‘कामचलाउ’ सरकारले गरेका निर्णय नयाँ सरकारले बोक्दैन : पाण्डे

समाधान संवाददाता २०७९ चैत ११ गते १६:३६

पोखरा । नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्र पाण्डेले एमाले नेतृत्वको कामचलाउ सरकारले गरेका निर्णयका बारेमा अब बन्ने सरकारले आर्थिक दायित्व बहन नगर्ने बताएका छन् । शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् । पाण्डेले कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न समेत सरकारको ध्यानाकर्षण गराए । एमालेका खगराज अधिकारी नेतृत्व सरकारमा सहभागी माओवादी केन्द्रले शुक्रबार सरकारलाई दिएका विश्वासको मत फिर्ता लिएको छ ।


‘आज हामी नेपाली राजनीतिको फरक दृष्यमा प्रवेश गरेका छौं। निर्वाचनका बेलामा राजनीतिक दलहरुबीच भएका तालमेल, त्यसपछि बनेको सरकारमा भएको समीकरण, झण्डै दुई महिनापछि पुनः अर्को गठबन्धन हुँदै देशको राजनीति पुनः सही ‘लिक’ मा प्रवेश गरेको छ,’ पाण्डेले भने, ‘राजनीतिको मर्म र भावना अनुसार नै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परिसकेको छ। बहुमत गुमाइसकेर अल्पमतमा परेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारको ध्यानाकर्षण गराउँदछु ।’
अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्न उनले मुख्यमन्त्री अधिकारीलाई अनुरोध पनि गरेका छन् । कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्न, कर्मचारी नियुक्ति, सरुवा–बढुवा लगायतको काम गर्नु न्याय संगत नहुने पनि उनले बताए । ‘प्रदेशलाई आर्थिक लगायतका दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य हुन्न,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया