‘सी’ परीक्षार्थीलाई शुभकामना र सुझाव

शिवलाल धिताल २०७९ चैत १५ गते १६:३६

प्यारा भाइबहिनीहरू !
२०७९ सालको एसइई (सी)परीक्षा २०७९ चैत १७ गते सुरु भई २९ गते समाप्त हुने परीक्षा तालिका अनुसार तिमीहरु मानसिक रुपले अवश्य पनि तयार हुँदै छौं ।

पाश्चात्य देशहरुमा केही दशकपहिलेदेखि नै सफलता पूर्वक लागु हुँदै आएको अक्षरांक (ग्रेडिङ) प्रणाली हाम्रो देशमा पनि २०७२ सालको एसएलसी परीक्षादेखि लागु हुँदै आएको हो । तै पनि सुरुमा परिकल्पना गरिएको समग्र ग्रेडिङ प्रणालीलाई परिमार्जन गरी प्रत्येक विषयको छुट्टाछुटै ग्रेडिङ प्रणालीको अवलम्बन गरिएपछि नतिजा प्रणाली बढी सहज र व्यावहारिक सावित हुँदै गएको हामी सबैलाई महसुस भइसकेको छ ।

कक्षा ९ देखि १२ सम्मको शिक्षा माध्यमिक शिक्षामा समावेश गरेर कक्षा १२ सकेपछि एसएलसी परीक्षा सञ्चालन गर्ने प्रावधान शिक्षा नियमावलीमा उल्लेख भइसकेको अवस्थामा कक्षा १० पछि गरिने एसइई परीक्षाको सञ्चालन पूर्ण रूपमा प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने नियमावलीमा स्पष्ट उल्लेख भएकोमा राष्ट्रिय परीक्षा बोर्डले ‘सी’ परीक्षालाई पुरानै पद्दतिको एसएलसी परीक्षा जस्तै संघ सरकारकै मातहतमा रही सञ्चालन गरिनु औचित्यहीन देखिन्छ । यद्यपि केही वर्ष पहिलेदेखि प्रश्नपत्र भने प्रदेश अनुसार बेग्ला बेग्लै लागु गर्ने परिपाटी छ ।

Advertisement

तसर्थ यथाशीघ्र ‘सी’ परीक्षा प्रदेश सरकारको मातहतमै सञ्चालन गरी स्वायत्तता प्रदान गरिनुपर्ने र कक्षा १२ पछि हुने एसएलसी परीक्षा संघ सरकारको मातहतमा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परिपाटी बसाल्नु अत्यन्तै जरूरी र अपरिहार्य छ ।

परीक्षा भगवानको आशीर्वाद र भाग्यमा भर पर्ने कुरा बिल्कुलै होइन । परीक्षामा सफलता प्राप्त गर्न आत्मविश्वास, जाँगर र लगनशीलताको साथै प्राविधिक सिपको भूमिका महत्वपूर्ण हुन्छ । प्रभावकारी र दीर्घकालीन सिकाइका लागि डेढ/दुई घण्टा पढेपछि करिब ५०/६० मिनेट विश्राम गर्नुपर्छ ।

Advertisement

परीक्षा भगवानको आशीर्वाद र भाग्यमा भर पर्ने कुरा बिल्कुलै होइन । परीक्षामा सफलता प्राप्त गर्न आत्मविश्वास, जाँगर र लगनशीलताको साथै प्राविधिक सिपको भूमिका महत्वपूर्ण हुन्छ

धेरैजसो विद्यार्थी लामो समय त्यत्तिकै खेर फाल्छन् । रातमा पनि दुई/तीन घण्टामात्र सुतेर परीक्षा आउनासाथ रातभर, दिनभर लगातार घोटिएर पढ्छन् । यस्तो पढाइ वास्तवमा अति हानिकारक हुन्छ । वास्तवमा मानव मस्तिष्कको सिकाइको पनि सीमा हुन्छ । एकैपटक मस्तिष्कले धेरै विषयवस्तु दीर्घकालीन रूपमा ग्रहण गर्न असमर्थ हुन्छ ।

एउटा व्यावहारिक र चलाख विद्यार्थीले त वर्षभरिकै पाठको तयारी सन्तुलित किसिमले गर्दै जानुपर्छ र पाठका महत्वपूर्ण फुटनोटहरू पनि लिखित रूपमा तयारी गर्दै जानुपर्छ । ती बुँदालाई स्मरण गर्दै जानुपर्छ । परीक्षाको समयमा बोर्ड परीक्षा सुरु हुने सप्ताह आएपछि परीक्षार्थीहरू बेलुकी १० बजे नै सुत्नु अति बुद्धिमानी हुन्छ । ६ घण्टाको सुताइ पूर्ण हुने हुँदा बिहान ४ बजे नै उठेर जाँच दिन जानुअघि आफूले तयार गरेको सबै फुटनोट आदि बुँदालाई स्मरण हुने गरी दोहोर्‍याएर पढी गए त्यो सिकाइले परीक्षामा ठूलो सहयोग पुर्‍याउँछ ।

खास गरी परीक्षा दिन जाँदा धेरै खाना नखाई हल्का खाना खाने, गह्रौ, बढी कसिएका र बाक्ला भद्दा कपडा नलगाई खुला, पातला र हल्का खालका कपडा लगाउनु राम्रो हुन्छ । परीक्षाको समयमा एकोहोरो घोटिएर लगातार पढिरहनु भन्दा पढेको कुरालाई सम्झँदै मौखिक, लिखित, प्रयोगात्मक जुन किसिमको भए पनि सरल र सहज किसिमले प्रस्तुत गर्न सक्नु नै परीक्षामा सफलता प्राप्त गर्न सक्नु हो ।

एउटा विद्यार्थीको जीवनमा सबभन्दा महत्वपूर्ण कुरा नै परीक्षाको समय सर्वोत्तम किसिमले सदुपयोग गर्न सक्नु हो । परीक्षाका लागि केही व्यावहारिक सुझावहरू यस प्रकार याद गर्ने नै छौं ।

१.बाह्य परीक्षामा परीक्षकहरूले थोरै समयमै उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुँदा परीक्षामा सुन्दर, गोलाकार अक्षर बनाई केरमेट नगरी सफासँग उत्तर लेख्नुपर्छ ।

२.परीक्षामा प्रश्नको निर्देशन राम्रोसँग पढेर मात्र लेख्न सुरु गर । पहिला केही नसोची लेख्न थाल्ने र पछि एक पेज, आधा पेज लेखेपछि काटेर अर्को प्रश्न गर्नु बुद्धिमानी ठहरिँदैन । यसले समयको बर्बाद र मानसिक तनाव मात्र बढाउँछ ।

३. जानेको प्रश्न पहिले गर्नुपर्छ र गरेका प्रश्नमा रेखाचिन्ह (ठिकचिन्ह्) दिँदै जानुपर्छ । नेपाली, अंग्रेजी जस्तो भाषा विषयको परीक्षामा पहिला व्याकरणको प्रश्न भ्याएर मात्र अरु प्रश्नको उत्तर लेख्नु बढी बुद्धिमानी हुनेछ ।

४.परीक्षाको समयमा तिमीले उत्तम कलमको छनोट गर्नुपर्छ साथै आफूलाई चाहिने ज्यामिति बक्स, क्याल्कुलेटर आदि आफैले साथमा लिएर जानुपर्छ । प्रवेशपत्र पनि जतनसाथ ज्यामिति बक्स आदिमै सुरक्षित राख्नुपर्छ ।

५. परीक्षाको समयमा प्रवेशपत्र तथा उत्तरपुस्तिकाको प्रथम पेजमा दिएका निर्देशन राम्रोसँग पढ्नुपर्छ र उत्तरपुस्तिकाको प्रथम पेजमा भर्नुपर्ने सबै निर्देशन केरमेट नगरी सफासँग भर्ने गर्नुपर्छ र तेस्रो पेजबाट मात्र उत्तर लेख्न सुरु गर्नुपर्दछ ।

६. उत्तर पुस्तिकामा घटीमा डेढ इन्चको मार्जिन राख्नु अनिवार्य हुन्छ तर मार्जिन स्केलले तानिरहनु आवश्यक छैन, कापी भाँचिदिए पनि हुन्छ ।

७. गर्नु भनेको सबै प्रश्न भ्याउने गरी परीक्षा लेख्नुपर्छ । कुनै प्रश्नको उत्तर राम्रो नआए पनि केही लेख्ने प्रयास गर । ज्यादै छिटो परीक्षा सक्नु राम्रो कुरा होइन । दिएको समयभन्दा ५–१० मिनेट पहिला उत्तर भ्याएर एकपटक सरसर्ती दोहो¥याएर मात्र उत्तर पुस्तिका बुझाउनु बढी राम्रो हुन्छ ।

८. गणित, भूगोल, विज्ञानजस्तो चित्र आदि बनाउनुपर्ने विषयमा सिसाकलम प्रयोग गर्नुपर्दछ । थप कपीमा सिम्बल नम्बर राम्रोसँग लेखेर स्टिचिङ गरी बुझाउनुपर्छ ।

९. कुनै कारणवश कुनै दिनको परीक्षा बिग्रियो भने त्यसलाई सम्झिएर टाउको दुखाइ राख्नु हुँदैन । त्यसलाई बिर्सिएर भोलिपल्टको परीक्षाको लागि राम्रो तयारी गर्नु बढी बुद्धिमानी हुनेछ ।

१०. अन्ततः आत्तिएको मानसिकताले जीवनमा कुनै काममा पनि सफलता प्राप्त गर्न सकिदँैन । तसर्थ परीक्षाहलमा जाँदा ढुक्क र आनन्दकासाथ स्थिर मन गरेर प्रवेश गर्नुपर्छ । जसले नडराई आनन्दसाथ परीक्षा लेख्छ, त्यस्ता व्यक्तिले राम्रो सफलता प्राप्त गर्छ । अन्तत अंग्रेजीमा भन्नु पर्दा तलको २ सीप मिनिङफुल माइन्ड स्कीलफुल ह्यान्डस प्रयोग गरी परीक्षा देऊ, सफलता अवश्य मिल्नेछ ।

भाइबहिनीहरु !
हामी विद्यार्थीहरूले भावनात्मक समृद्धिका लागि विद्या दातृ सरस्वती देवीको आराधना र उपासना गर्ने बानी बसाल्न सक्यौं भने हामीले मानसिक शान्ति प्राप्त गर्न सक्छौ र परीक्षामा ढुक्क र निडरसाथ उत्तर लेख्न सक्षम हुनेछौं । सरस्वतीको आशीर्वाद सबैलाई प्राप्त भई ‘सी’ परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्न सफलता मिलोस् भन्ने सबैमा हार्दिक शुभकामना ।

लेखक गण्डकी आवासीय उच्च मावि पोखराको पूर्वप्राचार्य हुन्

तपाईको प्रतिक्रिया