छ । रक कटिङ पनि अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोम सडक अन्तर्गत शर्मा गजुरमुखी जेभीले म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसासम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ ।
२०७४ मा सडक स्तरोन्नति सुरु गरिएको सडकको पटक पटक म्याद थपिएको थियो । ७२ करोडमा सडक स्तरोन्नति तथा कालोपत्र गर्ने जिम्मा पाएको शर्मा गजुरमुखीले फागुनदेखि निर्माणको कामलाई गति दिएको हो । म्याग्दीमा कमजोर भूसंरचनाका कारण बाढी, पहिरोले सडकमा क्षति हुँदा निर्माण प्रभावित हुँदै आएको छ ।
म्याग्दी र मुस्ताङको प्रबेशद्वार काभे्रभीर सडक खण्डमा आरसिसी र डिबिएसडी कालोपत्र सकिएमा मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई निकै सहज हुनेछ । शर्मा गजुरमुखीले मुस्ताङको कैकुखोलादेखि कोवाङसम्मको सडकमा कालोपत्रसहित सडक निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । बेनी–जोमसोम तेस्रो खण्ड अब करिडोर सडकलाई हस्तान्तर गर्ने चरणमा रहेको आयोजनाले बताएको छ ।
कोवाङ जोमसोम सडकको खन्तीदेखि मार्फासम्म सबैजसो स्थानमा कालोपत्र भईसकेको छ । गौरी पार्वती निर्माण कम्पनीले जिम्मा लिएको यो सडकमा अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति छ । मार्फादेखि जोमसोमसम्मको सडकमा भने सडक स्टक्चर मिलाउने, ड्रेन निर्माण गर्ने, फिलिङ गर्ने र जोमसोम बजार क्षेत्रमा करिव १ सय मिटरमा सडक ढलान गरिने बताइएको छ ।
खन्ती जोमसोम १६ किमी सडकको लागत ६२ करोड ४८ लाख छ । निर्माण कम्पनीले खन्तीदेखि मार्फासम्म १६ किमीमध्ये ८ किमी सडकमा दुईतर्फी अस्फाल्ट कालोपत्र गरिसकेको छ ।
नमुना कालोपत्र सडक
बेनी–जोमसोम सडकको मुस्ताङको खण्डको सडकले यहाँ आउने पर्यटकलाई लोम्याउने गरेको छ । बेनी–जोमसोम सडकको मुस्ताङ खण्डमा करिब ३० किमी सडक कालोपत्र भईसकेको छ ।
म्याग्दीको जोखिमयुक्त र अप्ठ्यारो सडक छिचोल्दै मुस्ताङ प्रवेश गर्ने पर्यटक यहाँको कालोपत्र सडक देखेर दंग पर्छन् । आयोजनाको ११ मिटर फराकिलोसडकमा सवारी साधनलाई निकै सहज छ ।
नीलगिरी र धौलागिरी हिमालको काखमा मुस्ताङको कैकु मार्फा सडक निकै मनमोहक देखिन्छ । मुस्ताङ सडक कालोपत्र अन्तिम चरणमा पुगेसँगै मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई निकै सहज भएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया