मुस्ताङका ४ तहका ५ ठाउँमा माटो परीक्षण शिविर

सुन्दरकुमार थकाली २०७९ चैत १४ गते ११:२९
मुस्ताङको लोघेकर दमोदरकुण्ड–१ चराङमा माटोको नमुना परीक्षण गर्दै कृषि टोली । तस्बिर: कृषि ज्ञान केन्द्र मुस्ताङ

जोमसोम ।
खेतीयोग्य जमिनको गुणस्तर मापन गर्न मुस्ताङको ४ स्थानीय तहका ५ ठाउँमा माटो शिविर भएको छ । माटोको अवस्था र माटोमा भएका तत्व नाइट्रोजन, फस्फरस र पोटासको अवस्थाका साथै माटोमा हुने अम्लियपना र क्षारीयपनको मापन गर्न परीक्षण शिविर चलाइएको हो ।

जिल्लाका कृषकलाई उपयुक्त परामर्श दिई खेतीपाती गर्न ‘स्थानीय तहमा कृषि शिविर सञ्चालन’ कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र मुस्ताङले माटोको नमुना परीक्षण शिविर आयोजना गरेको हो ।

कृषि ज्ञान केन्द्र मुस्ताङको वार्षिक स्वीकृत कार्यक्रम २०७९/०८० अन्तर्गत माटोको नमुना परीक्षण गर्न २ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । शिविरबाट माटोका २३३ नमुना परीक्षण गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

Advertisement

खेतीपातीको अनुकुल मौसमसँगै जिल्लाको लोमान्थाङ गापाको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको चराङ, घरपझोङको स्याङ र थासाङ गाउँपालिकाको कुञ्जो र टुकुचेमा अलग/अलग माटोको नमुना परीक्षण शिविर आयोजना गरिएको थियो ।

माटोको नमुना परीक्षण गर्ने मिनी प्रयोगशाला ल्याब कृषि ज्ञान केन्द्रले गत वर्ष स्थापना गरेको थियो । तर, दक्ष जनशक्ति नहुँदा मुस्ताङमा मिनी माटो परीक्षण ल्याब भएर पनि माटो परीक्षण हुन सकेको थिएन ।

Advertisement

माटोको २३३ वटा नमुना परीक्षण गर्दा अधिकांश ठाउँको जमिनमा माटोमा क्षारीयपन

नमुना माटो परीक्षणका लागि मल तथा माटो परीक्षण प्रयोगशाला गण्डकी प्रदेशबाट माटो विज्ञ उमेश सापकोटा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मुस्ताङबाट माटो विज्ञ नेत्रप्रसाद भट्ट शिविरमा खटिएका थिए ।

यसअघि कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लामा माटोको नमुना परीक्षणका लागि कृषकहरुको उपस्थितिमा माटो परीक्षण अभिमुखीकरण कार्यक्रम राखेको थियो ।

नमुना माटो परीक्षण शिविरमा सम्बन्धित कृषकको खेतीयोग्य जमिनको नमुना माटो परीक्षण गरी माटोको अवस्था र कृषि विज्ञमार्फत आवश्यक सल्लाह र परामर्श दिइएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।

माटोको २३३ वटा नमुना परीक्षण गर्दा अधिकांश ठाउँको जमिनमा माटोमा क्षारीयपन देखिएको कार्यालय प्रमुख बस्ताकोटीले उल्लेख गरे ।

नमुना परीक्षणमा जल्लाको थासाङ गाउँपालिकाका केही स्थानका कृषकबाहेक अन्य ४ पालिकाका कृषकहरुले कुनै पनि रसायनिक मल प्रयोग नगरेकाले नाइट्रोजन, फस्फरस र पोटासको मात्रा कमी देखिएको कार्यालय प्रमुख बस्ताकोटीले उल्लेख गरे ।

मुस्ताङका केही स्थानका कृषकहरुले घर पालुवा पशु चौपायाहरु गोरु, झोपा, भेडा÷च्यांग्रा लगायतको गाबर मल राम्रोसँग नपाक्दै खेतीबारीमा प्रयोग गर्दा खेतीपातीलाई चाहिने आवश्यक खाद्य तत्व बिरुवालाई प्राप्त नभएकाले त्यस सम्बन्धी जानकारी कृषकलाई शिविरमा सुझाइएको छ ।

मुस्ताङका अधिकांश कृषक कृषिमा निर्भर रहे पनि कृषिजन्य वस्तु उत्पादनमा ह्रास आइरहेका बेला कृषकका लागि माटो परीक्षण शिविर ठूलो राहत मिलेको स्याङका वडाध्यक्ष फलेन्द्र थकाली बताए । ‘खेतीपाती गर्दा जुनसुकै ठाउँमा पनि गर्दै आइरहेका छौं,’ वडाध्यक्ष थकालीले भने, ‘माटोको परीक्षणपछि मात्रै माटो सुहाउँदो खेतीपाती गर्नुपर्ने रहेछ भन्ने थाहा पाइयो ।’

आफ्नो खेतबारीको माटो कस्तो खालको छ भन्ने नै थाहा नपाई खेतीपाती गर्ने कृषकलाई शिविरले उपयुक्त परामर्श दिएको वडाध्यक्ष थकालीको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया