तनहुँ–१ को उपनिर्वाचनमा एमालेबाट ६ जना सिफारिस

सञ्जय रानाभाट २०७९ चैत १७ गते १५:४२

सञ्जय रानाभाट, पोखरा ।
मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट प्रधानमन्त्री हुने भन्दै निर्वाचन लडेर प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल अन्तिम समयमा राष्ट्रपति बने । पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेसँग राष्ट्रिय राजनीतिमा फेरबदल भयो । पुस १० गते एमाले लगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनसँगै कांग्रेससहितको गठबन्धन बनाएपछि राजनीतिमा हेराफेरी भएको छ ।

पौडेल राष्ट्रपति बनेसँग रिक्त रहेको तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचन नजिकिँदै गर्दा कुनकुन दलबाट को उम्मेदवार बन्लान् भन्ने कौतुहल बनेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि २० गते निर्धारण गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला समितिले १२ जना आकांक्षीको नाम प्रदेशलाई सिफारिस गरेकामा केन्द्रले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले कांग्रेस पार्टी परित्याग गरेका स्वर्णिम वाग्लेलाई उठाउने तयारी गरेको छ ।

Advertisement

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट तनहुँमा आफ्नो प्रभुत्व कायम राख्न कांग्रेसकै गोविन्द भट्टराई सर्वसम्मत उम्मेदवार हुने प्रबल सम्भावना पनि छ । तसर्थ माओवादी र नेकपा एसबाट उम्मेदवार नहुन सक्छन् । एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेबिच त्रिपक्षीय भिडन्ता हुने सम्भावना छ ।

गठबन्धन भित्र टिकटमै मतभेद
सत्ता गठबन्धनमा सामेल दलले आफ्नो पार्टीले टिकट नपाए कार्यकर्ता, मतदातामा नकारात्मक असर पर्ने र सघाउन पनि नसकिने बताउँदै आएका छन् । यसलाई चिर्न केन्द्रीय नेताहरुले राष्ट्रिय नेतालाई नै तनहुँ १ मा उम्मेदवार उठाउने तयारी गरेको स्रोत बताउँछ । तनहुँ–१ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसमेतको नाम उम्मेदवारीको चर्चामा छ ।

Advertisement

खनाललाई गठबन्धनबाट साझा उम्मेदवार बनाएर चुनाव लडाउनेसम्मको छलफल भएको एकीकृत समाजवादीका तनहुँ अध्यक्ष श्रीराम कार्कीले बताए । उनका अनुसार केही दिनअघि पार्टी अध्यक्ष माधव नेपालसँगको भेटमा यस्तो वार्ता भएको हो । ‘पार्टी अध्यक्षज्यूले पनि वरिष्ठ नेता खनाललाई गठबन्धनका दलबिच साझा धारणा बनाएर लडाउने कुरा गर्नुभएको रहेछ ।

हाम्रो माग पनि यही थियो,’ कार्कीले भने, ‘तनहुँ–१ को निर्वाचनमा उहाँ नलडे हाम्रै पार्टीका अर्को कोही नेताले टिकट पाउनुपर्छ । नत्र विद्रोह गर्छाैं ।’ मंसिर ४ को निर्वाचनमा इलाम–१ बाट खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । प्रधानमन्त्री भइसकेका खनाललाई पुनः संसदमा ल्याउनुपर्ने भन्दै गठबन्धनभित्रै बहस सुरु भएको छ ।

‘हाम्रो स्पष्ट धारणा छ । समाजवादीले गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा केही पनि पाएन । हामी सहयोग गर्दैमात्र हिँड्यौं । स्थानीय, प्रदेश र संघमा भयौं । यसकारण दायाँबायाँ नगरी एकीकृत समाजवादीले पाउनुपर्छ,’ अध्यक्ष कार्कीले भने, ‘उपनिर्वाचन लड्न गण्डकीका सचिव तथा पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगको उपाध्यक्ष विद्या ढकाल, शंकर नारायण श्रेष्ठ, निर्वतमान सद कलिला खान र म आफू स्वयं आकांक्षी छु ।’

प्रतिनिधिसभातर्फ समाजवादीले सिट नपाउने अवस्थामा माथिबाट अरु पार्टीलाई भोट हाल भनेर निर्णय र निर्देशन भए पनि आँखा चिम्लिएर लागु गर्ने पक्षमा आफूहरु नभएको उनको भनाइ छ । ‘पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुलाई न्याय हुँदैन भने केन्द्रको आदेश सधैँ मान्नुपर्छ भन्ने पनि छैन,’ उनले भने ।

पार्टीमा आस्था राख्ने नेता कार्यकर्ता र मतदाताले तपाईंहरुको हैसियत के हो भनेर आफूहरुलाई सोध्ने गरेको उनले सुनाए । तर कांग्रेसले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको हुँदा एसबाट खनालको सम्भावना नहुने पक्कापक्की छ ।

उपनिर्वाचन लड्न कांग्रेसबाट १२ जना आकांक्षी भए पनि गोविन्द भट्टराईलाई उठाउने निर्णय भएको हो । चुनाव लड्न कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, आँबुखैरेनी सभापति विष्णु पन्त, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीको नाम सिफारिस थियो ।

उपनिर्वाचन लड्न माओवादीबाट नेताहरुको नाम सिफारिस गरिएको छ । श्रीराम ढकाल, ओमकुमार पौडेल, हेमराज लामिछाने, सूर्यबहादुर गौली, शंकर जोशीको नाममा सर्वसम्मत निर्णय गरेर केन्द्रमा पठाइएको माओवादी केन्द्रका तनहुँ इन्चार्ज हरिबहादुर चुमानले बताए ।

०७४ को निर्वाचनमा किसान श्रेष्ठ र मंसिरको चुनावमा रामचन्द्र पौडेललाई जिताएर पठायौं भन्दै माओवादीले यसपटक आफ्नो दाबी गरेको छ । ‘अहिले हामीले कुनै पनि हालतमा छोड्नेवाला छैनौं । कार्यकर्तालाई अरु पार्टीका उम्मेदवारलाई भेट हाल भनेर भन्न सक्ने अवस्थामा छैनौं,’ चुमानले भने ।

गठबन्धनमा कांग्रेसले टिकट पाए र फरक चिह्नमा मतदान गर्नुपरे एकीकृत समाजवादी र माओवादीका नेताहरु बागी उम्मेदवारी दिने सम्मका चेतावनी दिँदै आएका छन् । नेतृत्वको निर्णयले भोलिका दिनमा पार्टीको आन्तरिक जीवनमा थप संकट पैदा हुने उनीहरुको बुझाइ छ ।

मंसिरमा भएको चुनावमा गठबन्धनबाट पौडेलले २५ हजार ३ सय १८ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । तनहुँ १ निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका १४ मध्ये १२ वडा, बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका र भानु नगरपालिका तनहुँका १ क्षेत्रमा पर्छन् ।
……..
एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस
एमाले तनहुँले वैशाख १० गते हुने क्षेत्र नम्बर १ को निर्वाचनका लागि पूर्वआइजिपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको नाम सिफारिस भएन । गुरुङले आफ्नो क्षेत्र छाडेर चुनाव नलड्ने बताएका थिए । उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन् ।

पूर्व आइजिपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, शोभा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ । बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको नेता एकराज रानाले बताए ।

‘अब जिल्ला, प्रदेश हुँदै यी नाम संघमा सिफारिस हुन्छन्,’ रानाले भने । मंसिरको निर्वाचनमा काठमाडौँ ६ मा हारेपछि पूर्व आइजिपी खनाल उपनिर्वाचन लड्न चाहन्छन् । केन्द्रले खनाललाई टिकट दिन सक्ने प्रबल सम्भावना रहेको एक एमाले नेताले बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया