भौतिक पूर्वाधार अपांगतामैत्री बनाइने

पोखरा ।
गण्डकी प्रदेश सरकारले अब बन्ने भौतिक संरचना अपांगमैत्री बनाउने भएको छ । अहिलेसम्म बनेका संरचना अपांगमैत्री नभएको परिप्रेक्ष्यमा नयाँ बन्ने संरचनालाई अपांगमैत्री बनाउनका लागि ध्यान दिने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमप्रसाद सुवेदीले बताए ।
स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले बुधबार आयोजना गरेको अपांगता समावेशी विकासमा सरकारी सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सचिव सुवेदीले अपांगतासम्बन्धी विद्यमान नीति ऐन तथा कानुनको प्रचारप्रसार तथा व्यवहारिक रुपमा कार्यान्वयनमा ध्यान दिने बताए । उनले अपांगता भएका व्यक्तिलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने गरी वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरिने उल्लेख गरे ।
‘अहिले प्रादेशिक अपांगता नीति तर्जुमा गरिएको छ । सम्बन्धित ऐन बनाउने तयारीमा छौं,’ सचिव सुवेदीले भने, ‘अपांगता निर्देशन समिति गठन भई परिचालन गरिएको छ । अपांगता ग्राम निर्माणका लागि जग्गा प्राप्तिको कार्य अगाडि बढेको छ ।’
उनले संरक्षणमा राख्नुपर्ने अपांगता भएका व्यक्तिलाई अपांगता ग्राम पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाउने जानकारी दिए । उनले अपांगता समावेशीकरणका लागि भौतिक पूर्वाधार निर्माण, आर्थिक, कानुनी र व्यवस्थापकीय चुनौती रहेको उल्लेख गरे ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समन्वय र अमेरिकी सहयोग नियोग (युएसएआइडी)द्वारा सञ्चालित ‘नेपालमा अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी कानुन र नीति कार्यान्वयन गराउनका लागि अपांगता अधिकारकर्मी अगुवा परिचालन’परियोजना अन्तर्गत भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले अपांगता समावेशीकरण सरोकारवाला सबैको साझा सवाल भएको बताए ।
स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले विश्वव्यापी रुपमा १५ प्रतिशत व्यक्ति कुनै न कुनै रुपमा अपांगता हुने गरेको परिवेशमा राष्ट्रिय जनगणना २०७८ ले नेपालमा २ दशमलव २ प्रतिशत व्यक्ति अपांग भएको तथ्यांक सार्वजनिक गरेको जानकारी दिए । उनले दिगो विकास लक्ष्य हासिल गर्न कसैलाई पनि पछाडि नछोडौंको अवधारणा मुर्त रुप दिन प्रदेश तथा स्थानीय तहले सबभन्दा पछाडि परेका अपांगता भएको व्यक्तिलाई लक्षित गरी कार्यक्रम ल्याउन सुझाव दिए ।
कार्यक्रममा सामाजिक विकास कार्यालय कास्की, स्याङ्जा, बागलुङ, लमजुङका प्रमुखहरु क्रमशः ईन्द्रबहादुर थापा, ईश्वरीप्रसाद रेग्मी, डम्बरबहादुर जिसी, दिनेश पौडेल लगायतले अपांगताको सवालमा वार्षिक रुपमा सम्पादन गरेका कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक महाशाखाका अधिकृत देवी शर्मा, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसी, राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष सुनिता थापा लगायतले अपांगता समावेशीकरणका बारेमा बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया