विश्व रेडक्रस दिवस

असल भावनाको संस्थागत अभिव्यक्ति

डोलराज पाण्डे २०८० वैशाख २५ गते १२:१४

आर्थिकरुपले सम्पन्न, युवा उद्यमी, व्यवसायी जाँ हेनरी ड्युनाले व्यापार, व्यवसाय चटक्कै छाडेर आफूलाई मानवीय सेवामा जीवन समर्पित गरे । आफ्नो आँखा अगाडिको विभत्स युद्ध, मर्ने र मार्ने निर्मम खेल सहितको रणभूमिको भयानक दृश्यले स्वीट्जरल्यान्ड निवासी धनाढ्य परिवारका ड्युनाको मनलाई प्रभावित पार्यो, पगाल्यो र मर्माहित बनायो । फलस्वरूप उनले सन् १८६३ मा रेडक्रसको स्थापना गरे ।

Advertisement

उनी सधैं अरूको भलाइका लागि बाँचे, आफ्नो मात्र स्वार्थ सिद्धितिर लागेनन् । बरू आफू भोकले छट्पटिए तर अरूलाई खुवाइरहे । आपत्विपत्को पहाड नै उनीमाथि खनियो, तर अरु धेरैको आपत्विपत् हटाउने काममा उनको जीवन समर्पित रह्यो । उनले राजीखुसीले काम गरे तर काम गरेवापत कुनै लाभको आशा गरेनन् । यो नै उनको मानवीय सेवा भावना थियो । रेडक्रस भनेकै यस्तै असल भावनाहरूको संस्थागत अभिव्यक्ति हो ।

रेडक्रसको सञ्जाल अहिले विश्वका १९२ देशमा फैलिएको छ । मानवताका काममा समर्पित छ । संसारले विश्वास गरेको छ । यो अन्तर्राष्ट्रिय संस्था, सात सिद्धान्तहरू– मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकतालाई आत्मसात गर्दै मानवीय सेवा कार्यमा निरन्तर क्रियाशील छ ।

विपद् व्यवस्थापन, प्राथमिक उपचार, रक्तसञ्चार, प्राकृतिक प्रकोपमा सेवा, आँखा उपचार, एम्बुलेन्स लगायत सेवाहरू रेडक्रसका प्रमुख, महत्त्वूर्ण र नियमित सेवा हुन्


यसका तीनैओटा मुख्य अङ्गहरूमध्ये रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) पहिलो र महत्त्वपूर्ण अङ्ग हो । यो युद्धका बेला बढी क्रियाशील हुन्छ । युद्धले पार्ने भौतिक क्षति अत्यन्त ठूलो हुन्छ, मानवीय क्षति भयानक हुन्छ, विभत्स हुन्छ । युद्ध क्रुर हुन्छ, पीडादायी हुन्छ, त्रासदीपूर्ण हुन्छ । युद्ध क्षेत्रका नागरिकहरू त्राहिमाम् हुन्छन् । युद्ध अमानवीय हुन्छ । युद्धले मानवता चिन्दैन, बुझ्दैन । वर्तमानमा समेत युद्धले बालबालिका, वृद्ध, आम नागरिकसमेत नचिनेका दृष्टान्तहरू हाम्रा सामु यदाकदा देखिने गरेका छन् । युद्ध हामी चाहदैनौँ, तर हामीले नचाहेर पनि युद्ध हुन्छ, भइरहेकै छ ।

Advertisement

आइसिआरसी युद्ध वा द्वन्द्व भएको क्षेत्रमा तत्काल उपस्थित हुन्छ । सन् १८६३ मा स्वीट्जरल्यान्डको जेनेभामा स्थापित आइसिआरसीबाट नै अन्तर्राष्ट्रिय रेडक्रस अभियान प्रारम्भ भएको हो । यसले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गराउँछ ।

रेडक्रसले बनाएको यस कानुनले वैरी भनेका पनि मानव जाति नै हुन् भन्ने स्मरण गराउँछ । अन्तर्राष्ट्रिय मानवीय कानुन भनेको युद्धको कानुन हो । युद्ध सञ्चालनको तौरतरिका उल्लेख गरिएको कानुन हो । युद्धलाई नियमित गर्ने कानुन हो । युद्धलाई असीमित हुनबाट रोक्ने कानुन हो । युद्ध जथाभावी तरिकाले सञ्चालन हुन नदिने कानुन हो । अन्तर्राष्ट्रिय मानवीय कानुनले युद्धलाई कम अमानवीय बनाउने प्रयास गर्छ ।

यसले युद्धबाट हुने क्रुरता र विभत्सता कम पार्न पथ प्रदर्शन गर्छ । अन्तर्राष्ट्रिय मानवीय कानुनका मुख्य प्रावधानहरू भनेका घाइते, अशक्त र बिरामी भई युद्धमा भाग लिन नसक्नेहरू, आत्मसमर्पण गर्ने सैनिकहरुको जीवन रक्षा गर्नुपर्ने र उनीहरूमाथि बिना भेदभाव दयालु व्यवहार गर्नुपर्ने रेडक्रसले बताउँछ । युद्धबन्दीहरूप्रति मानवीय व्यवहार गर्नुपर्ने, कब्जा गरिएका यातायातका साधन र उपकरणहरुको सुरक्षा गर्नुपर्ने, शत्रुको कब्जामा परेका सैनिकहरू र शत्रुद्वारा अधिनस्थ क्षेत्रमा बसोबास गर्ने नागरिकहरूप्रति बदला लिने खालका कारबाही गर्न नहुने रेडक्रसले बुझाउँछ । त्यसका लागि पहल गर्छ ।

विपक्षको कब्जामा रहेका महिला, बालबालिका, वृद्ध, सैनिक वा अन्य जो कसैलाई पनि शारीरिक वा मानसिक यातना दिन वा अपमानजनक व्यवहार गर्न हुँदैन भनेर रेडक्रसले भन्छ । हत्या, आम–नरसंहार, यातना, अंगभंग, क्रुरता जस्ता अत्यधिक पीडा दिने हात–हतियार वा युद्धको तौरतरिका प्रयोग गर्न नपाइने, बलात्कार, फाँसी र देश निकाला गर्न नपाइने कुराको वकालत रेडक्रसले गर्छ ।

केवल सैनिक लक्ष्यहरुलाई मात्र आक्रमणको निशाना बनाउनुपर्ने, अस्पताल, विद्यालय, एम्बुलेन्स, नागरिक बस्ती, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च आदि सैनिक निशानामा पार्न पटक्कै नपाइने, रेडक्रसको आइसिआरसीका प्रतिनिधिहरूलाई युद्धबन्दी वा बन्दीसँग भेट्न अनुमति दिनुपर्ने, युद्धपीडितको संरक्षण र राहत कार्यको आदर गर्नुपर्ने हुन् । यो कानुन निर्माण गर्नेे जेनेभा महासन्धिमा १९६ राष्ट्रले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएकाले युद्धका नियमहरू मान्न शक्ति राष्ट्रहरू समेत नैतिक रुपले बाध्य छन् ।

हुन त आफैले बनाएका युद्धका नियम महाभारतको धर्म युद्धमा समेत उल्लंघन नभएका होइनन् । महाभारत युद्धमा भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य जस्ता निष्ठाका प्रतीक र धर्मका रक्षक महापुरुषहरूले समेत आफैले बनाएको युद्धका नियम विपरीत अभिमन्यूको क्रुरतापूर्वक हत्या गरे । द्रोणाचार्य स्वयम्, वीरयोद्धा दुर्योधन, पाँच पाण्डवका पाँचपुत्रहरू लगायतले युद्धका नियम विपरीत मृत्यु वरण गर्नुपर्यो । आफैले बनाएका नियम उल्लघंन गर्ने त्यो परम्परा आजको युगमा पनि जारी नै छ ।

मूलभूत रूपमा कार्यान्वयन भएकै कारणले युद्धअराजकता, कमजोर देखिएको छ । दोस्रो अंग हो, अन्तर्राष्ट्रिय फेडेरेसन ।

विपद्मा सहयोग पुर्याउनु मानवीय कर्तव्य हुन्छ । मान्छेलाई विपद् पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ । संसारभर जहाँ कहीँ पनि मानवीय विपद् पर्दा फेडेरेसनले तत्काल सहयोग पुर्याउँछ । फेडेरेसन भनेको जेनेभा महासन्धिमा हस्ताक्षर गरेर विश्वभरमा स्थापित रेडक्रस र रेडक्रिसेन्ट (मुस्लिम देशमा रेड क्रिसेन्ट भनिन्छ) सोसाइटीहरूको महासंघको नाम हो । विश्वका सम्पूर्ण मानवलाई पर्न आउने पीडाको रोकथाम गर्नु यसको प्रमुख काम हो ।

खास गरी विपद्, महामारी, प्राकृतिक प्रकोपबाट प्रभावित वा पीडितहरूलाई सहयोग पुर्याउन अन्तर्राष्ट्रिय समन्वय गर्नु, राष्ट्रिय सोसाइटीहरूको क्षमता अभिवृद्धि र विकासमा सहयोग गर्नु फेडेरेसनको मूल कर्म हो । यहाँनेर के भुल्नु हुँदैन भने युद्धका बेला युद्ध मैदानमा फेडेरेसन क्रियाशील हुँदैन । युद्धलाई नियमन गराउँने काम त रेडक्रस अभियानको अर्को महत्त्वपूर्ण अंग आइ.सी.आर.सी. को हो । फेडेरेसनले विपद्मा काम गर्छ भने आइसिआरसीले युद्धका बेला काम गर्छ । संयुक्त राष्ट्रसंघको महासभामा फेडेरेसन र आइसिआरसी दुवैलाई पर्यवेक्षकको हैसियत प्राप्त छ ।

प्रत्येक देशमा स्वतन्त्र र मान्यताप्राप्त राष्ट्रिय सोसाइटी गठन गर्न प्रोत्साहन गर्ने, राष्ट्रिय सोसाइटीहरूका बीचमा समन्वयकर्ताको रूपमा काम गर्ने, विपद् प्रभावित देशहरूमा नगद वा जिन्सीका रुपमा राहत पुर्याउने, शरणार्थीहरूको उद्धार कार्य गर्न गराउन सघाउ पुर्याउने, रोगको प्रतिकार गर्न जनस्वाथ्य क्षेत्रमा राष्ट्रिय सोसाइटीलाई सहयोग गर्ने, जुनियर/यूवा रेडक्रसको विकासका लागि कार्य गर्ने, सरकारका स्वास्थ्य र समाजकल्याण सम्बन्धी कार्यहरूमा राष्ट्रिय सोसाइटी मार्फत सहयोगी भूमिका निर्वाह गर्ने, सोसाइटीका युवा तथा स्वयम्सेवकहरूलाई मानवीय भावना सम्बन्धी शिक्षा दिने, सशस्त्र संघर्षका पीडितलाई आइसिआरसीको समन्वयमा सहायता गर्ने, रेडक्रसका सिद्धान्त र नीतिहरूको प्रचार–प्रसारमा सहयोग गर्ने लगायत कार्यहरू फेडेरेसनले गर्दछ ।

कतिपय स्थानमा शरणार्थीको रेखदेख पनि यसले गर्दै आएको छ । विश्वमा शान्तिको प्रवद्र्धन गर्न निरन्तर क्रियाशील रहने संस्था हो यो ।

तेस्रो अंग हो, राष्ट्रिय रेडक्रस/रेड क्रिसेन्ट सोसाइटीहरू । अन्तर्राष्ट्रिय संस्था भएता पनि रेडक्रस अभियानको उद्देश्य कार्यान्वयन गर्ने प्रमुख स्थल भनेकाराष्ट्रहरू नै हुन् । राष्ट्रहरूमा राष्ट्रिय सोसाइटीहरू हुने भएकाले रेडक्रसका सिद्धान्त, कार्यक्रम तथा आदर्शलाई कार्यान्वयन गर्ने निकाय राष्ट्रिय सोसाइटीहरू नै हुन् । त्यसैले शान्ति र अशान्ति दुवै परिस्थितीमा राष्ट्रिय रेडक्रसका विभिन्न गतिविधिहरू भइरहने हुनाले राष्ट्रिय सोसाइटीहरू रेडक्रस अभियानका महत्त्वपूर्ण अंग मानिन्छन् ।

नेपालमा रेडक्रसः
विश्व रेडक्रस अभियानको थालनी भएको १०० वर्ष पछाडि वि.सं.२०२० सालमा नेपालमा स्थापना भएको रेडक्रस सोसाइटीमा अहिले करिब १२ लाख रेडक्रस स्वयम् सेवकहरू क्रियाशील छन् । यी स्वयम् सेवकहरू केन्द्र, प्रदेश, जिल्ला, उपशाखा, युवा तथा जुयिनर रेडक्रस सर्कल गरी करिब ७ हजार निकायमा आबद्ध छन् ।

यो नै नेपाल रेडक्रसको पुँजी हो । यी स्वयंसेवीहरूको दक्षता वृद्धि, योजनाबद्ध विकास र उचित व्यवस्थापन गर्न सकिए स्वयंसेवीहरू सामाजिक पुँजीमा बदलिनेछन् र संस्थाको सेवा अभियानका सार्थक अभियन्ता बन्नेछन् । स्वयंसेवकहरुबाट सहभागितामूलक सेवा, कार्यक्रम र विकासमा पर्याप्त योगदान मिल्न सक्नेछ ।जवाफदेहिता, पारदर्शिता र सिद्धान्तनिष्ठाको अभिवृद्धि नेपाल रेडक्रसमा आजको आवश्यकता हो ।

‘मनैदेखि सेवा’ भन्ने विश्वव्यापी नाराका साथ आज विश्व रेडक्रस दिवसका अवसरमा नेपाल रेडक्रसका सबै प्रदेश, जिल्ला तथा उपशाखाले देशैभर रेडक्रसका आदर्श र सिद्धान्तको प्रचारका लागि जनचेतनामूलक कार्यक्रमहरू, विपद् व्यवस्थापन, प्राथमिक उपचार लगायत तालिम सञ्चालन, रक्तदान, स्वास्थ्य शिविर, युवा सर्कलहरूद्वारा ब्याज वितरण, सरसफाई, रेडक्रसम्बन्धी मिडिया परिसंवाद आदि कार्यक्रमहरु गरी यो दिवस मनाइदै छ ।

नेपाल रेडक्रसले तिब्बती शरणार्थी व्यवस्थापनबाट सेवा कार्य प्रारम्भ गरी सयौं खानेपानी परियोजना सञ्चालन, आँखा अस्पताल संचालन, समुदायमा आधारित विपद् व्यवस्थापन र क्षमता अभिवृद्धि कार्यक्रम, एचआइभी र एड्स रोकथाम, कोभिड–१९ विरुद्धको अभियान जस्ता कार्यक्रमहरू सम्पन्न गर्दै आयो । अरु कार्यक्रमहरूमा मानवीय मूल्यको प्रवद्र्धन, स्वास्थ्य र सरसफाई अभियान, सडक सुरक्षा कार्यक्रम, विपन्न तथा पीडित मानवको जीवीकोपार्जनका कार्यक्रमरु, महिला सशक्तीकरण, दुव्र्यसन नियन्त्रण लगायत विभिन्न गतिविधिहरु नियमित रुपमा सञ्चालन हुँदै आएका छन् । त्यसैगरी विपद् व्यवस्थापन, प्राथमिक उपचार, रक्तसञ्चार, प्राकृतिक प्रकोपमा सेवा, आँखा उपचार, एम्बुलेन्स लगायत सेवाहरू रेडक्रसका प्रमुख, महत्त्वूर्ण र नियमित सेवा हुन् ।

रेडक्रसको प्रमुख कार्य विपद् व्यवस्थापन नै हो । विपद् व्यवस्थापनले विपद् पूर्व तयारी, जोखिम न्यूनिकरण कार्य, विपद्का समयमा गरिने सेवा र विपद् पछि गरिने राहत, उद्धार र प्रतिकार्य समेत जनाउँछ । मानव जीवन रक्षा र स्वास्थ्य सुरक्षाका खातिर रेडक्रसले विश्वव्यापी अभियान नै छेडेको छ ।

जात, जाति, धर्म, वर्ण, लिंग, सम्प्रदाय, राजनीति, धनी, गरिबसँग समेत रेडक्रसको कुनै साइनो, सम्बन्ध रहदैन । पूर्वाग्रह र भेदभाव बिना सदैव समर्पित रहनु नै रेडक्रसको मर्म र धर्म हो । हरेक क्षेत्रमा राजनीतिको प्रदूषणले गाँजेको नेपालमा मानवीय विपद्मा तत्काल उद्धार र राहत सेवा प्रदान गर्दै आएको नेपाल रेडक्रसको हेडक्वार्टर अहिले आफैमा विपत्परेको छ । यस्तो पवित्र संस्थाको पवित्रता जोगाएर राख्नुपर्नेमा आफै भित्रको प्रदूषण र अस्तव्यस्तताले अन्तर्राष्ट्रिय रेडक्रसको हेडक्वार्टर जेनेभाबाट नेपाल रेडक्रस कहिले निलम्बनमा पर्ने हो, पखाईमा छ । यो अत्यन्त दुःखद र चिन्ताजनक विषय हो ।

यसलाई बचाउन नेपाल सरकारले पटक पटक पहल गर्न खोज्यो तर सम्भव देखिएन । जेनेभाले मध्यस्त समिति बनाएर पठायो, समाधान निस्केन । फेडेरेसनका महासचिव लगायत उच्च पदस्थ व्यक्तिहरूले नेपाल सरकार तथा नेपाल रेडक्रससँग सम्बन्धित व्यक्तिहरूसँग भेटेरै पटकपटक संवाद गरे तर निकास देखिएन । यो संवाद दुई हप्ता अघिसम्म जारी थियो । नत सर्वोच्च अदातलले निर्णय दिन नै सक्यो । नेपाल रेडक्रस जोगियोस्, रेडक्रसको अन्तर्राष्ट्रिय उच्च छवि बमोजिम नेपाल रेडक्रसले आफ्नो प्रतिष्ठा बचाएर मानवीय सेवा गर्न सकोस् । यसले गर्ने र गर्नुपर्ने मानवीय सेवाका पुण्य कर्महरूको गति बढेर जान सकोस्, विश्व रेडक्रस दिवसका सन्दर्भमा शुभकामना ।

अन्त्यमा, ड्युनाको सत्प्रयास र सत्कर्मले रेडक्रस अभियान विश्वव्यापी हुँदै गयो तर ड्युना आर्थिक रूपले टाट पल्टे, ४७ वर्षको उमेरमा एकाएक गायब भए, मान्छेहरूले मरे भन्ने ठाने तर ५९ वर्षको उमेरमा रोग, भोक र गरिबीले सताइएका ड्युना आफ्नो उमेरभन्दा धेरै वृद्धजस्ता देखिए । त्यतिबेला उनी थकित र गलित रूपमा एक सर्वहाराको जीवन बिताइरहेका थिए । उनलाई सन् १८९२ (६४ वर्ष) मा बृद्धाश्रममा लगेर राखिएछ ।

सन् १९९५ मा एउटा पत्रकारले वृद्धाश्रमको कोठा नम्बर १२ मा फेला पारेपछि अखबारको पहिलो पानामा पहिलो समाचार छापियो र संसारभरि तहल्का मच्चियो । ड्युनामाथि सदभाव, प्रशंसा र सहयोगको वर्षा हुन थाल्यो । संसारभरिबाट चन्दा उठ्यो । उनको ६८ औं जन्मदिनको अवसरमा स्वीट्जरल्यान्डभरि बिदाको रूपमा मनाइयो र स्वीट्जरल्यान्डले उनको तस्बिर अंकित मुद्रा प्रकाशन ग¥यो । विभिन्न देशले पदक र पुरस्कारले सम्मान गरे ।

रुसकी महारानीले जीवनभर पेन्सन दिने घोषणा गरिन् । सन् १९०१ मा हेनरी ड्युनालाई शान्तिका लागि नोबेल पुरस्कार प्राप्त भयो । उनले प्राप्त सहयोगको व्यक्तिगत उपभोग गरेनन् । उनी व्यक्तिगत सुख भोगभन्दा माथि एक तपस्वी जस्तोरूपमा देखिन्थे । उनले प्राप्त गरेको चन्दा सहयोग रकम र पुरस्कारको धनरासी वृद्धाश्रमलाई प्रदान गरे । सन् १९१० मा ८२ वर्षको उमेरमा वृद्धाश्रममा नै उनको मृत्यु भयो । यिनै महामानव हेनरी ड्युनाकै सम्मानमा उनको जन्मदिन मे ८ लाई विश्व रेडक्रस दिवसका रूपमा सन् १९४८ देखि संसारभर मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया