मुस्ताङका पदमार्ग संकटमा

समाधान संवाददाता २०७६ जेठ ९ गते ११:५७

सुन्दरकुमार थकाली
मुस्ताङ

मुस्ताङमा विदेशी पर्यटक लक्षित दर्जनाैं वैकल्पिक पदमार्ग अन्धाधुन्ध सडक विस्तारसँगै संकटमा पर्न थालेका छन् । ३ वटै तहका सरकारले पदमार्ग मिचेर अन्धाधुन्ध सडक विस्तार गर्न थालेपछि पदमार्गमा समस्या देखिएको हो ।

राउन्ड अन्नपूर्ण पदमार्गका लागि बेंसी सहरदेखि मनाङ हुँदै मुस्ताङ झरेर कास्कीको वीरेठाँटी पुग्छन् विदेशी पर्यटक । यस्तै पोखरादेखि म्याग्दी हुँदै मुस्ताङको लोमान्थाङसम्म पदमार्गमा रमाउँदै विदेशी पर्यटक आउजाउ गर्थे ।

Advertisement

गुमनाम गोरेटो बाटो ,प्राकृतिक सौन्दर्यता, हिमाल, तालतलैया र वन्यजन्तु अवलोकन पदमार्ग यात्राका क्रममा पर्यटकले देख्न र रमाउन सक्थे । तर नामै चलेको राउन्ड अन्नपूर्ण पदमार्गको औचित्य नै समाप्त हुने खतरा बढेको छ ।

मुस्ताङमा पनि पदमार्ग मासिने क्रम बढेको छ । विकासका लागि सडक महत्वपूर्ण भए पनि पदमार्ग मासिने गरी अन्धाधुन्ध सडक खन्दा पर्यटकीय गन्तव्य र यसको महत्वसमेत घट्दै गएको छ । सरकारले पर्यटकलाई लक्षित गरी विभिन्न प्रकारका कार्यक्रम ल्याए पनि धमाधम पदमार्ग मासिँदै जाँदा नेपालकै पर्यटन अवस्था संवेदनशील बनेको छ ।

Advertisement

मुस्ताङमा २०६० सालमा नेपाली सेनाले सडक खनेपछि यहाँका पदमार्ग मासिन थालेका हुन् । करिडोरले म्याग्दीदेखि मुस्ताङसम्म पनि दर्जनौं पदमार्ग बिग्रिएका छन् । जोमसोमदेखि कोरला राजमार्गको ग्रामीण पदमार्गलाई समेत यसले असर पु¥याएको छ । यसरी सडक विस्तार हुँदा पदमार्गका अवशेषसमेत नष्ट हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को चिन्ता छ ।

मुस्ताङका पदमार्गमध्ये ७० प्रतिशत पदमार्ग सडक विस्तारले बिग्रिएका छन् । अक्सर विदेशी पर्यटक पैदलयात्रा गर्न रुचाउँछन् । पदमार्ग भएको ठाउँमा सडकले छोएपछि सवारी साधनको धुलोमैलो, ध्वनि प्रदुषणले विदेशी पर्यटकको पदयात्रालाई प्रतिकूल बनाएको एक्याप जोमसोम कार्यालय प्रमुख तुलसी दाहालको भनाइ छ ।

कार्यालय प्रमुख दाहालले विश्वकै १० उत्कृष्ट पदमार्ग अन्तर्गतको अन्नपूर्ण पदमार्गको संरक्षण र संवद्र्धन तथा दिगो विकासका लागि ३ तहको सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको उल्लेख गरे । सरकारले नेपालको पर्यटन र पदमार्गको दिगो विकासमा कञ्जुस्याइँ गरिए पाएको ख्यातिसमेत गुम्ने उनले बताए ।

पर्यटन व्यवसायी राकेश भट्टचनले पदमार्गमा आउने विदेशी पर्यटकले मुस्ताङको पर्यटनक्षेत्र अघि बढेको बताए । उनले पछिल्लो समय सडक विस्तार भएपछि आन्तरिक तथा भारतीय पर्यटक वृद्धि भए पनि यहाँको पर्यटन उद्योगमा राम्रो संकेत नदेखिएको उनको चिन्ता थियो ।

तपाईको प्रतिक्रिया