लर्न परियोजनाबाट सिकाइ कठिनाइ भएका बालबालिका सहित सत्ताइस सय पन्ध्र विद्यार्थी लाभान्वित

समाधान संवाददाता २०८० वैशाख ७ गते १७:५०

पोखरा ।
गण्डकी प्रदेशमा अपांगता तथा सिकाइ कठिनाई भएका बालबालिकाको पढाई सुधारका लागि सञ्चालित कार्यक्रमबाट २ हजार ५ सय ३९ सांग विद्यार्थी लाभान्वित भएका छन् । स्वावलम्बन जीवनपद्धति केन्द्र, पोखराले गण्डकी प्रदेशमा सञ्चालन गरेको नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक स्रोतहरुको विस्तार (लर्न) परियोजनाबाट लाभान्वित २ हजार ७ सय १५ विद्यार्थी मध्ये १ सय ७६ अपांगता भएका बालबालिका रहेको संस्थाका अध्यक्ष हेम गुरुङले जानकारी दिए ।

Advertisement

परियोजनाको प्रदेश स्तरीय समिक्षा तथा सिकाइ अनुभव आदान प्रदान कार्यक्रमका अध्यक्ष गुरुङका अनुसार गण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङका सामुदायिक ४०, विशेष विद्यालय ३ र स्रोत कक्षा सञ्चालन भएका ८ गरी ५१ विद्यालयमा सञ्चालित परियोजनाले अपांगता भएका बालबालिकाको समावेशी शिक्षालाई प्रवर्द्धन गर्नेछ । यस परियोजनाले प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्मका बालबालिकाहरूलाई समेटेको छ ।

उनले परियोजनाबाट १ हजार २ सय ७२ छात्रा, १ हजार ४ सय ४३ छात्र सहित २ हजार ७ सय १५ विद्यार्थी लाभान्वित भएको जानकारी दिए । उनले परियोजनाबाट ७३ छात्रा, १ सय ३ छात्र सहित १ सय ७६ अर्थात कुल लाभान्वित विद्यार्थीको ६.५ प्रतिशत अपांगता भएका विद्यार्थी लाभान्वित भएको बताए ।

Advertisement

परियोजनाका कार्यक्रम संयोजक प्रदीप रानाले अपांगता तथा कार्यगत सीमितता भएका र सिकाईमा कठिनाई भएका लगायत सबै बालबालिकाको सिकाई उपलब्धि सुधार गर्न सिकाईको विश्वव्यापी ढाँचामा आधारित रहेर विभिन्न शैक्षिक प्रविधि प्रयोग गरेर अध्यापन गर्न टुलकिटको प्रयोग गरेको जानकारी दिए । उनले त्यस्तो प्रविधिको प्रयोग गरी कक्षा कोठामा हुने फरक फरक सिकाई आवश्यकता भएका विद्यार्थीहरूको विविधतालाई सम्बोधन गर्न सकिने बताए ।

‘सिकाईको विश्वव्यापी ढाँचा समावेशी शिक्षाको महत्वपूर्ण अंग हो,’ उनले भने, ‘त्यस अन्तरगत शैक्षिक प्रविधिको प्रयोग मार्फत अपांगता भएका बाल बालिका मात्र नभएर सबै अपांगता नभएका सांग विद्यार्थीलाई समेत समान सिकाईको अवसर प्रदान गर्न सकिन्छ ।’

Advertisement

उनले सिकाईको विश्वव्यापी ढाँचामा रही सबै बालबालिकाले सिक्न सक्ने भएकाले अपांगता भएका विद्यार्थी समेत समावेशी ढंगले लाभान्वित भएको बताए । प्रारम्भिक तहका बालबालिकाको सिकाई उपलब्धि सुधार गर्नु प्रमुख आवश्यकता भएकाले सिकाईको विश्वव्यापी ढाँचामा आधारित शैक्षिक प्रविधिको प्रयोग गरेको जानकारी दिए ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी), अस्ट्रेलियन सरकार, वर्ल्ड भिजन, अल चिल्ड्रेन रिड र विश्व शिक्षासँगको साझेदारीमा परियोजना सञ्चालित छ । कार्यक्रम संयोजक प्रदिप रानाले कार्यक्रम अन्तर्गत ५१ विद्यालयमा ७४ थान स्मार्ट टिभी जडान भएको, २८ थान स्मार्ट टयाब्लेट र १३ थान माइक स्पिकर प्रदान गरेको बताए । उनले १९ विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउन वार्षिक शुल्क प्रदान गरिएको र ४३ विद्यालयमा ४५ राउटर जडान गरेको जनाए ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चराम गुरुङले अपांगता तथा सिकाई कठिनाई भएका विद्यार्थी केन्द्रित सिकाईको विश्वव्यापी ढाँचा अन्तर्गत शैक्षिक प्रविधि प्रयोग गरेर अध्यापन गर्न उपयोगी हुने टुलकिट पुस्तक र क्यूआर कोड को विमोचन गर्दै शैक्षिक क्षेत्रमा सुधार र समुदाय स्तरमा सचेतना बढाएर अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सकिने बताए ।

उनले समाजमा हुने भेदभाव र लाञ्छानालाई कम गर्न स्थानीय र प्रदेश सरकारको भूमिका रहने चर्चा गरे । सोही अवसरमा उनले एड्राड नेपालबाट प्राप्त भएको दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनमा सघाउ पुर्‍याउने एभोई र–एलवेन डेजी प्लेयर बागलुङको जनता धन माविई र पर्वतको शिवालय माविलाई हस्तान्तरण गरेका थिए ।

पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुषालले जहाँ अपांगता, त्यहाँ गरिबी भएको उल्लेख गरे । उनले दुर्गम क्षेत्रमा कार्यक्रमलाई केन्द्रीत गर्न सुझाव दिए ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका समावेशी शिक्षा शाखाका अधिकृत नारद प्रसाद धमलाले सिकाईको विश्वव्यापी ढाँचामा आधारित शैक्षिक प्रविधिको प्रयोग लगायतका राम्रा अभ्यासलाई सरकारले स्वामित्व ग्रहण गरेको र दीगोपन प्रदान गर्न सरकार प्रयासरत रहेको बताए । नेपाल सरकारले दातृ निकायसँग सम्झौता गरी सञ्चालित परियोजनाबाट शिक्षाको क्षेत्रमा धेरै सिकाई उपलब्धि भएको उनले उल्लेख गरे ।

कार्यक्रममा एड्राड नेपालका अध्यक्ष तथा राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व अध्यक्ष डा वीरेन्द्र पोखरेल, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, गण्डकी प्रदेश शिक्षा तालिम केन्द्रका शाखा अधिकृत विदुर हरि आचार्य, वालिङ नगरपालिका शिक्षा शाखाका अधिकृत गीता पाठक, विश्व शिक्षाका प्रोगाम म्यानेजर सुरेश भण्डारी, गोर्ल्याङधाम आधारभूत विद्यालय पर्वतका प्रधानाध्यापक चेतबहादुर राना, सरस्वती माध्यमिक विद्यालयका शिक्षक सरीता रेग्मी, बागलुङ जिल्लाको धौलागिरी बहिरा माध्यमिक विद्यालयका शिक्षक सीता सुवेदी, भानुभक्त माध्यमिक विद्यालय स्याङ्जाका शिक्षक भोला पाठक, जनप्रिय आधारभूत विद्यालय पर्वतका शिक्षक कमलादेवी पौडेल, स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसी लगायतले अपांगता भएका बालबालिकाको समावेशी शिक्षाका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया