मुस्ताङमा ४८८ जनाको आँखा जाँच र ३० जनाकाे माेतियाबिन्दुकाे अप्रेशन निशुल्क

समाधान संवाददाता २०७६ जेठ १० गते १३:०८

सुन्दरकुमार थकाली
मुस्ताङ

तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमाडौंको आयोजना तथा जिल्ला सामुदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा बुधबार जोमसोम अस्पतालमा आँखा शिविर सञ्चालन गरिएको छ । शिविरमा ४ सय ८८ जनाले आँखा जाँच गराएका छन् ।

प्रतिष्ठानले जोमसोममा गरेको पहिलो चरणको आँखा शिविरमा मुस्ताङको तल्लो क्षेत्रका ३ स्थानीय तहका सेवाग्राहीले लाभ लिएको मुस्ताङ सामुदायिक आँखा केन्द्रकी संयोजक रुमिला नेपालीले बताइन् । उनका अनुसार शिविरमा ३० जनाको आँखाको मोतियाबिन्दुको निशुल्क अप्रेशन गरिएको छ । ४ सय ५८ जनाको निशुल्क आँखा परीक्षण भएको बताइन् । उनले आँखाका बिरामी तथा अप्रशेनको सम्पूर्ण खर्च तिलगंगा प्रतिष्ठानले नै व्यहोरेको जानकारी दिइन् ।

Advertisement

संयोजक नेपालीले पहिलो चरणको आँखा शिविरमा उत्साहजनक सहभागिता भएको उल्लेख गरिन् । उपल्लो मुस्ताङको चराङमा दोश्रो चरणको आँखा शिविर शुक्रबार सञ्चालन हुने उनको भनाइ थियो । जोमसोममा भएको आँखा शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी मुस्ताङ शाखा, जुनियर रेडक्रस र जोमसोम महिला समूहले सहयोग गरेको थियो ।

तिलगंगा आँखा प्रतिष्ठानले मुस्ताङमा बर्सेनि आँखा शिविर सञ्चालन गरेको छ । यसपालि प्रतिष्ठानकी कार्यकारणी अधिकृत एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रीता गुरुङसहित ५ जनाको चिकित्सक टोली मुस्ताङ आएको छ ।

Advertisement

तिलगंगा प्रतिष्ठानले दूरदराजका सुगम स्थानमा पुगेर सेवा लिन बञ्चित बिरामीलाई सेवा प्रवाह गर्दै आएको वरिष्ठ नेत्र रोग विशेषज्ञ रीता गुरुङले जानकारी दिइन् । उनका अनुसार प्रतिष्ठानले यसपालि ५ सय जनाको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिए पनि पहिलो चरणमा ३० जनाको मात्र शल्यक्रिया गरिएको छ ।

शुक्रबार चराङमा आँखा शिविर हुने प्रतिष्ठान बाह्य कार्यक्रम विभागका नाम्खेन लामाले जानकारी दिए । टोली शिविरका लागि उपल्लो मुस्ताङ प्रस्थान गरेको छ । प्रतिष्ठानले स्थानीय सरोकारवाला निकायको समन्वयमा आँखा शिविर सञ्चालन गर्दै आएको लामाले बताए ।

तपाईको प्रतिक्रिया