सम्झनामा डम्बर गुरु

प्रमिला कुँवर २०७९ चैत १९ गते १३:०३

प्रमिला कुँवर, पोखरा ।
पोखरेली फुटबलका सबैभन्दा ठूला हस्ती हुन् डम्बरसिं गुरुङ । पूर्व ब्रिटिस आर्मी भए पनि उनको परिचय स्थापित भने फुटबलबाट भयो । दयामाया उनको स्वभाव हो । त्यसमाथि अनुशासन त गजबको विशेषता । उनै गुरुङमाथि दैवले भने न दया देखाया न माया देखायो, मात्रै शासन चलायो र चैत ८ गते बुधबार सांसारिक दुनियाँबाट चुँडेर लग्यो । तर महाप्रस्थानपछि पनि नेपाली फुटबलको इतिहासमा उनी सदैव जीवित रहनेछन् । पोखरा ४ निवासी गुरुङले ७१ वर्षको जीवनमा नेपाली फुटबललाई जे दिएर गए, त्यसबाटै उनी स्मरणीय छन् ।

नेपाली फुटबल क्षेत्रका लिजेन्डका रुपमा परिचित गुरुङले फुटबल खेल्न मलेसिया (मलाया) मा सिकेका थिए । २०२४ तिर १४ वर्षको उमेरमा ब्रिटिस आर्मीमा भर्ती हुन उनी मलेसिया गएका थिए । ब्रिटिस सेनामा कार्यरत हुँदै उनी नेपाली राष्ट्रिय फुटबल टिमबाट सन् १९७४ मा यू १६ एसियन युथ मा सहभागी भएका थिए । यो नै गुरुङको पहिलो औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । नेपालमा भएको राष्ट्रिय लिगमा दुई संस्करणको च्याम्पियन आरसीटीका गुरुङ एक खेलाडी हुन् ।

‘डम्बर गुरु’ भनेर प्रशंसित गुरुङको जीवन फुटबलमै चुर्लम्ब डुबेको थियो । ब्रिटिस आर्मीबाट सेवानिवृत भएपछि उनले विभिन्न क्लब संस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सानैदेखि फुटबल खेलेका गुरुङ खेलाडी र प्रशिक्षक दुवै भूमिकामा उम्दा थिए । दह्रा आँटिला गुरुङले पोखराको सहारा एकेडेमी, राष्ट्रिय टिम एपीएफ र आर्मीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

Advertisement

पोखरेली खेलकुद क्षेत्रका तीन व्यक्तित्वसँग ‘डम्बर गुरु’ को सम्झनामा गरिएको कुराकानीः

‘उहाँ प्रशंसनीय र अनुसरणीय व्यक्ति हो’
तेज गुरुङ
प्रदेश खेलकुद परिषद, पूर्व सदस्य सचिव

उहाँ स्वाभिमानी व्यक्ति हुनुहुन्थ्यो । उत्कृष्ट क्षमता भएको निर्भीक व्यक्ति, अरुको प्रलोभनमा नपर्ने । फुटबलको क्षेत्रबाट राष्ट्रका लागि केही गरौं भन्ने उच्च सोच थियो उहाँमा । अस्वस्थ अवस्थामा पनि आफ्नो काममा क्रियाशील र जिम्मेवार रहनुभयो ।

भौतिक सुविधाले आत्मसन्तुष्टि नहुने भनेर उहाँ प्रशिक्षक भएर लाग्नुभएको थियो । उहाँलाई अपुग थिएन मनको शान्तिका लागि त्यो उमेरमा पनि कम्मर कसेर अगाडि बढ्नु भएको थियो । पेसा व्यवसायबाट निवृत्त भएपछि कमै व्यक्ति सक्रिय रहन्छन्, उहाँ सक्रिय रहनुभयो ।

Advertisement

कम व्यक्तिले मात्र आफूसँग भएको सिप अरुमा हस्तान्तरण गर्छन्, त्यही कममध्ये व्यक्तिमा उहाँ एक हो । लाहुरे पृष्ठभूमिका व्यक्तिहरु सेवानिवृत्तपछि निस्क्रिय जीवन बिताइरहेको अवस्थामा उहाँ भने समाजलाई योगदान दिनुपर्छ भनेर लाग्नुभएको थियो ।

त्यो उमेरमा पनि युवामा जस्तै जोस जाँगर थियो । जीवनको अन्तिम घडीसम्म आफ्नो क्षमतालाई सदुपयोग र फुटबल क्षेत्रमा सहभागी भइरहनुभयो । उहाँलाई गुमाउनु पर्दा फुटबल क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँ प्रशंसनीय तथा अनुसरणीय व्यक्ति हो ।

‘प्रतिभा चिन्न सक्ने क्षमता थियो’
विक्रम थकाली
पूर्व अध्यक्ष, सहारा क्लब

खेलाडी, प्रशिक्षक दुवै भूमिकामा उत्कृष्ट व्यक्ति हो उहाँ । आफू पनि कडा अनुशासनभित्र बस्ने व्यक्ति खेल क्षेत्रलाई पनि अनुशासन र नियमले बाँधेर राख्नुहुन्थ्यो । अनुशासन र नियमलाई आत्सात गर्ने व्यक्ति नै सफल हुन्छ भनेर उहाँ हरेक ठाउँमा भनिरहनुहन्थ्यो । सामाजिक अभियानमा सक्रिय हुँदा सहारा क्लबमा हातेमालो गर्न आउनुभएको थियो ।

हरेक मान्छेलाई आफूले दिएपछि प्रतिफलको अपेक्षा रहन्छ तर उहाँले ५÷६ वर्ष विनापारश्रमिक प्रशिक्षण दिनुभयो । अनील गुरुङ, विष्णु गुरुङ जस्ता राष्ट्रिय खेलाडी निकाल्नुभयो । मैले सिकेको कुरा यत्तिकै खेर जान दिन्न भनेर उहाँ क्लबमा आबद्ध हुनुभएको हो । सामाजिक भावनाले ओतप्रेत उहाँ सामाजिक कार्य गर्ने मान्छेको मात्र जीवन सार्थक हुन्छ भन्ने सोच थियो ।

खेलाडीलाई कसरी तालिम दिने, खेल क्षेत्रलाई कसरी सुधार गर्ने भन्ने भिजन भएको, प्रतिभा भएर पनि मौकाबाट बञ्चित खेलाडीलाई प्रस्फुटन गर्न सक्ने क्षमता भएको सक्षम प्रशिक्षकका रुपमा सम्झिन्छु । खेल क्षेत्रमा सुधारका कार्यहरु गर्नुभएको छ । खेलाडीका लागि आवाज उठाउनु भएको छ ।

‘कुशल प्रशिक्षक गुमायौं’
सुरज गुरुङ
सहारा क्लब, अध्यक्ष

जति पनि क्लब संस्थामा आवद्ध रहनुभयो सबैमा कुशल प्रशिक्षकका रुपमा चिनिनुभयो । ब्रिटिस सेनामा कार्यरत रहँदा नेपाली राष्ट्रिय टिमबाट फुटबल खेल्न आउनु भएको थियो यो एउटा ऐतिहासिक खेल नै हो । ब्रिटिस लाहुरे हुँदा हुँदै उहाँले नेपाली राष्ट्रिय टिमबाट खेल खेल्नुभएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहले ल्याएर खेलाएका थिए । त्यतिखेर शुभजन्मोत्सव खेल हुँदा बेलायती गोर्खाका खेलाडी पनि खेलका थिए, जसमा डम्बर गुरु पनि हुनुहुन्थ्यो । उहाँको खेल कौशल देखेपछि नेपालले राष्ट्रिय टिमबाट खेलाउन बोलाएका थियो ।

सिप र अनुभव नयाँ पुस्तामा स्थानान्तरण गर्नुपर्छ भन्नुहुन्थ्यो । जीवनका उतारचढावमा पनि उहाँले फुटबल क्षेत्रलाई कहिल्यै छोड्नुभएन । सहयोगी भावना थियो, बच्चाहरुलाई सक्दो सहयोग गर्नुहुन्थ्यो । हाम्रो सहारा क्लबमा ६ वर्षसम्म निशुल्क प्रशिक्षण दिनुभयो । उहाँको योगदानलाई कहिल्यै बिर्सन सकिँदैन ।

उहाँको निधनले सहारा क्लबमा मात्र होइन नेपालकै फुटबल जगतले अभिभावक गुमाएको छ । कुशल प्रशिक्षक गुमाउनु पर्दा फुटबल क्षेत्र पीडामा छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया