करणसहित ४ क्रिकेटरलाई नगदसहित सम्मान

पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई सम्मान गरेको छ ।
मञ्च र एकेडेमीले उनीहरुलाई एकै कार्यक्रममा छुट्टा–छुट्टै सम्मान गरेको हो । गत चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउन्डमा पुर्याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी (बागलुङ) लाई मञ्चले नगद २० हजार सहित सम्मानपत्रले सम्मानित गरेको छ ।
यू–१९ विश्वकपमा पुर्याउन भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (कास्की), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर)लाई जनही नगद ५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरियो । उनीहरुलाई पोखरा क्रिकेट एकेडेमीले चारैजना खेलाडीलाई जनही नगद ५/५ हजार प्रदान गरी सम्मानित गरेको छ ।
आइसिसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए भने सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु–१९ का ३ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनीहरुलाई मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सल्लाहकारहरु अशोक पालिखे, नारायण कार्की, मञ्जुलमान श्रेष्ठ, क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवर, उपाध्यक्ष सन्तोष श्रेष्ठल गायतले नगद र सम्मानपत्र हस्तान्तरण गरे ।
मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन खेलेको भूमिका गर्वको विषय रहेको बताए । ‘अब उहाँहरू सार्वजनिक व्यक्तित्व भइसक्नुभयो । अब उहाँहरुमा जिम्मेवारी बढेको छ,’ उनले भने ।
मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जीवनले दिएको संस्कारलाई बिर्सन नहुने बताए । ‘क्रिकेटले यतिबेला ठूलो उपलब्धि हासिल गरेको छ ।
यो हाम्रा लागि गौरवको विषय हो । खेलाडीले आफ्नो अनुशासनलाई कायम गर्दै आफूलाई समाजको विकासमा रुपान्तरणमा अघि बढाउनुपर्छ,’ उनले भने ।
मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासान सँगै प्रशिक्षकहरुको निर्देशनलाई पालना गर्दै अघि बढ्नुपर्ने औंल्याए । कार्यक्रममा पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरले नेपालले प्राप्त गरेको सफलताले गौरवान्वित भएको बताउँदै खेलाडीको सम्मानमा आफूहरु सरिक भएको बताए ।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, नेपाल क्रिकेट संघ गण्डकीका अध्यक्ष देवन्सन प्रजु, कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको सहभागिता थियो ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया