म्हाँजु भञ्ज्याङ पार्क उद्घाटन

प्रमिला कुँवर २०८० वैशाख १६ गते १४:५२

पोखरा ।
स्याङजाको आँधिखोला गाउँपालिका १ मा रहेको म्हाँजु भञ्ज्याङ पार्कको शुक्रबार उद्घाटन भएको छ । म्हाँजु युवा क्लबको व्यवस्थापन, आँधिखोला गाउँपालिका र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पार्क निर्माण गरिएको हो ।

Advertisement

करिब २५ लाख रुपैयाँमा पार्क निर्माण गरिएको पार्क निर्माण समितिका सल्लाहकार लालकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार गाउँपालिका र पर्यटन बोर्डले आधा/आधा खर्च व्यहाेरेका हुन् । पार्कसँगै करिब १७ लाखमा प्रवेशगेट पनि निर्माण गरिएको छ ।

Advertisement

हरियाली जंगलको बिचमा रहेको पार्कबाट हिमश्रृंखलाको मनोरमदृश्य देखिने अधिकारीले जानकारी दिए । ‘वन्यजन्तु, चराचुरुंगीको पनि अवलोकन गर्न सकिन्छ, गर्मीको समयमा पर्यटकले शितल हावाको आनन्द लिन सक्नेछन्, अधिकारीले भने, ‘पार्क सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, यहाँबाट शिरुबारी पनि देख्न सकिन्छ ।’

म्हाँजु भञ्ज्याङलाई देशभित्र तथा देशबाहिर परिचित बनाउने उद्देश्यले भञ्ज्याङमा प्रवेश गेट निर्माण गरिएको गण्डकी विश्वविद्यालयका सल्लाहकार एवम टेक्सस यूनिभर्सिटी अमेरीकाका प्राडा नरकाजी गुरुङले बताए । ‘दरौं शिरुबारी र शिरुबारी विश्वमै परिचित हुँदा नजिकैको म्हाँजु भञ्ज्याङ भने गुमनाम थियो,’ गुरुङले भने, गेट निर्माणको छलफलका क्रममा पार्क निर्माण गर्ने योजना बनेको हो ।

Advertisement

गाउँको विकासका यथासक्य सहयोग गरिरहने गण्डकी विश्वविद्यालयका कुलपति एवम संविधान सभा सदस्य प्राडा गणेशमान गुरुङको भनाइ छ । पार्कदेखि डहरे देउरालीसम्म पैदलमार्ग निर्माण गर्ने योजना नेपाल पर्यटन बोर्डमा पेश गरिसकेको कुलपति गुरुङले सुनाए । शिरुबारीमा रहेको दलित बस्तीमा पहिरोको जोखिम रोक्न सम्बन्धित निकायमा बजेट मागसहितको निवेदन पेश गरिसकेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले डाँडाकाँडा सिँघारेर गाउँमा समृद्धि र विकास ल्याउन सकिने बताए । पार्कमा जंगलस्टे सञ्चालन गर्ने योजना रहेको पौडेलले उल्लेख गरे । पार्कमा बाँकी रहेका संरचना (खानेपानी, शौचालय) पनि छिट्टै निर्माण गर्ने उनले प्रतिबद्ध गरे ।

‘जनताका सपना सबै पुरा गर्नेछु, मैले यति काम गरेर भनेर गर्वसाथ जनतासमक्ष उपस्थित हुनेछु,’ अध्यक्ष पौडेलले भने ।
पर्यटन बोर्ड पोखराका प्रमुख कुन्दन शर्माले लगानीको सही उपयोग भएको औँल्याए । भविष्यमा अरु योजनामा पनि सहयोग गर्ने उनको भनाइ थियो ।

आफ्नो ठाउँ आफैँले बनाउनुपर्ने बताउँदै आफ्नो जन्म ठाउँ कहिल्यै बिर्सन नहुने गाउँपालिका उपाध्यक्ष सीता थापाले बताइन् ।

गाउँको विकासका लागि जनप्रतिनिधि सबै मिलेर अगाडी बढ्नुपर्ने उनले भनाइ राखिन् ।

पार्क निर्माण समितिका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा धनबहादुर गुरुङले स्वागत मन्त्वय राखेका थिए । कार्यक्रममा जिल्ला समन्वयन समिति स्याङजाका उपसभापति खडकराज सुवेदी, प्रमुख जिल्ला अधिकारी स्याङजाका शशिधर घिमिरे, गण्डकी विश्वविद्यालयका रजिस्टार डा कैलाश तिमिल्सिना, नेपाली सेनाका जर्नेल यामप्रसाद ढकाल, वडा नम्बर १ का वडाध्यक्ष पवनकाजी अधिकारी, राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक क्याप्टेन दिलकाजी गुरुङ लगायतको उपस्थिति थियो ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया