सापकोटा कल्याण केन्द्रमा सम्मान

समाधान संवाददाता २०७९ चैत २६ गते १४:०६

पोखरा ।
सापकोटा कल्याण केन्द्र, तनहुँले गण्डकी प्रदेशका सापकोटा जनप्रतिनिधिलाई सम्मान तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गरेको छ । केन्द्रले शनिबार पोखरामा कार्यक्रम आयोजना गरी स्थानीय तह र प्रदेश तहमा निर्वाचित सापकोटा जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

Advertisement

सापकोटा कल्याण केन्द्रका केन्द्रीय सल्लाहकार ८८ वर्षीय टीकाराम सापकोटाले भातृत्व विकासका लागि सम्मान तथा परिचयात्मक कार्यक्रम गरिएको बताए । उनले सापकोटा केन्द्रले प्रकाशन गरेको वंशावली संकलनका अनुभव र सापकोटाको वंश विस्तारबारे चर्चा गरे ।

जिसस वागलुङका उपप्रमुख होमनाथ सापकोटाले जिसस पदाधिकारी ठूलो पदजस्तो लागे पनि जनताका काममा वडा सदस्यजत्तिको पनि भूमिका नरहेको बताए । उनले भने, ‘देख्दा ठूलो पद, काम केही छैन ।’

सापकोटा कल्याण केन्द्रका डा. कविन्द्र सापकोटाले कल्याण केन्द्रको उद्देश्य सामीप्यता, माया, सद्भाव र एकता भएको भन्दै सकारात्मक र अनुकरणीय काममा सबै लाग्नुपर्नेमा जोड दिए । गलकोट नगरपालिका ८ का अध्यक्ष तेजप्रसाद सापकोटाले केन्द्रको कामले कुलपुर्खाको सम्मान र आपसी आत्मीयता बढ्ने बताए ।

सापकोटा कल्याण केन्द्रका कास्की सभापति ऋषि सापकोटाले राजनीतिक पावर र धन केन्द्रित हुँदा समाज सेवाको मर्मअनुसार काम हुन नसको उल्लेख गरे । सापकोटा कल्याण केन्द्र लमजुङका उपसभापति पूर्णकान्त सापकोटाले सामाजिक संस्थामा राजनीति भित्रिँदा विकृति बढेको धारणा राखे ।

Advertisement

कार्यक्रममा वागलुङ जैमिनीका प्रेमप्रसाद, पर्वत फलेवासकी गौरी शर्मा, मादी ४ का अध्यक्ष शिवप्रसाद, सापकोटा केन्द्र पर्वतका सभापति हेमराज, केन्द्र गोरखाका सभापति वासुदेव, वागलुङका सभापति रामकृष्ण, धनमाया, भाष्कर पूर्णकान्त लगायतले बोलेका थिए ।

सापकोटा कल्याण केन्द्र गण्डकीका प्रमुख तथा केन्द्रीय उपसभापति बुद्धिसागर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम पुण्यप्रसाद सापकोटाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया