आलु महोत्सव आजदेखि

समाधान संवाददाता २०७९ चैत २६ गते ११:२३
फाइल फाेटाे

हेमजा ।
वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । आयोजक विष्णुपादुका क्लबले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आइतबार बिहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो ।

महोत्सवको गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँमा आलुको कारोबार हुनेछ । करिब ४० टन आलु बिक्री हुने अपेक्षा गरिएको छ । एक सय २० वटा स्टल रहेकोमा करिब २५ प्रतिशत कृषि स्टल रहेको महोत्सवका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सव अन्तर्गत आलु तथाताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषिउपज, बिउबिजन तथा कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायत कार्यक्रम हुनेछन् । पोखरा महानगरपालिका कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गर्दैछ ।

Advertisement

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचार हुने, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी संकलन तथा बिक्री केन्द्र निर्माण गर्ने लगायत उद्देश्य पनि राखिएको छ ।

कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिन लागेको हो । सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया