सम्पादकीय: पोखरी संरक्षण

समाधान संवाददाता २०७९ चैत ६ गते १२:२२

पोखरा ५ को खुँडेपोखरीको नाम फेरिएको छ र भएको छ ठूली पोखरी । केही समयअघि खुँडेपोखरीमा डुबेर स्थानीय एकजना बालकको ज्यान गएको थियो । पोखरी यसै अतिक्रमित थियो । त्यसमाथि असुरक्षित । सुहान केसी नामका बालकको ज्यान गएपछि स्थानीयले पोखरी वरिपरि काँडेबार लगाउनुपर्ने खाँचो महसुस गरे ।

जब कि त्यो काम पहिल्यै गर्नुपर्ने थियो । ढिला भए पनि सुरक्षामा ध्यान दिनु राम्रो हो । त्यसमाथि अहिले पोखरी सरसफाइको काम पनि भएको छ । नागरिक समाज त्यसका लागि जुर्मुराएको छ । पोखरा महानगरपालिकाको पनि ध्यान गएको छ । पोखरा महानगरपालिकाको नाम नै पानीसँग जोडिएको छ, पोखरीसँग जोडिएको छ । यो उपत्यकामा पोखरी अति धेरै संख्यामा थिए ।

अचेल छैनन् । पोखरी जति अतिक्रमणमा परे । कति पोखरी थिए भनेर महानगरपालिकाले आधिकारिक रुपमा अध्ययन गरी तथ्यांक जुटाउन आवश्यक छ । जहाँजहाँ अतिक्रमण भएका छन्, तिनको खोजी गरी फेरि पुनर्जीवन दिनु आवश्यक छ । पोखरी सार्वजनिक सम्पत्ति हुन् र यसले सभ्यता र संस्कृतिसँग पनि साइनो राख्छ ।

Advertisement

पशुपालनको युगमा भैंसीको आहालका लागि वा गाईभैंसी र भेडाबाख्राका लागि पानी खुवाउन पनि पोखरी चाहिन्थ्यो । कृषिमा सिँचाइका लागि पनि पोखरी उपयोग हुन्थ्यो । सहरीकरणले कृषियुगको अन्त्यजस्तै भएको छ । तर पोखरीको आवश्यकता औचित्य सकिएको छैन । जमिनमा पानी पुनर्भरणका लागि पनि पोखरी चाहिन्छ ।

स्वच्छ हावापानी र वातावरणका लागि पनि पोखरी चाहिन्छ । खुला ठाउँ, पार्क, पोखरीहरु भनेका सहरका गहना हुन् । त्यही यथार्थलाई बुझेर दसकअघिमात्रै दिल्लीमा ६५ सय पोखरीहरुको पुनर्निमाण गरिएको थियो । पोखरी नै पोखरीको सहर पोखरामा चाहिँ पोखरीहरु पुरिने, नासिने र मासिने हुनु भनेको पहिचानमाथिकै धावा हो ।

Advertisement

खुँडे पोखरीबाट सुरु भएको सरसफाइ र संरक्षण पोखराका अरु थुप्रै पोखरीहरुसम्म पुग्नुपर्छ । त्यसो त तालहरु नै पनि संरक्षणको अभाव खेपिरहेका छन् । ताल, पोखरी, नदी, खोला वा मुहान् जेजे हुन्छन्, पानीका स्रोतहरुको संरक्षण आवश्यक छ । त्यो हाम्रो संस्कृति पनि हो ।

पोखरीहरुलाई फोहोर थुपार्ने ठाउँ बनाएर खासमा हामीले असभ्यता प्रकट गरिरहेका छौं । नागरिक र नगरपालिका दुवै सच्चिनुपर्छ । घर वरिपरिका ताल, तलैया र पानीका स्रोतहरुको संरक्षणमा नगरपालिकाको मात्रै मुख ताकेर पनि हुँदैन । नागरिकहरुले पनि योगदान गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया