आन्तरिक विवादले थासाङ गाउँसभा अनिश्चित

सुन्दरकुमार थकाली २०७९ चैत १९ गते १६:४७

जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिकाको गाउँसभा अधिवेशन अनिश्चित कालका लागि स्थगित गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधिबीच आन्तरिक विवादका कारण एघारौं अधिवेशन अनिश्चित कालका लागि स्थगन गरिएको हो ।

पालिकाले शनिबार अधिवेशन गर्ने गरी ईमेल,एसएमएस, टेलिफोन र पत्रसहित पालिकाका सबै जनप्रतिनिधिलाई पत्राचार गरेको थियो तर, नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु अधिवेशनमा उपस्थित नभएपछि अधिवेशन स्थगित गरिएको थियो । कांग्रेसका जनप्रतिनिधिले आफ्नो ४ बुँदे प्रस्ताविक मागहरु सम्बोधन नभएसम्म गाउँसभा अधिवेशनमा सहभागी नहुँने लिखित पत्र गाउँपालिकामा पेश गरेको पालिका प्रवक्ता एवं थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनसहित ४ जना वडाध्यक्षहरुले प्रस्तावित ४ बुँदे माग राखेका छन् । पालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्दा उपाध्यक्षलाई पनि सहभागी गराउनुपर्ने, गत आर्थिक वर्षको असारमा म्याद थप नभएका कर्मचारीहरुलाई पुर्नवहाली गरिनुपर्ने अथवा करारका रिक्त पदहरु पदपूर्ती गरिनुपर्ने, गाउँ कार्यपालिकाको सबै सूचनाहरु पालिकाको आधिकारिक वेव साईडमा अपलोड गरिनुपर्ने र गापा कार्यालयको सबै विषयगत शाखामा कार्यरत कर्मचारीलाई सहज ढंगले काम गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरुले माग प्रस्ताव गरेको पालिका प्रवत्ता गौतम शेरचनले उल्लेख गरे ।

Advertisement

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले स्थानीय तहको गाउँसभा अधिवेशन सञ्चालन कार्यविधि ऐन २०७५ बमोजिमको अधिकार प्रयोग गरी पालिका अध्यक्षले गाउँसभा अधिवेशन स्थगित गरेको बताए । उनले अनुकुल समय मिलाएर सबै जनप्रतिनिधिसँग सहकार्य गरी गाउँसभा अधिवेशनको मिति तय गरिने बताए ।

उपाध्यक्ष हिराचनले प्रस्तावित माग सम्बोधन भएमात्रै गाउँसभा अधिवेशनमा भाग लिने बताए । उनले मनोमानी ढंगले करारमा नियुक्ती भएका कर्मचारीहरुको म्याद थप नगरी निस्काशन गरिएको र उनीहरुले म्याद थपगरी पूर्नवहाली गरिनु पर्ने उल्लेख गरे ।

Advertisement

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संरचना निर्माण र गाउँपालिकाको समग्र कार्यसम्पादनका लागि गाउँसभाले नीति तथा कार्यक्रम तय गर्छ । त्यसैको जगमा आगामी आर्थिक वर्षको बजेट खाँका तयार हुन्छ । तर थासाङमा जनप्रतिनिधिबीचको आन्तरिक विवाद उत्कर्षमा पुग्दा गाउँसभा अधिवेशन अन्योल बनेको हो ।गाउँसभा अधिवेश नहुँदा बजेट खाँका निर्माण गर्न समेत अप्ठ्याराे परेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को असारमा थासाङ गाउँपालिकामा स्थानीय तह सञ्चालन ऐन २०७४ अन्तर्गत भर्ना भएका कार्यरत करिव ३२ जना करारका कर्मचारीको म्याद थप गरिएको थिएन । उनीहरुलाई पालिकाले म्याद थप नगरी उक्त पदहरु रिक्त राखेको थियो ।

गाउँपालिकाले त्यसबेला अनाआवश्यक आर्थिक खर्च कटौती गरी विकास योजनामा लगाउने, खर्च कम गर्ने खर्च घटाउँदै जाने उल्लेख गर्दै थासाङका ५ वटै वडाका कार्यालय सहयोगी,स्वास्थ्य शाखा र गापामा कार्यरत कर्मचारीलाई म्याद गरेको थिएन ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि करारका कर्मचारी निष्काशित गरेपनि हालै करारका कर्मचारी नियुक्ती गर्न सार्वजनिक सूचना प्रकाशित गरेको गापा प्रवत्ता गौतम शेरचनको भनाई छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया