अनन्त यात्राको नयाँ सुरुआत !

दुर्गा न्यौपाने २०८० वैशाख २५ गते १२:४८

मृत्यु जीवनको अकाट्य सत्य हो । भनिन्छ, जीवन र मृत्यु एक अर्काका परिपूरक हुन् । गीतामा भगवान् कृष्णले भन्नुभएको छ, जसको जन्म हुन्छ, उसको मृत्यु निश्चित छ । मृत्युलाई ज्यादै कष्टदायक मानिन्छ । आत्माले छोड्दा दश हजार बिच्छीले टोकेजस्तै दुखाइ हुन्छ सुनेकै हो । त्यसैले मान्छे मर्न डराउँछ । नडराओस् पनि किन र ?

Advertisement

मान्छेलाई छटपटी हुन्छ । वाक्य बस्छ । होश हराउँछ । बेचैन हुन्छ । व्यक्तिको मुख भित्रैबाट सुक्न थाल्छ । कसैको र्याल आउन थाल्छ । जीवनप्रतिको मोह भंग हुन्छ । सपनासरी विपनामै यमदूत नजिकै आउँछन् । आफ्ना पीतृहरु वरिपरी हुन्छन् । ढाडस दिन्छन् ।

बक्र रेखामा हिँड्यो जिन्दगी । मर्न मन लागेको हुँदै होइन । चाहेको कहाँ पाउँछ र मान्छेले ?

गरुड पुराण अनुसार यमदूत ज्यादै डरलाग्दा र ठूला आँखा भएका हुन्छन् । यस्ता यमदूतलाई देखेर पापी जनहरु डरले मलमूत्र छोड्छन् । मान्छेको शरीरबाट बूढी औँला जत्रो जीव आत्तिँदै बाहिर निस्कन्छ । जसलाई यमदूतले समात्छन् । पापीलाई बाँधेर नरक र धर्मात्मालाई स्वर्ग लगायतका सुखधामको यात्रातिर लैजान्छन् । पापीहरु आफ्ना पाप सम्झेर थरथरी काँप्न थाल्छन् ।

राम्रा नराम्रा कामको फल नभोगी सुखै छैन । पृथ्वीमा जस्तो नाता, पद, दल आदिको फोर्स चल्दैन त्यहाँ । शास्त्रहरुमा मृत्युलाई एउटा सामान्य प्रक्रिया भनिएको छ । गीताले आत्मा फेरिने प्रक्रिया भनेको छ । लुगा जस्तै जब शरीर पुरानो हुन्छ, मृत्युद्वारा बदलिन्छ । शरीरमात्र मर्ने हो, आत्मा त सर्छ । सुनेको र पढेको यही हो । तर आज भोग्दैछु ।

Advertisement

बक्र रेखामा हिँड्यो जिन्दगी । मर्न मन लागेको हुँदै होइन । चाहेको कहाँ पाउँछ र मान्छेले ? खोज्छ एउटा, पाउँछ अर्को । भोग्न वाध्य हुन्छ मान्छे, बबुरो । रुन्छ, कराउँछ । अनेक गर्छ । बुझ्दैन, आफ्नै कर्मको फल भोग्दैछु भनेर । अनि भगवान्लाई सराप्छ ।

अझै चेत आउँदैन । कसैको अन्तिममा चेत आउँछ । तर समय हुँदैन । बेकामको हुन्छ ।

धेरैका यस्तै कथा छन् । मुटु, व्यथाले भरिएको हुन्छ । भरिएर ब्लास्ट भएका छन् कति मुटु । अथाह चाहना र तिर्सना बोकेरै अतृप्त मृत्यु मर्छ मान्छे । खसी, बोका र कुखुरालाई जसरी मान्छेले लाइनमा राख्छ, हामी पनि त्यसरी नै लाइनबद्ध छौँ, मर्ने पालोका लागि । यस्तै नलागेको होइन र पनि यो कुराको बिस्मृति धेरै हुन्छ । सम्झेको भए मान्छेले किन अपराध गथ्र्यो ? किन अनेकौँ पापाचार गर्न सक्थ्यो र ? मर्नमात्रै डराउने हो, पाप गर्न डराउँदैन ।

मृत्युलाई बिर्सनुको परिणाम हो, यो । भनिएकै छ त, परोपकाराय पुण्याय पापाय परपिडनम् । लाने त केही पनि होइन मरेपछि ।

आफ्नै छायाँले पनि साथ छोडिदिन्छ । पाप र पुण्यको खाता रछ सँगै जाने । तर मान्छे मृत्युलाई स्मरण गर्नै चाहन्न । मलामी बन्दा मात्र हो महसुस गर्ने । तर तुरुन्तै बिर्सन्छ । मर्ने त अरु हो, आफू होइन, ठान्छ सायद । कस्तो होला लाग्थ्यो, मरेको दिन ।

सास जाँदाको अनुभव केवल मर्नेलाई मात्र हुन्छ । जिन्दगीमा हजारौँ तालिम लिइयो÷दिइयो होला । तर मृत्युको तालिम लिन पाईएन । प्रशिक्षक नै पाउन गाह्रो ! मृत्यु यो हो, यस्तो हुन्छ । मर्ने बेलामा सास यसरी जान्छ भन्न कसले जान्ने र ? मरेकालाई फर्काउन पनि नसकिने । अनुभूति र अनुभव त उसैसँग हुन्थ्यो, जसले भोगेको छ । स्कुल, कलेजका पुस्तकहरुमा पनि पढाएनन् गुरुहरुले ।

मृत्युलोक जक्सन त र’छ नि । मेरो टिकट फेरि कहाँको थियो, हेर्न पाएकी छैन ।

सन्त, महात्माहरुले भन्ने गर्थे, मर्ने तयारी गर्नुपर्छ । थाहा छैन कति बेला मरिन्छ । तयारी अवस्थामा बसियो भने कुनै किसिमको पीडा हुँदैन । त्यो तयारी भनेको के भन्नुहोला, डिभाइन पावरको महसुस गर्ने । भगवानका दिव्य वचन सम्झने । आत्मा मर्दैन, शरीर फेर्छ मात्रै । हो, यसको अनुभूत गर्ने । सजिलो पटक्कै छैन । यस्तो गर्नको लागि आशक्तिबाट अलग हुनैपर्छ ।

आफूभित्रको ‘म’ लाई खोज्ने । परमात्माको अंश आत्मा हो भन्ने ज्ञानलाई आत्मसात् गर्ने नै हो । यो त्यसै बुझिने कुरा होइन ।

ज्ञानको निरन्तर अध्ययन र अभ्यासले आफूभित्रको दियो जुन पर्दाले छोपिएको थियो, बल्न थाल्छ । अर्थात् बलेको देखिन्छ ।

यस्ता कुरा बुझ्न हम्मे हम्मे पर्यो । थोरै यहसास भयो । जब आमालाई मृत्यु लिन आयो । मृत्यु र मेरो तानातान भयो । अन्ततः उसैले जित्यो । त्यति बेला देखेँ उसलाई । छोएँ । तर्साएर गयो । लाग्यो, अब मेरै पालो हो । हुन त मभन्दा सिनियर सासूआमाहरु पनि हुनुहुन्थ्यो । के थाहा र ? बूढो खसीको अगाडि पाठो पनि लाइनमा देखेकै छु, बुचरकोमा ।

मृत्युको तयारी गर्न के गर्नुपर्छको जवाफमा श्रीमद्भगवद् गीताको संगत गर्नुपर्छ, कुनै सन्तले भनेको सम्झेँ । हो जस्तै लाग्यो । तर गुरु विना एक्लै ? आखिर गौतम बुद्ध, कालिदास, महान राजा भरत लगायतका ऋषि मुनिहरुले एक्लै भएर ज्ञान पाए । तर म एक्लै भएर पनि नभए जस्तै भएँ । मनकै वरिपरी मैले मेरा मानेका मान्छे थिए । तिनैमा आशक्ति थियो । मोहमै थिएँ ।

तिनैले एक्लो हुन दिँदैनथे । मान्छे हुलमै बस्ने प्राणी हो भन्ने अर्को पटक पनि प्रमाणित भयो । गीताको अर्जुन आफैँ भएँ । कृष्णले मैलाई भने जस्ता उपदेश । यो जन्ममा त उकाली ओराली गर्दागर्दै पसिना ओभाउनै पाएनन् । थकाई मेटाउनै पाइनँ । दुःख र सुख जीवनका दुईटा पाटा । सुख कृष्णकै कृपा र दुःख उनकै इच्छा वा भनौँ, मेरै आफ्नो प्रारब्ध कर्मको प्रतिफल । चूपचाप स्वीकार गर्नु नै बुद्धिमानी रहेछ । जे जे भोग्नु प¥यो कसैसँग गुनासो रहेन । दोष कसैको थिएन, थियो भने मेरै थियो ।

मृत्युसँग साक्षात्कार भयो । आफ्नै अवचेतनले तँ मर्दैछस् है भन्यो । पत्याउन गाह्रै भयो । हरेक प्राणीलाई जिन्दगी प्यारो हुन्छ ।

मलाई नहुने कुरै भएन । बिरामीको बहाना बनायो । नराम्ररी थलिएँ । मेरा सबै भेट्न आउन थालेँ । सायद अन्तिम पटक मुख हेरौँ भनेर होला । कसैसँग पनि खुलेर बोल्न मन लागेन । किनकि सबैसँग नाता तोड्दै थिएँ । तोडिने नातासँग किन बोल्नु र ! बोल्ने हाँस्ने पनि त मोहले रछ । मोह नै सकिएपछि सबै सकियो । कर्तव्य बाँकी थिएन । थियो त मप्रतिको कर्तव्य सन्तानसँग ।

छोरी ज्वाइहरु दौडिरहेकै थिए । उपचारार्थ असफल प्रयास गरिरहे । छोराछोरी नै डाक्टर भए पनि बचाउन सक्दा रहेनछन् ।

मेरो काउन्ट डाउन सुरु भइसकेको थियो ।

शास्त्रले भने जस्तो भएको थिएन । न दुखाइ थियो, न त छट्पटाहट नै । शान्त थिएँ । आँखा चिम्म थिए । मन चैतन्यतिर जाँदै थियो । जानी नजानी भएका गल्तीले थोरै छट्पटी नभएको होइन । मनैमन प्रायश्चित गरेँ । अर्को उपाय थिएन । माया गर्नेका आँखा रसाए झैँ देख्थेँ, जसले बोल्न असहज बनाउँथ्यो । ज्ञानेन्द्रियलाई मौन राखेँ ।

मनमा एकतमासको शून्यता छायो । एक्लै टाढाको यात्रामा निस्के जस्तो लाग्दै थियो । हुलमा बसिरहेकी म, एक्लै कसरी हिडूँलाको थोरै अत्यास थियो । बच्चाहरु अब आमा विनाका हुने भए लाग्दै थियो । फेरि पनि माया गर्ने ज्वाइहरु, चिन्ता नलिनू भन्यो मनले । बच्चाहरु बोल्न सक्दैनथे केही पनि । हेर्थेमात्र । केहि खान मन छका प्रश्न वाधात्मक थिए ।

डाक्टरी भूमिकामा थिए । मलाई कस्तो छ ? का फोनले हैरान थिए उनीहरु । जवाफ दिने गतिलो कुरा थिएन । भारतमा लाने कि भन्ने कुरा चल्दा इन्कार गरेँ । मेरै ठाउँमा मर्न चाहन्छुको अडान मनले गर्यो । आमालाई काठमाडौँ लगेर गुमाएको दुष्प्रयासको खाटो बसेकै थिएन ।

खाली समयमा गीता सुनाउँन भन्थेँ । राहत दिन्थ्यो, कृष्णका वचनले । यात्रा रित्तै र एक्लो हुँदै थियो । मेरो सम्पत्ति, मेरा मान्छे ती सबैले बाइ बाइ भने जस्तो लाग्दै थियो । त्यही कुराले सताउँथ्यो घरीघरी । तर पनि चित्त बुझाउँदै थिएँ, परमधामको सुखद् कल्पनामा । असल सन्तानको सुखानुभूति हुँदै थियो ।

समग्रमा, कसैलाई धोखा नदिएको जीवन बाँच्दा ग्लानि थिएन । दश दान लगायतका कर्म गर्न लगाएँ । खुरुखुरु मान्दै गए बच्चाहरु । गाईको पुच्छरले वतरणी गरेँ । मृत्युपश्चात पनि काम लाग्ने गाई हाम्रोमा अपहेलित छन् । त्यसैमा अझ राष्ट्रिय जनावर ।

डरलाग्दो वहितरणी नदी तर्न गाईले सघाउँछिन् रे । मरेपछि सप्ताह लगाईदेऊ भने । केही नो भनेनन् बच्चाहरुले ।

नातीनातिनाहरुले आमालाई के भाको भन्दा आँखाको डिल नभत्केको होइन । लुकेर पुछेँ । विछोड किन मीठो हुन्थ्यो र !
व्यवहार सबै सेयर गरेँ । कतिपय कुराभित्रै रहे । आखिर जन्मेकै बार, बिहीबार महाप्रस्थान गरेँ । उत्तरायणको शुक्ल एकादशीमै जाने रहर पनि पूरा भयो । आफ्नो आँसु केही हैन, बच्चाहरुको आँसु अमूल्य लाग्यो । म हावा बनेँ, शरीर छोड्दिएँ । आफ्ना आफन्त, शुभचिन्तक सबै आए । कोही रोए । कोहि मौन थिए । कान्छी छोरी धेरै रोई । त्यो बूढी हुँदा पनि केटाकेटी जस्तै छ ।

ठूली डाक्टर पढेकी धेरै शवसँग खेलेकी, मन दह्रो छ । कहिल्यै नपग्लेकी यस पटक पग्लिई ऊ पनि । किनकि म शवमात्र थिइनँ । त्यो शवसँगै भावना थियो । एउटा कहिल्यै नभेटिने विछोड थियो । मैले सबै देख्दै थिएँ, मलाई कसैले देखेन । म हावामा विलिन भएँ ।

आफ्नै मलामी देखेँ । उत्तिखेरै फेसबुकभरि श्रद्धाञ्जलीका लाइन लागे । बाँचुञ्जेलका साथी आए कि आएनन् भन्ने लाग्दोरछ । धेरै आएछन् । केही आएनछन् । बच्चाहरुलाई सम्झाउँदै थिए, कोही । छोरीहरुले मुखाग्नि दिए । मेरो शरीर दन्दनी जलेर सकियो ।

पञ्चतत्वमा बिलायो सबै कुरा । आफ्नै शरीर, जुन जतनले राखिएको थियो । खरानी र धुँवा भयो । हेर्दाहेर्दै सबै सकियो । किरिया गर्ने सवालमा उही पुरानो कुरा दोहोरियो, जुन मैले गरेकी थिएँ । देवरका छोराहरु छन् नि । छोरीले गर्न मिल्दैन । सपिण्डी, गोत्र आदि ईत्यादिका कुराले शास्त्र पल्टाइए । मैले मुख उक्काइनँ, यसबारेमा । यसरी शान्त र निशब्द सकिएँ । मृत्युलोक जक्सन त र’छ नि । मेरो टिकट फेरि कहाँको थियो, हेर्न पाएकी छैन । नाटकीय भूमिका सकियो । पर्दा खस्यो । र, एउटा अनन्त यात्राको अर्को सुरुवात भयो ।

तपाईको प्रतिक्रिया