बाह्र भैरब नाचको महत्व

पोखरामा यस वर्षको मंसिर १५ गतेदेखि भीमसेन टोलको भीमसेन मन्दिरमा १२ भैरब नृत्य प्रदर्शन भएपछि ६/६ वर्षमा देखाइने गरेको यस नृत्य पोखराको ठाउ ठाउँमा प्रदर्शन गरी चैतको अन्तिम हप्ता समापन हुँदै छ । यस नाचको प्रारम्भ र अन्त्यमा पूर्व निर्धारित निश्चित स्थानहरु ६/६ पटक गरी १२ पटक देखाउनका अलावा व्यक्तिगत र सामूहिक माग बमोजिम विभिन्न स्थानमा ५९ पटक नाच देखाइएको छ ।
भीमसेन मन्दिरमा पहिलो प्रदर्शन भएपछि गणेशटोलको गणेश मन्दिर, तेर्सापट्टिको सरस्वती मन्दिर, विन्ध्यावासिनी देवीको मन्दिर, भैरब टोलको गणेश मन्दिर र गुरु कृष्णदेव प्रधानांगको घर अगाडि प्रदर्शनपछि नाच समापन हुँदै छ ।
यो नृत्य मैले सबभन्दा पहिले २०४५ मा पोखरामा बसाइसराई गरेर आएपछि पहिलो पटक हेर्ने अवसर पाएको थिएँ । त्यसपछि ६/६ वर्षमा एक पटक देखाइने यस नाच मैले मौका मिलेसम्म राम्ररी हेर्ने गरेको छु । यस नाच २०७८ सालमा देखाउनुपर्ने भएता पनि कोभिड महामारीको रोग विश्वभरी फैलिएको हुनाले वि.सं २०७९ सालमा मात्र यस नाच देखाइएको बुझिन्छ । मैले यस नाच पटक पटक हेरंपछि यस नाचमा अत्यन्त धेरै माहत्व रहेको पाएको अनुभूति गरेको छु । जुन निम्न बुँदागत उल्लेख गर्न चाहन्छु ।
१. धार्मिक महत्व
भैरब नाचको धार्मिक महत्व प्रखर रुपमा रहेको देखिन्छ । यस नाचलाई संरक्षण गर्ने भैरब सांस्कृतिक संरक्षण समिति नै एक धार्मिक संस्था हो भने विभिन्न धार्मिक पर्वमा विभिन्न कार्यक्रम गर्दै आएको छ । हरेक पटक यस नाच निकाल्ने बेलामा य आफ्नो टोलमा बोलाउँदा नाच मात्र हेर्ने उद्देश्य नराखिकन भैरब गणको पूजाआजा गरी प्रसाद बाँड्ने गरिन्छ ।
यो नाचलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएर विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास गर्नु जरुरी छ
२. सांस्कृतिक महत्व
संस्कृति भन्नाले कुनै मानव समुदायभित्र परापूर्व कालदेखि रहेको संस्कार, चालचलन, रहनसहन, भेषभूषा, भाषा, चाडबाड, लवाइखवाइ, नाचगान वा जीवन पद्धति हो । बाह्र भैरब नाचमा नेवार समुदायका बाजागाजा साथै यसको रागमा आधारित भजन नेवार भाषामा रचना गरिएको सयौं वर्ष पहिला देखिएको हुनाले यस नाचको सांँस्कृतिक महत्व छ । साथै यस नाचको मुख्य आधार नै नेवार समुदायको गौरबमय संस्कृति अन्तर्निहित देखिन्छ ।
यो नाचमा सहभागी हुने नृत्य कलाकार, वाद्यवादक र रागीहरु सबै नेवार समुदायबाटै आउने गरेका छन् । यसमा नृत्य कलाकारले नाच्ने ताल, हातको हाउभाउ, खुट्टाको चाल पनि परापूर्व कालदेखि चलिआएको जस्तो देखिन्छ भने यस नाचको सिर्जनाकार खास को हो भन्न सक्ने अवस्था देखिंदैन । यसर्थ यो नाच अति परम्परागत लोक सांस्कृति हो भन्ने स्पष्ट हुन्छ ।
३. सांस्कृतिक समन्वयात्मक भावनाले परिपूर्ण
यो निश्चित रुपले नेवार समूदायबाट सिर्जित सांस्कृति सम्पदा हो । तर यो नाचप्रति सबै जाति र धर्मका मानिसको श्रद्धा र विश्वास देखिन्छ । यसपालिको नाच भैरबटोल निवासी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति जगमान गुरुङले फागुन १७ गते आफ्नै घर अगाडि देखाएर समयबजी प्रसादसमेत बाँडेका थिए । यो नाच प्रदर्शन गर्ने बेलामा यसको रसास्वादन गर्न सबै उमेर समूहका, सबै जाति समुदायका मानिसको भीड नै लाग्ने गरेको देखिन्छ ।
काठमाडौं उपत्यकामा यस्ता नाच धेरै छन् तर यस्ता नाचमा नेवार समुदायका कुनै एक थर भएका वा कुनै नेवार उपसमुदायकोे मात्र सहभागिता देखिन्छ । पोखरामा सबै थरका नेवार जातिको व्यापक सहभागिता रहेको देखिन्छ । नाच देखाइने जानकारी पाउनासाथ कोही नृत्य कलाकार बन्न, कोही रागी बन्न, कोही वाद्यवादक बन्न तम्सेका हुन्छन् ।
यो नाच देखाउनु पूर्व हुने तान्त्रिक पूजामा बज्राचार्य तान्त्रिक पुजारी सरिक हुन्छन् । बज्रयान बौद्ध तन्त्रले पनि महादेवको भैरब रुपलाई श्रद्धाका साथ पूजा गर्ने गरेका छन् । अझ यो नाच देखाउने बेलामा पोखरामा रहेका विदेशी पर्यटक पनि आएको देखिन्छ । तर उनीहरुलाई यो नाचबारे जानकारी दिने गाइडहरुको भने कमैमात्र पाइन्छ ।
४. सामाजिक महत्व
यो नाच देखाउने उत्सवलाई नेपाली समाजको सामाजिक एकता सुदृढ गर्ने एक महत्वपूर्ण अवसरको रुपमा हेर्ने गरिएको छ ।
नाच देखाउन महिला समूह, भजन समूह, नेवाः खलः कचाः, युवा क्लब, यस्तै अन्य अन्य सामाजिक संस्था पनि अग्रसर हुने गरेका छन् भने कहिलेकाही भैरब नाचलाई दिनुपर्ने एक निश्चित दान दक्षिण रकम तिरेर बाँकी रहेमा (अन्य सबै आवश्यक खर्च जुटाइ सकेपछि) सामाजिक महत्वको निर्माण कार्य पनि यदाकदा भएको हामी पाउँछौं । यसैले नाचको सामाजिक महत्व रहेको स्पष्ट पार्छ ।
४. राष्ट्रिय महत्व
कुनै पनि देश राष्ट्रिय भावना र राष्ट्रिय एकता विना दिगो रुपले अन्तर्राष्ट्रिय जगतमा शीर ठाडो गरेर उभिन नै गाह्रो हुन्छ । देशमा भएका अनेकौं सास्कृतिक सम्पदा देखाएरमात्र नागरिकहरु विदेशीका अगाडि गौरबका साथ आफ्नो अनुहार देखाउन सक्ने बन्छन् । हाम्रो देशमा पनि यस्ता असंख्य सांस्कृतिक सम्पदा छन्, जसले हाम्रो राष्ट्रिय स्वाभिमान अन्तर्राष्ट्रिय जगतमा बढाएका छन् ।
सांस्कृतिक सम्पदाले भरिपूर्ण भएका कारणले नै विदेशी पर्यटक नेपालमा ओइरिएको देखिन्छ । आज नेपालमा देखिएको राजनैतिक अस्थिरताका बाबजुद पनि यस्ता सांस्कृतिक सम्पदाले गर्दा नेपालको इज्जत अन्तर्राष्ट्रिय जगतमा चहकिलो नै छ ।
भैरब नाच संरक्षण, संवद्र्धन गर्दै आएको भैरब सांस्कृति संरक्षण समितिले यसलाई प्रवद्र्धन गरेर ६/६ वर्षको अन्तरालमा देखाउनु प्रशंसनीय छ । तर यस समितिले नाचलाई अझ बढी व्यवस्थित गरेर यसका सम्पूर्ण गीत, संगीतका आयाम, नृत्यकलाका आयामलाई अनुसन्धान गरेर नोटेसनमा रेकर्ड गरेर डकुमेन्टसन गरेर राख्नुपर्ने हुन्छ ।
यो नाचलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएर विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास गर्नु परेको छ । जापानको टोकियो विश्वविद्यालयको आफ्नो म्युजियममा यसका मुकुण्डोहरु र नाचका विभिन्न आयामका पक्ष संरक्षित गरेर प्रदर्शनमा राख्ने प्रयास हुँदै गरेको भैरब सांस्कृतिक समिति अध्यक्ष तीर्थमान प्रधानाङ्गबाट जानकारी प्राप्त भएको छ । हामीले पनि यसबारे जागरुकता र चासो देखाउनुपर्छ ।
यस्तो महत्वपूर्ण सम्पदा संरक्षण गर्न नेपालका विभिन्न तहमा रहेको सरकारले सस्कृति विज्ञहरु खटाएर अनुसन्धान गराउने, संरक्षण गराउने काम हुनैपर्ने देखिन्छ भने यस नाचमा लागेका संस्कृतिकर्मी र यस्तो संस्थालाई समेत सहयोग पुग्ने गरी आर्थिक र नीतिगत प्रवधान बनाउनु पर्दछ । नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले पनि विदेशीका विकृतिपूर्ण नाचगान हेर्नुभन्दा आफ्नै देशमा उब्जिएको नेवार समुदायको नाच हेरेमा देशको अर्थतन्त्र बलियो हुन्छ, देशको पैसा विदेशमा जाँदैन भन्ने कुरा इंगित गरेका थिए ।
तपाईको प्रतिक्रिया