सम्पादकीय: सेती किनारमा बार बन्देज लगाऊँ

सेती नदी किनारको धाँजा फाँटेको ठाउँमा खसेर वैशाख २ गते १२ वर्षीया स्मृति पराजुलीको ज्यान गयो । सेतीको खोंचमा वा धाँजा फाटेको ठाउँमा परेर ज्यान जानेको हिसाब किताबै छैन । प्रत्येक वर्षजसो कसै न कसैले ज्यान गुमाएका छन् । सेती नदीको विशेषतै हो, गहिरिएर बग्नु । त्यसमाथि पोखराको भूगर्भ कमजोर अनि सेतीले खोतली हाल्छ । वरिपरि धाँजा फटाउँछ ।
छेउछाउमा भंगालाहरु बनाउँछ । खोंचैखोंच खन्छ । सहरको मध्यभागबाट बग्ने नदी वास्तवमै जोखिमपूर्ण छ । मानिसहरु भने छेउछाउमै घरैघर बनाएका छन् । मापदण्ड अटेर गरिएको छ । महानगरपालिका मौन छ । मापदण्ड पालना गराउने कुरा त परै धेरैपटक खोंच र धाँजामा मानिसहरु खसेर ज्यान जाँदा पनि हात बाँधेर बस्नुचाहिँ अनुत्तदारयी हुनु हो । यति धेरै संवेदनशील विषयमा उसले आँखा किन चिम्लिरहेको छ ?
नागरिकको जिउज्यान जोगाउने दायित्व सरकारको हो । पालिका जनताको पहिलो र नजिकको सरकार हो । सके उसैले विपदबाट नागरिक जोगाउनुपर्छ । आफूले सक्ने र गच्छेअनुसार जोखिम न्यूनीकरण गर्नु उसको कर्तव्य हो । आफूले नसकेको र विशेष कार्यक्रम तथा योजना चाहिँदा प्रदेश र संघीय सरकारको समेत सहयोग महानगरपालिकाले लिन सक्छ । त्यसो त पोखराको सेती नदी किनार जहाँजहाँ जोखिम छ, त्यहाँत्यहाँ तारबार लगाउनु महाभारतै पनि होइन ।
पोखरा रंगशाला सेतीको त्यस्तै जोखिममा हुँदा भूतपूर्व खेलाडी मञ्चले पहल कदमी लिएर पर्खाल घेराबन्दी गर्नुपरेको थियो ।
वास्तवमा त्यो राज्यको काम थियो । नागरिकहरु नै जागरुक भएर त्यो काम फत्ते गरेका थिए । पर्यटकीय सहरको मध्यभागको नदीले मानिसहरुको जिउज्यान पटकपटक जोखिममा पर्ने र अन्त्य हुने आधुनिक समाजका लागि सुहाउने कुरा होइन ।
सहरका नदीनाला वा अरु कुनै पनि पानीका जलाशयहरु पनि सुरक्षित हुनुपर्छ । सुसभ्य र विकसित महानगरका लागि त्यस्तो सुरक्षा अत्यावश्यक छ । सडक किनारका नालीमा मान्छे पर्ने र बग्ने अनि मृत्युवरण गर्नुपर्ने, सेती खोंचमा परेर ज्यान जाने जस्ता असुरक्षा पोखरामा सदाका लागि अन्त्य हुनुपर्छ । यसै पनि पोखराको सेती नदीको खोंचले एक किसिमको बदनामी पनि बेलाबेलाका घटनाले गराएको छ । अब पनि उही रोग बाँकी हुनु हुँदैन । महानगरपालिकाले सेती खोंच वरपर तारबार लगाउन तुरुन्तै पहल गरोस्, काम सुरु गरोस् ।
तपाईको प्रतिक्रिया