हेलो सीएमः पर्यटकलाई जाल थापिन्छ, खोज्दा चर्पी पाइँदैन

समाधान संवाददाता २०७५ माघ ४ गते ९:३३


समाधान संवाददाता

लेकसाइड क्षेत्रमा पुस्तकालय त टाढाको कुरा खोजेका बेला चर्पी पाइँदैन । जहाँ रात पर्न पाएको हुँदैन प्रहरी र ट्राफिकले ओई रोक्, तँ कहाँ जान लागेको भनेर प्रश्न गर्छन् । व्यापारी कतिबेला ग्राहक आउँछन् भनेर जाल थापेर बस्छन् । यो कस्तो संस्कार भएको पर्यटकीय क्षेत्र हो । मुख्यमन्त्रीज्यू यो कस्तो पर्यटकीय नगरी हो ?

लेकसाइडबाट एकजना व्यक्तिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सोमबार गरेको प्रश्न हो यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्थापित ‘हेलो मुख्यमन्त्री’ कार्यक्रममा ती व्यक्तिले लेकसाइड क्षेत्रको केही दुखद् अवस्थाबारे गुनासो गरे । सोमबार मुख्यमन्त्री आफैं सेवाग्राहीका गुनासाको प्रत्येक्ष सम्बोधन गर्न उपस्थित थिए ।

मुख्यमन्त्री गुरुङ समक्ष ती व्यक्तिले थप गुनासोे राखे, ‘बढी पर्यटकको भीड हुने लेकसाइड क्षेत्रमा विशेषत स्वदेशी पर्यटकलाई राम्रो व्यवहार हुँदैन, विदेश पर्यटकले सामान्य सुविधा पाउँदैन्, ट्याक्सीदेखि होटलसम्मले जाल थापेर बसेका हुन्छन् । प्रहरीले अपमानजनक व्यवहार गर्छन् । यस्तो प्रवृत्ति सुधार गर्न के सोच्दै हुनुहुन्छ ?’ उनले पोखरामा फोहोर व्यवस्थापन हुन नसक्नुको कारणबारे पनि प्रश्न गरेका थिए ।

Advertisement

पुस्ताकलयमात्रै होइन पत्रपत्रिका पनि पढ्न नपाउने अवस्था पर्यटकीय क्षेत्रमा रहेको गुानासो यसअघि पनि आएको थियो । लेकसाइड क्षेत्रमात्रै होइन पोखराका अधिकांश ठाउँमा शौचालय जानु परे कि होटल छिर्नुपर्ने कि दबाएर हिँड्नुपर्ने गुनासो मेयरदेखि मुख्यमन्त्रीसम्मलाई आउँछ । पोखराका घर, होटलले नदी र फेवातालमा फोहोर मिसाउने गरेको पुरानै गुनासो मुख्यमन्त्रीलाई पनि आएको छ ।

मुख्यमन्त्री गुरुङले पोखरा महानगरपालिकासँग यस विषयमा छलफल गर्ने जवाफ दिए । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधारका रुपमा लिएको जानकारी गराउँदै गुरुयोजना बनाएर एक्सनमा जाने मुख्यमन्त्री गुरुङले आश्वासन दिए ।

Advertisement

‘पोखरा महानगरसँग शौचालयका विषयमा, फोहोर व्यवस्थापन र अन्य विषयमा गहन छलफल गर्ने छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘पर्यटन गुरुयोजना बनाउँदै छौं ।’ पर्यटकको स्वागत र सम्मान गर्न कसैले नत्थी लगाएर सिकाउनुभन्दा पनि आफैंमा चेतना र संस्कारको विकास हुनुपर्ने जोड उनको थियो ।

गण्डकी प्रदेश सरकारले भदौ ४ गतेदेखि प्रदेशवासीको गुनासो सुन्न थालेको ‘हेला मुख्यमन्त्री’ मा थरिथरीका गुनासो आउने गरेका छन् । विकास आयोजनामा भएको ढिलाइदेखि समाजका विभिन्न क्षेत्रका समस्याबारे गुनासो मुख्यमन्त्रीसँग आउँछ ।

पोखरामा भुस्याहा कुकुर बढेकोदेखि स्मार्टसिटी पोखरा भनेको के हो भन्ने खालका प्रश्न हेलो मुख्यमन्त्रीमा आएका छन् । पोखरा रामबजारकी एक महिलाले मुख्यमन्त्रीलाई टेलिफोनमा गुनासो राख्दै भनिन्, ‘लमजुङ समाज घरमा हुने हल्लाले सुत्न पाइएन, हजुरले केही गरिदिनुप¥यो । पोखरामा जताततै कुकुर नै कुकुर भरिए, यसको उपाय के होला ?’ मुख्यमन्त्री गुरुङले लमजुङ समाजलाई यसबारे जानकारी गराउने र पोखराबाट भुस्याहा कुकुर हटाउने दिन पनि आउने बताए ।

निर्मलपोखरीबाट नारायण थापाले मुख्यमन्त्रीलाई सोधे, ‘नयाँ प्रदेश र सरकार बनेको छ । ११ जिल्लाका जति पनि बेरोजगार युवा छन् के अब काम पाउँछन् त ?’ मुख्यमन्त्री गुरुङले बेरोजगार युवाको पहिचान गरी रोजगारका अवसरको सिर्जना गर्ने बताए । प्रदेश सरकारले प्राविधिक तालिम दिने मुख्यमन्त्री गुरुङको आश्वासन थियो । ‘बेरोजगार युवालाई तालिम दिन्छौं । युवासँग शैक्षिक प्रमाणपत्र छ तर सीप छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्राविधिक तालिमले धेरै स्वरोजगारमा जान्छन्, विदेश जानेलाई पनि राम्रो हुन्छ । हामी प्राविधिक विश्वविद्यालय पनि खोल्ने कुरा गरिरहेका छौं ।’

अर्का एकजना व्यक्तिले मुख्यमन्त्रीसँग स्मार्टसिटी भनेर प्रचार गरिएको पोखरा किन त्यस्तो भएन भनेर प्रश्न गरेका छन् । मुख्यमन्त्री गुरुङले स्मार्टसिटीको बुझाइ नै गलत हुने गरेको बताए । ‘यत्तिकै स्मार्टसिटी बन्दैन । स्मार्टसिटीमा धेरै कुरा स्मार्ट हुनुपर्छ । हाम्रो काम आइटीबेसमा हुनुपर्‍यो,’ मुख्यमन्त्री गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले हेलो मुख्यमन्त्रीबाट तत्कालको जवाफ दिने गरे पनि अधिकांश उनले एक्सन दिन नमिल्ने गुनासो आउने गरेका छन् । स्थानीय तह र केन्द्र सरकारसँग सम्बन्धित गुनासो बढी आउने गरेका छन् ।
आफू मातहतका समस्या तथा गुनासोलाई मुख्यमन्त्री गुरुङ आफैंले सुनुवाइ तथा सम्बोधन गर्ने गरेका छन् भने त्यसबाहेक गुनासो मन्त्रिपरिषदको कार्यालयले सम्बन्धित ठाउँमा पठाउने गरेको छ । हेलो मुख्यमन्त्रीमा अहिलेसम्म ३ सय ६ गुनासो आएका छन् । त्यसमा एक सय ३२ गुनासोको पछ्र्यौट हुन बाँकी छ ।

फछ्र्यौट हुन बाँकी गुनासा अधिकांश केन्द्र सरकारसँग सम्बन्धित रहेको मन्त्रिपरिषदको कार्यालयका अधिकृत प्रेम श्रेष्ठले बताए । हेलो मुख्यमन्त्रीमा केन्द्र सरकारसँग सम्बन्धित गुनासो सम्बोधन र त्यसको जवाफ नै नपठाउने गरेको देखिएको छ ।

जनताको गुनासो सुनुवाइ र सम्बोधन गर्न ‘हेलो मुख्यमन्त्री’ सुरु गरिएको हो । टेलिफोन, इमेल र वेबसाइटमार्फत गुनासो तथा प्रदेशका विकास आयोजनाका समस्या टिपाउने व्यवस्था गरिएको छ । १५ दिनको बीचमा स्वयं मुख्यमन्त्री टेलिफोन सम्वादमा आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया