मगर भाषाको फिल्म उखान प्रदर्शन

पोखरा ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
पोखरामा आयोजित मगर कथानक फिल्म ‘उखान’को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै उनले मगर समुदायको अस्तित्व हराउने बताउँदै भाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यकता औंल्याए ।
एक्सन फिल्मस्को ब्यानरमा निर्माण भएको मगर कथानक फिल्म ‘उखान’ काठमाडौंको राष्ट्रिय नाचघर जमलमा माघ १८ गते र पोखरामा सोमबार प्रदर्शन भएको हो ।
भाषा, संस्कृति संरक्षणमा लाग्न युवालाई आग्रह
मन्त्री मगरले मगर समुदायको पहिचानसँग जोडिएका सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने जिम्मा युवाको काँधमा आएको बताए । ‘मगर समुदायमा भएका रचनाहरुको इतिहासको खोजी गर्ने, संरक्षण र संर्वद्धन गर्ने दायित्व अबको पुस्ताको हो,’ मन्त्री गाहामगरले भन्नुभयो, ‘चाहे त्यो कौडा, सोरठी, सालैजो, घाटु लगायत अन्य नाचहरुको इतिहास खोज्ने संरक्षण र संर्वद्धन गर्ने जिम्मा युवाहरुको हो ।’
फिल्म ‘उखान’ का निर्देशक मेक आलेमगरले चलचित्र प्रदर्शनबाट संकलित रकम साामाजिक कार्यमा खर्च गर्ने बताए । ‘चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य हो । उखान चलचित्रले मगर समुदायको भाषा आवश्यक छ र सबैले मगर समुदायले भाषाको संरक्षण गर्नुपर्ने सन्देश दिएको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया