सुविधा थप्दै जिपी कोइराला उपचार केन्द्र

समाधान संवाददाता २०७९ चैत १२ गते ११:३६

दमौली ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतींगा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

हाल उपचार केन्द्रको नाममा ७ सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताए । अस्पतालले श्वासप्रश्वासको विशेषज्ञ सेवा सुरुआत गरेको छ । पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ स्मृति दिवसको अवसर पारेर अस्पतालले विशेषज्ञ चिकित्सकबाट श्वासप्रश्वासको उपचार सेवा सुरु गरेको हो ।

Advertisement

हालसम्म जनरल अस्पतालका रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्देश्यबमोजिम श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङलाई नियुक्त गरिएको छ ।

उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । अस्पतालमा दैनिक २ सय ५० भन्दाबढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०/५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ ।

Advertisement

उपचार केन्द्रले विभिन्न रोगका उपचार सेवा थप गर्दै गइरहेको छ । केही समय अगाडि मात्रै उपचार केन्द्रमा थाइराइड परीक्षण सेवा सुरु भएको थियो । केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया गरिरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आएका छन् ।

अस्पतालमा ३ विशेषज्ञ र ९ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रिया लगायतका सेवा दिइरहेको छ ।

५० श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया