सम्पादकीय: क्षयरोग निदानको दर बढाऊ

समाधान संवाददाता २०७९ चैत १० गते १२:००

क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रूपमा यसलाई लिने गरिएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समयबाटै आजसम्म भएको पाइन्छ । हरेक वर्षको मार्च २४ विश्व क्षयरोग दिवस मनाइन्छ । ‘होः हामी क्षयरोग अन्त्य गर्छौ’भन्ने नाराका साथ सो दिवस मनाई रहँदा नेपालको क्षयरोगको तथ्याकं झन् भयावह छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालको जनसंख्याको ४५ प्रतिशत क्षयरोगबाट संक्रमित भएको अनुमान छ । हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने अनुमान गरिएको छ । तर करिब ३७ हजार ८सय ६१ बिरामी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् ।

नेपालमा क्षयरोगी पत्ता लगाउने दर ५८ प्रतिशत छ । नेपालमा १ लाखमा १ सय २९ संक्रमित भएको पाइएको छ । प्रत्येक दिन ४ जनाको दरले करिब १७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरू धेरैजसो उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ ।

Advertisement

गण्डकी प्रदेशमा प्रत्येक वर्ष ५ हजार ६ सय ७७ क्षयरोगका बिरामी भएको अनुमान छ । आर्थिक वर्ष २०७८/०७९मा २ हजार ४ सय ४७ बिरामी उपचारमा आएका छन् । ३ हजार २ सय ३० क्षयरोगका बिरामीहरुहरु उपचारको पहुँचमा आउन सकेका छैनन् । त्यस्ता बिरामीले समुदायमा लुकीछिपी रोग सारेको हुन सक्छन् ।

समयमै बिरामी पत्ता लगाएर उपचारको दायरामा नल्याए भयाभह अवस्था ल्याउँछ । समुदायमा लुकीछिपी अरुलाई रोग सारी रहेको पत्ता लगाउन कठिन छ । लुकीछिपी रोग सार्ने बिरामीको कारण क्षयरोग नियन्त्रण अत्यन्तै जटिल अवस्थामा गुज्रीएको छ ।

Advertisement

राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रम हो । सन २०५०सम्ममा क्षयरोग विहीन विश्वको परिकल्पनालाई साकार पार्न नेपाल समेत सक्रियता पूर्वक लागेको छ । नेपालले क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई अगाडी बढाएको छ । क्षय रोग अन्त्यको राष्ट्रिय रणनीति योजना (२०७८/०७९ २०८२/०८३) अगाडी सारेको छ ।

क्षयरोगको निदान र उपचार सेवा देश भरीका सबै स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन् । हरेक क्षयरोगीले १ वर्षमा १० देखि १५ जना स्वास्थ्य मानिसलाई क्षयरोग सार्न सक्छ । स्वास्थकर्मीका प्रत्यक्ष निगरानीमा उपचार (डट्स) विधि नीतिगत रुपम कार्यान्वयनमा ल्याएको छ । बिरामीले ६ महिनासम्म औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ, तथापि क्षयरोग बाट जोगिनु जरुरी छ ।

सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ । क्षयरोग निदानको दर बढाउने र क्षयरोग सर्ने प्रक्रियालाई कम गर्दै क्षयरोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउनु पर्छ । अहिलेदेखिनै सक्रियता पूर्वक नलागेसम्म नेपाललाई सन २०५०सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउन सकिन्न ।

तपाईको प्रतिक्रिया