न्युरोडमा खुल्यो लाइभ आइसक्रिम पार्लर

समाधान संवाददाता २०७६ जेठ १२ गते १३:०७

समाधान संवाददाता
पोखरा

आइसक्रिम पारखीले पोखरामा आँखै अगाडि बनेको ताजा आइसक्रिमको स्वाद लिन पाउने भएका छन् । पोखराको न्युरोडमा अमेरिकी प्रविधिको लाइभ आइसक्रिम पार्लर सञ्चालनमा आएको छ । ११ महिना अघि अमेरिकाबाट काठमाडौंमा भित्रिएको उक्त प्रविधिको आउटलेट पोखरामा पहिलोपटक सञ्चालनमा आएको हो ।

न्युराडस्थित भाटभटेनी अगाडि सञ्चालनमा आएको लाइभ आइसक्रिम पार्लर शनिबार नायिकाद्वय वर्षा राउत र सन्ध्या केसीले उद्घाटन गरे । फरक व्यवसायमा क्रियाशील व्यवसायी चिन्तामणि बास्तोला, सन्तोष घिमिरे, विनोद न्यौपाने र शेखर कोइरालाको संयुक्त लगानीमा उक्त आइसक्रिम पार्लर सञ्चालनमा आएको हो ।

Advertisement

ग्राहकले अर्डर गरेपछि १ मिनेटमै आइसक्रिम तयार हुने सञ्चालक मध्येका १ सन्तोष घिमिरेले बताए । ‘ग्राहकले आइसक्रिम बनाएको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन,’ उनले भने ।

यस अगाडि यो प्रविधिबाट काठमाडौंका विभिन्न स्थानमा आइसक्रिम पार्लर सञ्चालन भइसकेका छन् । काठमाडौंको अत्याधिक सफलतापछि यो प्रविधिलाई पोखरामा भिœयाइएको आइसक्रिम लाइभका प्रवन्ध निर्देशक सञ्जोग कोइरालाले बताए ।

Advertisement

१ करोड रुपैयाँ भन्दा बढी लगानीमा आइसक्रिम पार्लर पोखरामा सञ्चालनमा आएको हो । १२ वटा विभिन्न फ्लेबरमा आइसक्रिम बिक्री हुनेछ । तरल नाइट्रोजन अन्त्यन्त चिसो हुन्छ । त्यसलाई हावामा छोड्ने बित्तिकै त्यसले वरिपरिको क्रिमलाई जमाएर आइसक्रिम बनाउँछ ।

यसको जम्ने तापक्रम माइनस ३२१ डिग्री भएकाले आइसक्रिमलाई ‘माइनस ३२१ आइसक्रिम लाइभ’ भनेर ब्रान्डिङ गरिएको छ । ‘यति कम तापक्रम भएपनि ग्राहकको हातमा आइपुग्दा खानका लागि तयार र स्वादिष्ट हुन्छ,’ कोइरालाले भने, ‘ताजा तयार हुने भएकाले यो आइसक्रिम स्वस्थकर हुन्छ ।’ बजारमा पाइने अरु आइसक्रिममा आइस बढी क्रिम बढी हुने भए पनि यसमा भने आइस भन्दा क्रिम नै बढी हुने कोइरालाको दाबी छ ।

पोखरा पर्यटकीय सहर भएकाले यहाँबाट अन्य सहरमा समेत सन्देश जाने भएकाले काठमाठौंपछि पोखरालाई रोजेको उनको भनाइ थियो । अब छिटै नै अन्य सहरमा समेत आउटलेट खोल्न योजना उनले सुनाए । सानो आकारको मेसिन हुने भएकाले ठूला पार्टी एवं समारोहमा मेसिन नै लगेर आइसक्रिम खुवाउन सकिने छ । पोखराको यो आउटलेटमा ६ जनाले रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया