गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम

समाधान संवाददाता २०७९ चैत २६ गते १२:०६

काठमाडौँ ।
चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ जिल्लामा सञ्चालन गरेको घुम्ती चलचित्र तथा साक्षरता अभियान कार्यक्रम सकिएको छ । चैतको १२ देखि २० गतेसम्म सञ्चालन गरिएको कार्यक्रम चलचित्र भवन नभएका क्षेत्रलाई लक्षित गरिएको थियो ।

स्थानीय, समाजसेवी, जनप्रतिनिधि, व्यवसायीको उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रदर्शन गरी जागरण ल्याउन बोर्डमाफत शिक्षा र सन्देशमूलक, सामाजिक विषयवस्तु समेटिएको चलचित्र प्रदर्शन गरिएको बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिए । सातै प्रदेशमा चलचित्र घर नभएका स्थानीय निकाय र टोल बस्तीमा राष्ट्रियताका विषय तथा अन्य विशेष प्रकारका चलचित्र विद्यालय, कलेज तथा समुदायमा प्रदर्शन गरीएको हो ।

‘चलचित्र हेर्ने संस्कृति विकास गर्न कार्यक्रम सञ्चालन गरिरहेका छौं । पहिलो चरणमा पूर्वका विभिन्न स्थानमा सम्पन्न कार्यक्रमबाट पाएको प्रतिक्रियाले उत्साहित भएका थियौं’, अधिकृत रैखोलाले भने । चलचित्रले मनोरञ्जन मात्र प्रदान नगरी समाज रुपान्तरण, सामाजिक चेतना, शिक्षा र सन्देश प्रवाह गर्ने सशक्त माध्यम रहेको उहाँको भनाइ थियो । घुम्ती चलचित्रमा ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्निदहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया