सम्पादकीय: अमेरिकी सपनामा राज्य संयन्त्र

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारले थापालाई के सल्लाह दिए, थाहा छैन तर उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भनेर करोडौंको ठगी गर्न भने ठूलै सेटिङ मिलाएका रहेछन् । बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणले रोजीरोजी गृह मन्त्रालयमा सचिव ल्याएका टेकनारायण पाण्डे पनि उही सेटिङमा मिलेको भेटिनुले राज्यका जिम्मेवारी उच्चअधिकारीको नियतमात्रै उदांगो भएको छैन, राज्यशक्तिको दुरुपयोग कुन हदसम्म भइरहेको छ भन्ने पनि देखाएको छ ।
यही प्रकरणको मिलेमतोमा संलग्नताको आरोप लागेपछि पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार हुनु र अझै अरु जिम्मेवार नेताहरुको समेत नाम आरोपितहरुबाट पोलिनुले ठूलो जालसाजी भएको पटाक्षेप पनि भएको छ । सोझासादा युवालाई वैदेशिक रोजगार व्यवसायीले त ठगेकै थिए । हुँदा हुँदा कर्मचारी, मन्त्री र तिनका आसेपासेसमेत यस्तो अपराध धन्दामा संलग्न हुनु राज्यका लागि निकै लज्जाको विषय हो ।
पूर्वमन्त्री सुजाता कोइरालाका पिए केशव दुलालदेखि तमाम जोजो यो प्रकरणमा संलग्न अहिलेसम्म देखिए र समातिए, तिनको पहुँचले देशलाई अपराधीकरणमा मुछेको छ भन्नेमात्रै खुलाएको छैन, अझै कति नखुलेका तिनका अपराधहरु होलान् भन्ने प्रश्न पनि उब्जाएको छ । शक्ति र स्रोतको पहुँचमा हुनेबित्तिकै नक्कली काम गरिहाल्न त्यसरी तम्सिनेहरुले अरु के के अपराध गर्न बाँकी राखे होलान् ?
८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै १० देखि ५० लाख असुली गर्ने हिम्मत उनीहरुमा त्यसै पक्कै आएन । उच्चस्तरीय शक्तिको आडभरोसामै उनीहरुले त्यसो गरेको हुनुपर्छ भनेर सर्वसाधारणले शंका गर्ने ठाउँ छ ।
शरणार्थी बनाउनकै लागि मन्त्रालयले बनाएका छुट शरणार्थी सम्बन्धी प्रतिवेदन नै सच्च्याएर नाम थप्ने हिम्मत गर्नु भनेको चानेचुने आडभरोसा नभई सम्भव नहुनु पर्ने हो । प्रहरीको हिरासतमा रहेका ८ जनामार्फत अरु कोको संलग्न थिए र कसको आडभरोसा थियो भन्ने खुल्न सक्छ । तर ठूलाबडालाई जोगाउने प्रपञ्च हुँदैन भनेर आवश्वस्त बन्न सकिन्न ।
न अख्तियार न प्रहरीले ठूलाबडालाई समातेर कारबाही गरेका उदाहरण छन् मुलुकमा । राज्य संयन्त्रलाई नै मानव तस्करीका लागि दुरुपयोगको जघन्य अपराधका मामलामा प्रहरी अनुसन्धान कठोर किसिमको हुन जरुरी छ । सरकारले प्रहरीलाई कुनै पनि दबाब नदिई जोजो संलग्न भेटिन्छन्, तिनलाई कानुनी दायरामा ल्याउन दिनुपर्छ । प्रहरीले पनि स्वतन्त्रतापूर्वक अनुसन्धान गर्नुपर्छ ।
यस्ता जघन्य अपराधमा पनि कसैप्रति कुनै पनि किसिमको लचकता देखाइयो भने न्याय हराउँछ । जब राज्यमा न्याय हराउँछ, नागरिकले त्यहाँ आशा गर्ने अर्काे कुनै चिज बाँकी रहन्न । प्रहरीले सधैं आत्मसात गर्ने मान्यता थुप्रै दोषी उन्मुक्त होउन्, तर एकजना निर्दाेष पनि दोषी नठहरियोस् भन्ने वाक्य यो सन्दर्भमा पनि उत्तिकै प्रासंगिक छ ।
तपाईको प्रतिक्रिया