बाल हितकारी २५ वर्षमा

समाधान संवाददाता २०७९ चैत ८ गते १७:३२

पोखरा ।
बाल हितकारी परियोजना (सिडब्लुएसएन)नेपालले रजत वर्ष मनाएको छ । स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले स्मारिका प्रकाशन गरेको छ । पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले राज्यका निकायले गर्नु पर्ने धेरै काम सामाजिक संघ, संस्थाले गरेको बताए ।

भौतिकका अलवा मानवीय विकासलाई एकै साथ लैजान सके सन्तुलित विकास हुने उनको तर्क छ । उनले वडा कार्यालयले भौतिक क्षेत्रमा ६० र मानवीय क्षेत्रको विकासमा ४० प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए ।

‘वडा कार्यालयले सामाजिक संघ, संस्थासँग नजिक रहेर विकास निर्माणका काम अगाडि बढाएका छौं,’ वडा अध्यक्ष बानियाँले भने, ‘बालबालिका, महिला, अपांगता भएका व्यक्ति लगायत लक्षित समूहको शिक्षा स्वास्थ्यको अलवा मानवीय विकासको क्षेत्रमा संघ, संस्थाले काम गरेका छन् ।’

Advertisement

उनले संघ, संस्थामार्फत् अपांगता भएका व्यक्ति, गरिब तथा विपन्न वर्गका समुदायको शिक्षादीक्षा र जीवन यापनमा सहयोग पुगेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले राज्यका निकायले सबै वर्ग र समुदयलाई शिक्षाको मुल धारमा ल्याउन नसकेको अवस्थामा सामाजिक क्षेत्रको प्रयासले लक्षित समूहको शिक्षा र स्वास्थ्यमा सहयोग रहेको बताए ।

Advertisement

उनले उमेर समूहका बालबालिकाको विद्यालय छोड्ने दर घटाउन र विद्यालय बाहिर हुन नदिन सामाजिक संघ, संस्थाको योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत मोहन काफ्ले, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका स्रोत व्यक्ति बद्रीप्रसााद वाग्ले, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत शरद गुरुङ, दातृ संस्था किडासाका राष्ट्रिय निर्देशक जेरीमी साउथन, संस्थाका अध्यक्ष गोविन्दराज पहारी, उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुर भट्टराई, संस्थाको जीवन उपयोगी सिप शिक्षा कार्यक्रमका संयोजक संगीता भण्डारी, सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइराला, अपांगता सञ्जाल पोखरा १५ का अध्यक्ष गंगाबहादुर खड्का, ज्योति बाल क्लबका अध्यक्ष आशीष परियार, शिवशक्ति बाल क्लबका अध्यक्ष रचना विक लगायतका बक्ताले संस्थाले सामाजिक क्षेत्रमा गरेको कामका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया